धान बालीलाई खाँचो परेको रासायनिक मल ल्याउन बल्ल सम्झौता
बांग्लादेशबाट रासायनिक मल ल्याउन निर्णय गरेको तीन महीनापछि बल्ल सरकारले यससम्बन्धी सम्झौता गरेको छ। बिहीबार नेपाल र बांग्लादेश सरकारका सम्बन्धित निकायबीच ५० हजार मेट्रिक टन युरिया आपूर्तिका लागि सम्झौता भएको छ। जी–टु–जी अर्थात सरकार–सरकारबीच सम्झौता गरिएको आधारमा मलको आपूर्ति हुनेछ।
धान बालीलाई हाल्ने रासायनिक मलको चरम अभाव भएपछि सरकारले गत भदौमै जीटुजीबाट रासायनिक मल ल्याउने पहल शुरू गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले बांग्लादेशकी समकक्षीसँग मल आपूर्तिका लागि अनुरोध गर्दै टेलिफोन सम्पर्क गरेका थिए। १ असोजको मन्त्रिपरिषद्को बैठकले बांग्लादेशबाट रासायनिक मल ल्याउनेसम्बन्धी निर्णय पनि गरेको थियो।
तर, धान बाली भित्र्याइसकेपछि बल्ल मल ल्याउनेसम्बन्धी सम्झौता भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार, तीन महीनाभित्र तोकिएको परिमाणमा युरिया मलको आपूर्ति भइसक्नेछ। तर, करीब तीन साताभित्रै पहिलो खेप मल आइपुग्ने उनले बताए।
बिहीबार मल आपूर्तिसम्बन्धी सम्झौतामा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बांग्लादेशको केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले हस्ताक्षर गरे। अहिले ल्याइन लागेको रसायनिक मल हिउँदे गहुँबाली, तरकारी तथा मकै बालीका लागि प्रयोग हुनेछ।