डेभ ह्वाटमोर नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्वाटमोर नियुक्त भएका छन्। उनी श्रीलंकालाई सन् १९९६ को विश्वकप जिताएका क्रिकेट प्रशिक्षक हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो। यसअघि भारतका उमेश पटुवालले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद खाली थियो।
ह्वाटमोरको नियुक्ति १ जनवरीबाट लागू हुनेछ। तर, उनी आगामी माघमा मात्र राष्ट्रिय टोली सम्हाल्न आउने जनाइएको छ। त्यसअघि खेलाडीहरु ११ पुसदेखि हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा व्यस्त हुनेछन्। ह्वाटमोर पनि अहिले सिंगापुर क्रिकेट टोलीको प्रशिक्षक रहेकाले त्यहाँ राजीनामाको प्रक्रिया पुरा गरेर नेपाल आउनेछन्।
आगामी मार्चमा नेपालले ओमानमा अमेरिकासहित त्रिकोणात्मक एक दिवसीय श्रृङ्खला खेल्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको उक्त प्रतियोगिता नै ह्वाटमोरको पहिलो ठूलो प्रतियोगिता हुनेछ।
क्यानले मुख्य प्रशिक्षकका लागि अन्तर्वार्ता दिएका १२ जनाबाट ह्वाटमोरलाई छानेको हो। प्रशिक्षकका लागि उनीसहित पूर्व प्रशिक्षक पुबुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले अन्तरवार्ता दिएका थिए। ह्वाटमोर एसिया महादेश बाहिरको पहिलो विदेशी प्रशिक्षक हुनेछन्।
तर, उनी श्रीलंकामा जन्मेका हुन्। यसअघि श्रीलंकामा नै जन्मेका पुबुदु दशानायके र रोय लुक डायस नेपाली क्रिकेटको प्रशिक्षक भइसकेका छन्। यसअघिका १३ विदेशी प्रशिक्षकमध्ये यी दुईले मात्र विशेष छाप छाडेका छन्। नेपाली क्रिकेट माथि उठ्नुको श्रेय उनै दुई प्रशिक्षकलाई जान्छ।
यसैबीच क्यानको महाप्रवन्धकमा रौनक मल्ल नियुक्त भएका छन्। क्रिकेट म्यानेजरमा भने विनोद दास नियुक्त भएका छन्। नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासले सम्पूर्ण क्रिकेट गतिविधि हेर्ने क्यानले जनाएको छ। आज नियुक्त भएका तीन जनाकै कार्यकाल १ जनवरीबाट शुरु हुनेछ।