नेकपाको स्थायी कमिटी बैठक अझै शुरू भएन
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अझै शुरू हुन सकेको छैन। दिउँसो १ बजेलाई तय बैठक अहिलेसम्म बसेको छैन।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटीका सदस्यहरू बालुवाटारमा जम्मा भएका छन्। तर, प्रधानमन्त्री ओली बैठकस्थलमा आइपुगेका छैनन्।
यसअघि २८ मंसीरमा बसेको बैठक शोक प्रस्ताव पारित गर्दै आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।
बैठकका लागि आफूहरू बालुवाटार पुगेको तर, अहिलेसम्म बैठकको सुरसार नै नभएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए।
बैठक शुरू नभएपछि बालुवाटार पुगेका नेताहरू फर्किने तयारी गरेका छन्।
यसअघि, बालुवाटारमै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो। तर, उनीहरूबीचको छलफलमा सहमति जुट्न नसकेको बताइन्छ।
आज विहान प्रधानमन्त्री ओलीले दाहाललाई टेलिफोन गरी मिलेर जाने प्रस्ताव गरेका थिए। सोही अनुसार दुई अध्यक्षबीच छलफल भएपनि सहमति भने जुटेन।
नेकपाभित्र विवाद बढ्दै गएका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन् चर्किएको छ। नेकपा अध्यक्ष दाहाल लगायतका नेताहरूले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।