तत्काल भुक्तानी नपाए रौतहटका उखु किसानले पनि काठमाडौंमा आन्दोलन गर्ने
रौतहटका उखु किसानले उखुको मूल्य तत्काल भुक्तानी गर्न माग गरेका छन्। रौतहटको गरुडास्थित् श्रीराम सुगर मिल्सलाई विभिन्न वर्षमा किसानहरूले बेचेको उखुको मूल्य एक/दुई दिनमै भुक्तानी नभए काठमाडौं पुगेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
रौतहटका उखु किसानले ४१ करोड रूपैया भुक्तानी पाउनु पर्ने बाँकी रहेको उखु उत्पादक संघ रौतहटले जनाएको छ। उद्योगीले उखुको मूल्य भुक्तानीका लागि बारम्बार गरेको भाका नाघेकोले अब तत्काल भुक्तानी गर्नुपर्ने उखु उत्पादक संघका सल्लाहकार सफिन्द्रप्रसाद यादवले बताए।
संघको पहलमा बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटमा श्रीराम सुगर मिल्सका तीन सञ्चालकमाथि ठगी मुद्दा दर्ता गराइएको छ। ४६ जना किसानको हस्ताक्षरमा दर्ता भएको मुद्दामा उद्योगपतिलाई तत्काल कारबाही गर्नुपर्ने माग गरिएको छ।
किसानहरूले उद्योगका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झामाथि ठगी मुद्दा दर्ता गराएका हुन्। किसानको उखुको मूल्य भुक्तानी नगर्ने उद्योग मालिकमाथि रौतहटमा पहिलोपटक ठगी मुद्दा दर्ता भएको हो।
मुद्दा दर्ता भएपछि उद्योग सञ्चालकलाई पक्राउ गर्न पक्राउ पूर्जी पनि जारी भएको छ। गृह मन्त्रालयले पनि उखुको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भएको र पक्राउ पूर्जी जारी भएपछि उद्योग सञ्चालकहरूले रकम भुक्तानीको लागि एक हप्ताको समय मागिरहेको सल्लाहकार यादव बताउँछन्।
गत वर्ष रौतहटका उखु किसानहरूले रकम भुक्तानीको लागि आन्दोलन गर्दा २०७६ चैत मसान्तसम्म सबै बाँकी वक्यौता भुक्तान गर्ने सम्झौता भएको थियो। तर, किसानले अहिलेसम्म भुक्तानी पाएका छैनन्।
सरकारले उखु किसानको रकम भुक्तानीको लागि तत्परता देखाएपछि अब किसानको रकम भुक्तान हुने केही आशा जागेको गढीमाई नगरपालिका–२ का उखु किसान कामेश्वर सहनीले बताए।
उद्योग सञ्चालले एक हप्ताको समय मागेको र उखु उत्पादक संघ रौतहटले एक/दुई दिनमा भुक्तानी नगरे रौतहटका किसानहरूले पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन्। उखुको भुक्तानी नपाएपछि अहिले सर्लाहीका उखु किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन्।