राजनीतिक अनिश्चय र कर्जामा कडाईले शेयर बजार ओरालोमा
शेयर बजार परिसूचक नेप्से बिहीबार २२.७० अंकले घटेको छ। राष्ट्र ब्यांकको कर्जा नीतिमा संसोधन तथा राजनीतिक अनिश्चयका कारण लगानीकर्ताको मनोबल खस्किएपछि नेप्से परिसूचक २ हजार ३२ विन्दुमा ओर्लिएको हो।
साताको अन्तिम दिन बिहीबार लघुवित्त बाहेक सबै समूह ओरालो लागेका छन्। सबैभन्दा धेरै व्यापार २.७९ र जीवनबीमा समूह २ प्रतिशत घटेको छ। नारायणी विकास ब्यांक ७.५१, नेपाल ब्यांक ६.२५ र खानीखोला जलविद्युत ५.९३ प्रतिशतले घटेका छन्।
पछिल्लो समयमा लगातार बढिरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य पनि ५.८१ प्रतिशतले घटेको छ। बिहीबार कारोबार भएकामध्ये ११७ कम्पनीको शेयर मूल्य घटेको छ।
जम्मा ४५ कम्पनीको शेयर मूल्य मात्र बढेको छ। सबैभन्दा धेरै माहुली सामुदायिक लघुवित्त, माउन्टेन इनर्जी र छ्याङ्दी जलविद्युतका लगानीकर्ताले करीब १० प्रतिशत कमाएका छन्।
बजारमा रू. ६ अर्ब ७७ करोड मूल्यका शेयर किनबेच भएको थियो।
बुधबार नेपाल राष्ट्र ब्यांकले शेयर धितो कर्जासहित ओभरड्राफ्ट लगायतका कर्जामा कडाई गर्ने नीतिगत प्रबन्ध अघि सारेको थियो। त्यस्तै, सत्तारूढ नेकपाभित्रको विवाद बढ्दै जाँदा राजनीतिक अनिश्चय बढेकाले पनि लगानीकर्ताको मनोबल खस्किएको अनुमान गरिएको छ।