काठमाडौं उपत्यकामा थपिए ३९१ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३९१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २९४ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार भक्तपुरमा २० र ललितपुरमा ७७ जना संक्रमित थपिएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर भने ५ हजार ५५५ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७३६ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ४९ हजार १३६ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ७५७ रहेको छ। यसमध्ये संस्थागत आइसोलेसनमा ३६६३ र होमआइसोलेसनमा ६०९४ रहेका छन्।
यस्तै, सोही अवधिमा ८४७ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ। हाल आईसीयूमा २८९, भेन्टिलेटरमा ५९ र क्वारेन्टिनमा ४५२ जना रहेका छन्।
सोही अवधिमा कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टायता थप १३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।