पाकिस्तानमा बलत्कारीलाई नपुङ्सक बनाउने कानून
पाकिस्तानले बलत्कारीका विरुद्ध कडा कानून बनाएको छ। उक्त कानूनअनुसार अब बलत्कारका घटनाको चाँडो सुनुवाइ हुनेछ भने बलत्कारीलाई नपुङ्सकसम्म बनाइने प्रावधान छ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले उक्त नयाँ कानूनमा मंगलबार हस्ताक्षर गरेका छन्। उक्त कानूनअनुसार नपुङ्सक बनाउनका लागि केमिकलको प्रयोग हुनेछ। बलत्कारका घटना नियन्त्रण गर्न कडा कानून ल्याइएको पाकिस्तानी सरकारले जनाएको छ।
अध्यादेशबाट ल्याइएको कानूनमा यौन अपराधमा संलग्नहरुको ‘राष्ट्रिय रजिस्टर’ नै बनाउने र पीडितको परिचय गोप्य राख्ने प्रावधान छ। यी मुद्दाको सुनुवाइ गर्न विशेष ‘फास्ट ट्रयाक’ अदालत गठन हुनेछ। यस्तो अदालतले चार महीनामा सुनुवाइ पुरा गरी फैसला सुनाउनु पर्नेछ।
यो कानून लाहौरमा भएको सामुहिक बलत्कारको घटनापछि बनाइएको हो। उक्त घटनापछि बलत्कारीलाई कडा सजाय दिने कानून बनाउन माहौल बनेको थियो। कडा कानूनको माग गर्दै प्रदर्शनहरु पनि भएका थिए।
ती महिला आफ्ना दुई बच्चासहित लाहौरतर्फ गइरहेको बेला राजमार्ग किनारामा नै उनीमाथि आक्रमण भएको थियो। बलत्कारमा परेको बेला उनका दुवै बच्चा त्यहीँ थिए।
घटनाको एक दिनपछि लाहौर प्रहरीका उच्च अधिकारीले घटनामा महिलाको पनि दोष रहेको बताएका थिए। उनको टिप्पणीपछि आमनागरिक विरोधमा उत्रिएका थिए। देशभर प्रदर्शन भएको थियो। त्यसपछि सरकार बलत्कारीविरुद्ध कडा कानून बनाउन लागेको थियो।