१३ महिलाको जीवन भोगाइ ‘म’ कथा संग्रह सार्वजनिक
विभिन्न क्षेत्रमा काम गरिरहेका तर, सार्वजनिक रूपमा नआएका महिलाहरूको संघर्ष र सफलताको कथा ‘म’ नामक कथा संग्रह सार्वजनिक भएको छ। ‘म लेख्छु मेरो कथा’ अवधारणामा आफूलाई केन्द्रविन्दुमा राखेर १३ महिलाहरूको कथा पुस्तकमा प्रकाशित भएको हो।
अधिकारको क्षेत्रमा कार्यरत संस्था लुम नेपालले प्रकाशन गरेको पुस्तक ती १३ जना महिलाहरूले नै भर्चुअल माध्यमबाट सार्वजनिक गरे। आफू भएर बाँच्न चाहँदा चाहँदै पनि विभिन्न परिबन्ध र बाध्यताका कारण परिवार, समाज र परम्पराको घेराबन्दीमा परेका महिलाहरूको अनुभव र वास्तविक जीवन भोगाइ पुस्तकमा लेखिएको लुम नेपालकी कार्यकारी अध्यक्ष ज्योत्सना मास्केले बताइन्।
लुमले स्वकथा लेखन कार्यशाला गरी विभिन्न भूमिका र पहिचानमा रहेका महिलाहरू छनौट गरी उनीहरूको कथा पुस्तकमा उतारेको हो।
पुस्तकमा उषा सुनुवार, कमला परियार, कल्पना राई, नबिना ज्ञवाली, सुनिताकुमारी मगराती, सुमित्रा विक, हस्तकुमारी (मंजु) कार्की, पूजा पाण्डे, विष्णु देवकोटा, बुद्धकुमारी राई, मिनु पुन, सुलिना चौधरी र हीरा रसाइलीका अनुभव, जीवन जिउने शैली, संघर्ष र सफलताका कुरा रहेको लुमले जनाएको छ।