पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ठहर भएका एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो।
पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई सोमबार पक्राउ गरि मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएकामा अदालतको आदेशपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला अदालत दैलेखको २१ मंसीर २०७१ को फैसलाले पुनलाई २ वर्ष कैद सजाय तोकेको थियो। तत्कालीन न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महीना १ दिन जिल्ला कारागारमा थुनामा बसेका थिए।
थुनामा रहेकै बेला पुनले तत्कालीन पुनरावेदन अदालत सुर्खेतकमा वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेर अदालतको आदेशले थुनामुक्त भएका थिए। पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भइकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेपछि उनी फरार भएका थिए।
४ महीना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेका पुनलाई अदालतको पत्रपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, डीएसपी अनुपम श्रेष्ठले बताए। पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा तत्कालीन ९ जना माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
उनको जाहेरीपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये पुनबाहेक अन्य ४ जना भने जिल्ला अदालतबाट भएको फैसला अनुसार कैद भुक्तानी गरिसकेका छन्।
पत्रकार थापाको हत्याका मुख्य अभियुक्त ठहरिएका अरुण भनिने बमबहादुर खड्का १ वर्षअघि पक्राउ गरी पुर्पक्षका लागि थुना रहेका छन् भने अन्य ३ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।
पत्रकार थापालाई तत्कालीन माओवादी कार्यकर्ताले २७ साउन २०६१ मा नौमुले गाउँपालिका–३ द्वारीमा हत्या गरी खाल्डोमा गाडेका थिए।