छिनको छिनमै चित्र !
हलमा जम्मा भएका दर्शकसामु ठूलो क्यानभास लिएर संगीतको मधुरो धूनसँगै उनका हात जादू गरेझैं नाच्छन्। पाँच सात मिनेट उनका हात बिजुली गतिजस्तै गरी चलेपछि असाध्यै सुन्दर चित्र तयार भइसक्छ।
भक्तपुर कमलविनायकका २६ वर्षीय विकल प्रजापतिको हातमा अनेक सीप छ। कामचलाउ हैन, उम्दा सीप। औपचारिक अध्ययनले वास्तुकार (आर्किटेक्ट) हुन्। जागीर छोडेर घरमै बसेर काम गरिहरेका उनी आफ्नै परामर्शदातृ संस्था खोल्ने तयारीमा छन्।
मूर्तिकला त उनको कला यात्राको जग नै हो। कमलविनायकमा रहेको प्रजापति परिवारको पुस्तौनी पेशा नै माटोको भाडा बनाउनु हो। उनले जिन्दगीमा पहिलोपटक माटोमै सृजना भर्ने रहर गरे। “माटोको भाडा बनाउचाहि मैले जानिन, माटो खेलाएर मूर्ति बनाउने ढंगचाहि सानैदेखि जानें”, उनी भन्छन्।
मूर्तिकला बाहेक उनी पेन्टिङ र चित्र बनाउन पनि असाध्यै सिपालु छन्। शिशाकलमदेखि वाटर कलर, पोष्टर कलर, आयल कलर सबै माध्यममा पोख्त। कलाकारिताको धेरै माध्यम जाने पनि उनको मन चाहिँ ‘स्पिड आर्ट’मा बसेको छ। यसका लागि उनले दुई वटा माध्यम छानेका छन्, ग्लिटर आर्ट र एक्रेलिक।
ग्लिटर आर्टमा ग्लुको सहायताले बनाउनु पर्ने आकृति तयार पारी त्यसमा ग्लिटर (कस्मेटिक पसलमा पाइने मसिना कण भएको रंगीचंगी पदार्थ) छरेर सृजना तयार गरिन्छ। अर्कोमा एक्रेलिकका सहायताले ठूलो क्यानभासमा द्रुत गतिमा पेन्टिङ तयार गरिन्छ। प्रशस्त समय दिएर घरमै बसेर बनाउने पेन्टिङ कलामा त उम्दा छँदैछन्।
३—४ वर्षको उमेरमै माटामा कला भरेर सृजनात्मक यात्रामा तानिएका उनलाई थप बाटो देखाउने काम मामाले गरे। शिक्षण पेशमा जोडिएका मामा दीपेन्द्र प्रजापतिले विभिन्न विद्यालयमा हुने चित्रकला प्रतियोगितामा भाग लिन लगाउँथे। यसबाट उनलाई कलामा थप रुचि र प्रोत्साहन मिल्यो।
भक्तपुर कलै कलाको शहर। विद्यालयमा पनि विभिन्न कला देखाउने माहोल थियो। उनी माटाका मूर्ति पनि बनाउँथे। यी दुवै कलामा उनी निरन्तर लागिरहे। पुरस्कार र स्याबासी पाइरहे। पुरस्कार, स्याबासी र निरन्तरको साधनाले कला निखारिँदै गयो।
विज्ञान विषय लिएर १२ कक्षा पास गरेपछि उनी वास्तुकलाको अध्ययनतिर तानिए। घर नजिकैको ख्वपः इन्जिनियरिङ कलेजमा भर्ना भए। उनले तीन वर्षअघि नै वास्तुकलामा स्नातक सके। तर, चित्रकला र मूर्तिकलाको मोहबाट टाढा पुगेनन्।
धेरै दर्शकसामु ‘विजुलीको गतिमा चित्र’ बनाउने भारतीय चित्रकार विलाश नायक र अमेरिकी चित्रकार डेबिड ब्ल्याडरको कलाकर्मबाट प्रभावित बने। उनीहरुको भिडिओ देखेपछि उनलाई पनि त्यसै गर्ने रहर लाग्यो। अनि शुरु भयो उनको चित्रकारिताको नयाँ आयाम।
उनले घरमै एउटा कोठामा त्यसरी नै चित्र बनाउन थाले। उनको कामलाई भाइ विजयले खिचिदिए। ग्लिटर आर्टका लागि शुरुमा उनले महजोडीलाई छाने। एक्रेलिकको सहायताले बनाइने ‘स्पिड पेन्टिङ’ चाहिँ महात्मा गान्धीको बनाए। पहिलो प्रयास सन्तोषजनक भएपछि उनमा उत्साह भरियो। भिडिओ युट्युबमा राख्न थालेपछि चर्चा बटुल्दै गए।
धेरै दर्शकसामु ‘स्पिड आर्ट’ गर्ने पहिलो मौकाचाहि उनलाई सोसाइटी अफ नेपलिज आर्किटेक्टस् (सोना) ले दिलायो। सोनाले बेलाबेलामा आर्किटेक्टहरुलाई आफ्ना कामबारे प्रस्तुतिकरण दिन निम्त्याउँछ, ‘आर्किटेक्ट स्पिक्स’ (वास्तुकार बोल्छन्) श्रृंखलामार्फत। उक्त कार्यक्रममा सोनाकी अध्यक्षसमेत रहेकी ख्वप इन्जिनियरिङ कलेजकी गुरु अन्जु मल्ल प्रधानले उनलाई अवसर दिइन्।
१७ साउन २०७६ मा त्रिपुरेश्वरको एउटा हलमा करिब दुई सय आर्किटेक्टहरुको उपस्थितिमा उनले सात मिनेटमै विशाल क्यानभासमा कुमारीको पेन्टिङ बनाए। हलमा सियो खसे पनि सुनिने सन्नाटा थियो। सबैका आँखा क्यानभासमै टाँसिएका थिए।
सात मिनेटपछि पर्रर... ताली बज्यो। उनले सन्तोषको लामो श्वास फेरे। उनको स्पिड आर्ट त्यो दिनबाट घरबाहिर निस्केको थियो। अनि सामाजिक सन्जालमा उनको कलायात्राले चर्चा पायो। देश विदेशबाट कामका अवसरहरु आउन थाले। त्यसरी नै पेन्टिङ बनाएर भिडिओ पठाइदिए पुग्ने। ती अवसरले उनलाई कलाकारितामा ठूलो हौसला मिल्यो।
उनले ‘उज्यालो निर्माता’ कुलमान घिसिङको चित्र पनि बनाएका छन्। घिसिङलाई भेटेरै चित्र दिए। घिसिङले उनको कलाको प्रसंशा गरे। उनले राजा वीरेन्द्रदेखि सन्दुक रुइतसम्मका पेन्टिङ त्यसरी नै बनाएका छन्।
युट्युबमार्फत कलाको प्रसंशक थपिंदै जाँदा भारतको एउटा इभेन्ट म्यानेजमेन्ट कम्पनीले उनलाई आर्कषक प्रस्ताव पठायो। उतै बसेर कला अभ्यास गर्ने। विभिन्न प्रतिष्ठित समारोहहरुमा द्रुत गतिमा पेन्टिङ कला देखाउने गरी लामो समयको करार सम्झौता भएको थियो। कहर कोरोनाले त्यो काम अघि बढ्न पाएन।
कोरोना कहरसंगै उनले परामर्शदातृ संस्थाको जागिर छोडेर घरमै वास्तुकला र चित्रकलालाई निरन्तरता दिए। त्यही मेसोमा केही समयदेखि अभ्यास नगरेको मूर्तिकलालाई निरन्तरता दिने रहर जाग्यो। उनले महजोडीको (मदनबहादुर र हरिबहादुर पात्र झल्कने) मूर्ति बनाए। भेटेर मूर्ति देखाउन रहर लागेको भनी मह सञ्चारमा इमेल पठाए। हरिवंशको फेसबुकमा पनि म्यासेज पठाए। कतैबाट जवाफ आएन।
तर, सात दिनपछि महजोडी अचानक उनकै घरमा आइपुगे। उनलाई छक्क पार्न पो जवाफ नदिएका रहेछन्। मदनबहादुर र हरिबहादुरको मूर्ति देखेर महजोडी खुशी भए। उनलाई शुभकामना दिए। यो कामले राम्रो चर्चा पनि पायो। त्यो मूर्ति उनले रेडियो अडियो एफएमलाई उपहार दिए। “मूर्ति उपहार दिएर पठाउँदा छोरी अन्माएर पठाएजस्तै महसुस भयो”, विकल भन्छन्।
कलायात्राका लागी जर्मनीलगायत देशहरुबाट आएको निम्तो पनि कोरोना कहरले अघि बढ्न दिएको छैन। कलायात्रा उनको जिन्दगीको ठूलो लक्ष्य हो। देश विदेश घुम्दै कलाकारिता गर्ने, थप तालिम लिएर कला तिखार्ने र नेपालको सौन्दर्य र सम्पदालाई कला यात्रामार्फत विभिन्न देशमा चिनाउने उनको धोको छ। त्यो धोकोले मूर्त रुप लिने गरी विभिन्न प्रस्ताव पनि आउन थालेका छन्।
कुराकानीलाई बिट मार्ने क्रममा ‘कलाकारिताले जीविका चलाउन गाह्रो छ’ भने विकलले। सुनेर मेरो मन चसक्क भयो। यति धेरै प्रतिभावान कलाकारलाई पनि जीविका चलाउन गाह्रो! कलाकारितामा लागेर काम पाउन गाह्रो छैन। उचित दाम पाउनचाहि गाह्रो छ।
चित्र र मूर्ति बनाएपछि उपहार दिइहाल्ने उनको सरलता र शालिनताले गर्दा कमलविनायकस्थित विकलको घरमा सृजना भेटाउनै मुश्किल पर्छ। अर्डर दिएर बनाउने व्यवसायिक चित्र, पेन्टिङ, मूर्ति त आफूसँग रहने कुरै आएन। सोखले बनाएका चित्र र मूर्ति पनि सम्बन्धित व्यक्तिलाई भेटेर उपहार दिन्छन्। उनको कलाको संग्रह घरमा नभेटिए पनि फेसबुक पेज र युट्युबमा चाहि प्रशस्तै भेटिन्छ।