अध्यादेश र विशेष अधिवेशनको निवेदन फिर्ता लिन ओली–दाहाल सहमत, स्थायी कमिटी बैठक शुरू
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच २६ भदौको निर्णयलाई कार्यान्वयन गरेर जाने विषयमा सहमति भएको छ।
दुई अध्यक्षबीच बुधबार दिउँसो बालुवाटारमा भएको छलफलमा २६ भदौपछि भएका सम्पूर्ण गतिविधि र सरकारले मंगलबार ल्याएको अध्यादेश तथा दुवै अध्यक्षका राजनीतिक प्रस्ताव र पत्रहरू फिर्ता लिने सहमति भएको प्रधानमन्त्रीनिकट श्रोतले बतायो।
तर, अध्यक्ष दाहालको सचिवालयले भने अध्यक्षहरूबीच दुई वटा मात्र सहमति भएको दाबी गरेको छ।
सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशन माग गर्दै दाहाल–नेपाल समूहले राष्ट्रपतिसमक्ष बुझाउने लिएको पत्र फिर्ता गर्ने मात्र सहमति भएको अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्।
‘यी दुईबाहेक अरु कुनै सहमति भएको छैन’, उनले भनेकी छन्।
२६ भदौको स्थायी कमिटी बैठकले गरेको निर्णय प्रधानमन्त्रीले उल्लंघन गरेको र प्रधानमन्त्री ओली स्वेच्छाचारी बन्दै गएको आरोपसहितको प्रतिवेदन २८ कार्तिकमा दाहालले सचिवालय बैठकमा पेश गरेपछि नेकपाभित्रको विवाद सतहमा आएको थियो।
दाहालले पेश गरेको प्रस्ताव फिर्ता नलिए बैठकमा सहभागी नहुने अडान लिएका प्रधानमन्त्री ओलीले ३ मंसीरमा बसेको सचिवालय बैठकबाट १० दिनको समय लिएर अध्यक्ष दाहालको प्रस्तावको जवाफ दिएका थिए।
सचिवालयमा विवाद साम्य नभएपछि दुवै अध्यक्षले पेश गरेका प्रतिवेदनहरू स्थायी कमिटी बैठकमा पेश गरिएको थियो। प्रधानमन्त्री ओलीले ‘आरोप-पत्र’ फिर्ता नलिएसम्म स्थायी कमिटी बैठकमै सहभागी नहुने अडान लिंदै आएका थिए।
२६ भदौपछि प्रधानमन्त्री ओलीले खाली रहेका मन्त्रालयमा नयाँ गरेको मन्त्री र राजदूतको नियुक्तिपछि ओलीमाथि स्थायी कमिटीले गरेको निर्णय उल्लंघन गरेको आरोप लागेको थियो।
दुवै अध्यक्षका तर्फबाट सहमतिका लागि प्रयास भएपनि सहमति नभएपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक जारी रहेका बेला ३० मंसीरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन-२०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो। त्यसपछि झन नेकपाभित्रको विवाद चर्केको थियो।
ओली र दाहालबीच सहमति जुटेपछि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको छ। दिउँसो १ बजे बालुवाटारमा डाकिएको बैठक केहीबेरअघि मात्र शुरू भएको हो। बैठकअघि दुई अध्यक्षबीच दुईपटक छलफल भएको थियो।