चार्ली हेब्डो पत्रिकामा भएको आक्रमणमा संलग्नलाई ३० वर्षसम्म कैद फैसला
फ्रान्सको राजधानी पेरिसको एक अदालतले सन् २०१५ मा व्यङ्ग्य पत्रिका चार्ली हेब्डोमा भएको आक्रमणका सहयोगी रहेको भन्दै १४ जनालाई दोषी प्रमाणित गरेको छ। तीमध्ये दुई जनालाई ३० वर्ष कैदको फैसला सुनाइएको छ।
जनवरी २०१५ मा भएका आक्रमण र झडपमा एक महिला प्रहरीसमेत १७ जनाको मृत्यु भएको थियो। बुधबार भएको सुनुवाइमा ११ अभियुक्त उपस्थित थिए। तीन जनामाथिको फैसला भने उनीहरुको अनुपस्थितिमा नै भएको छ। त्यसमध्ये हयात बाओमुद्दिन सिरिया भागेको जनाइएको छ।
उनी सुपरमार्केटमा आक्रमण गर्ने आमेदी काउलीबालीको मित्र भएको र आक्रमणको ठीक एक दिनअघि सिरिया गएको बताइएको छ। अदालतले उनले आर्थिक सहयोग गरेको र आतंकवादी नेटवर्कको हिस्सा भएको ठहर गरेको छ। उनलाई ३० वर्षको कैद सजाय सुनाइएको छ।
अदालतमा उपस्थित उक्त आक्रमणको प्रमुख अभियुक्त अली रजा पोलाटको पनि ३० वर्ष कैदको सजाय सुनाइएको छ। सबै १४ अभियुक्तको फरक फरक अपराधमा दोषी पाइएको छ। ६ जनालाई आतंकवादको आरोप हटाइएको छ। अदालतले उनीहरुले त्योभन्दा कम अपराधमा मात्र सजाय गरेको छ।
७ जनवरी २०१५ मा चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो। त्यसको एक दिनपछि एक महिला पुलिस अधिकृतलाई गोली हानी हत्या गरिएको थियो। दुई दिनपछि एक सुपरमार्केटमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो। तीमध्ये तीन जना यी आक्रमणमा संलग्नहरु भएको प्रहरीको दाबी थियो।
चार्ली हेब्डोले पैगम्बर मोहम्मदको कार्टुन प्रकाशन गरेको विरोधमा आतिवादीहरुले आक्रमण गरेका थिए। यस्तो आक्रमण उक्त पत्रिकामाथि पटक पटक हुँदै आएको थियो। सन् २०१५ को आक्रमणमा संलग्न भएकाहरुको गएको सेप्टेम्बरदेखि नै सुनुवाइ शुरु भएको थियो। तर, कोभिडका कारण ढिला सुनुवाइ भएको हो।
सुनुवाइ शुरु भएपछि पनि चार्ली हेब्डोको कार्यालय नजिक सञ्चारकर्मीहरुमाथि आक्रमण भएको थियो। आक्रमणमा टेलिभिजन कार्यक्रम उत्पादन कम्पनीका दुई जना कर्मचारी घाइते भएका थिए। चार्ली हेब्डोले गएको सेप्टेम्बरमा सुनुवाइ शुरु गरेपछि पैगम्बर मोहम्मदको उक्त विवादास्पद कार्टुन फेरि छापेको थियो। त्यसैकारण फेरि आक्रमण भएको मानिएको थियो।
के भएको थियो सन् २०१५ मा ?
फ्रान्सको चर्चित पत्रिका चार्ली हेब्डो सत्ता विरोधी व्यङ्ग्य छाप्छ। अति दक्षिणपन्थी इसाई, यहुदी र इस्लामिक मान्यतामाथि प्रहार गर्ने कारण लामो समयदेखि यो पत्रिका विवादमा छ।
सन् २०११ मा चार्ली हेब्डोको कार्यालयमा पेट्रोल बमसमेत हानिएको थियो। पैगम्बर मोहम्मदको कार्टुन छापेपछि भने पत्रिकाको टीमलाई लगातार ज्यान मार्ने धम्की आएको थियो।
७ जनवरी २०१५ मा सेड र चेरिफ कोची नामका दुई दाजुभाइ चार्ली हेब्डोको कार्यालयमा घुसेर गोली चलाएका थिए। उक्त घटनामा सम्पादक स्टिफेन चार्बोनियर, चार कार्टुनिष्ट, दुई स्तम्भकार र एक एक जना कपी एडिटर, केयरटेकर र कार्यालयमा आएका पाहुनाको पनि मृत्यु भएको थियो। आक्रमणमा सम्पादकका अङ्गरक्षक र एक प्रहरी अधिकारी पनि मारिएका थिए।
प्रहरीले यी दाजुभाइलाई खोज्न थालेपछि एक सहयोगीले एक महिला पुलिसको हत्या गरेर कयौँ व्यक्तिको यहुदी सुपर मार्केटमा बन्धक बनाएका थिए। उनीहरुले ९ जनवरीमा चार जना यहुदीको हत्या गरेका थिए। त्यसपछि प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो।
मृत्युअघि रेकर्ड गरिएको भिडियोमा उनलले इस्लामिक स्टेट (आईएस) लाई यसको जस दिएका थिए। पछि दुवै दाजुभाइको प्रहरी कारबाहीमा मृत्यु भएको थियो।
-बीबीसीबाट