ओली र दाहाल फेरि छलफलमा, विष्णु पौडेल पनि सहभागी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच फेरि छलफल शुरू भएको छ।उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। महासचिव विष्णु पौडेल पनि छलफलमा सहभागी छन्।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार छलफल केहीबेर अघि शुरू भएको हो। यसअघि दुई अध्यक्षबीच आजै दिउँसो बालुवाटारमा छलफल भएको थियो। तर, उनीहरूबीच त्यो छलफलमा सहमति जुटेको थिएन।
छलफलमा ओलीले दाहालले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नहुन्जेल बैठकमा सहभागी नहुने बताएका थिए। त्यसपछि दाहाल छलफलस्थलबाट बाहिरिएका थिए।
अध्यक्षबीच कुरा नमिल्दा दिउँसो १ बजे बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक अझै बस्न सकेको छैन।
नेकपाको स्थायी कमिटी बैठक २१ मंसीरमा शुरू भएको थियो। ७ दिन स्थगित गरेर २८ मंसीरमा बसेको बैठक शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो।
पार्टीभित्रको समस्या समाधानलाई अजेण्डा बनाएको स्थायी कमिटीले दुवै अध्यक्षका दस्तावेज र पत्रमाथि छलफल गर्ने भएको छ। तर, अध्यक्ष ओलीले दाहालको प्रस्तावमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने अडान राख्दै आएका छन्।
पार्टीभित्र विवाद कायमै रहेको र स्थायी कमिटी बैठक जारी रहेका बेला सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् पेचिलो बनेको छ।
अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नाराणकाजी श्रेष्ठलगायतका नेताहरूले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।