टोटेनहमलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा
इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको शीर्षस्थानका क्लबबीचको भिडन्तमा लिभरपुलले बाजी मारेको छ। जितसँगै टोटेनहम हट्स्परसँग स्पष्ट तीन अंकको अग्रता लिँदै लिभरपुल शीर्षस्थानमा पुगेको छ।
लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटेनहमलाई २-१ गोल अन्तरले पराजित गरेको छ। मोहम्मद सलाहको गोलबाट २६औँ मिनेटमा लिभरपुलले अग्रता कायम गरेको थियो। तर, ३३औँ मिनेटमा हिउङ मिन सोनले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।
बराबरीमा नै खेल टुङ्गिने आशामा रहेका टोटेनहमका समर्थक दोस्रो हाफको इन्जुरी समयमा निराश भएका थिए। लिभरपुलका रोबेर्टो फर्मिनोले गोल गर्दै आफ्नो क्लबलाई अंकतालिकाको शीर्षस्थानमा पु¥याए।
योसँगै लिभरपुल घरेलु मैदानमा ६६ खेलमा अपराजित रहेको छ। पछिल्लोपटक डिसेम्बर २०१८ मा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।
उता तेस्रो स्थानमा रहेको लेस्टर सिटी घरेलु मैदान किङ पावर स्टेडियममै एभर्टनसँग २-० गोलले पराजित भएको छ। हारपछि लेस्टर चौँथो स्थानमा धकेलिएको छ। आर्सनललाई बराबरीमा रोकेको साउथह्याम्प्टन तेस्रो स्थानमा उक्लिएको छ।
लिगमा लिभरपुलको २८ तथा टोटेनहमको २५ अंक छ। त्यस्तै साउथह्याम्प्टन र लेस्टरको २४ तथा एभर्टनको २३ अंक छ। आर्सनल भने १४ अंकसहित १५औँ स्थानमा छ।