काठमाडौं उपत्यकामा थपिए ३६३ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३६३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २११ पुरुष र १५२ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४०८७, भक्तपुरमा ३३३ र ललितपुरमा ७३५ जना सक्रिय संक्रमित छन्।
यस्तै, सोही अवधिमा देशभर भने ६ हजार ५८८ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ५५ हजार ७२४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ५८० रहेको छ।
यस्तै, सोही अवधिमा ९४७ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४४४ जना रहेका छन्।
यस्तै, सोही अवधिमा कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।