पोखरा र गौतमबुद्ध विमानस्थलको ‘ग्राउन्ड ह्याण्डलिङ’ जिम्मा नेवानिलाई
सरकारले राष्ट्रिय ध्वाजाबाहक निगमलाई निर्माणाधीन दुवै विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा सञ्चालनको जिम्मेवारी दिएको छ। अब निगमले नै आवश्यक तयारी गरेर दुवै विमानस्थल सञ्चालमा आएसँगै उक्त भूमिस्थ सेवा दिने छ।
निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र गौतमबुद्ध विमानस्थलको ‘ग्राउन्ड ह्याण्डलिङ’ जिम्मा नेपाल वायुसेवा निगम (नेवानि)ले पाएको छ।
नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई दुवै विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध सेवा)गर्ने अनुमति दिएको नेवानिले बताएको छ।
प्राधिकरणले १७ मंसीर २०७७ को निर्णयबाट निगमलाई दुबै विमानस्थमा भूमिस्थ सेवा सञ्चालन गर्ने उक्त अधिकार प्रदान गरेको जानकारी निमगले १ पुस (बुधबार) एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।
निमगले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो भूमिस्थ सेवा प्रदान गर्दै आएको छ। त्रिभुवन विमानस्थलमा निगमले स्थापनाकालदेखि नै यो सेवा दिँदै आएको छ।
नयाँ विमानस्थलमा सरकारी वायुसेवालाई नै भूमिस्थ प्रबन्ध सेवाको जिम्मेवारी दिइएको छ। यी दुई विमानस्थल भने निर्माणाधीन हुन्।