प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ। विज्ञप्ति जारी गर्दै पाठ्यक्रमको विषयमा देखिएको अन्योल अन्त्य गर्न परिषद्ले माग गरेको हो।
विज्ञप्तीमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको भन्दै तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरिएको छ।
शिक्षा मन्त्रालयले असोजदेखि लागू हुने गरी कक्षा ११ मा नयाँ पाठ्यक्रम जारी गरेको थियो। नयाँ पाठ्यक्रम बदर गर्न तथा पुरानैलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा मुद्दा परेको थियोे। उक्त मुद्दामा तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश दिएपछि विद्यालयहरू अन्योलमा परेका छन्। फैसला हुन बाँकी रहेको उक्त मुद्दाको ६ पुषमा फैसला हुनेछ।
सर्वाेच्च अदालतले पटकपटक पेसी सार्दै ६ पुषसम्म पुर्याउँदा देशभरका लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै परिषद्ले आपत्ति जनाएको छ। मुद्दाको यथाशीघ्र फैसला गरी देशभर पाठ्यक्रममा देखिएको अन्योल अन्त्य गरिदिन अदालतसमक्ष आग्रह विज्ञप्तिमा गरिएको छ।
कोरोनाका कारण विद्यालय सञुचालन नहुँदा बैकल्पिक माध्यमबाट पढाइरहेका कतिपय विद्यालयले नयाँ पाठ्यक्रम लागू गरेका छन् भने कतिपयले पुरानो पाठ्यक्रम अनुसार पढाइरहेका छन् । यसले गर्दा आगामी परीक्षा कुन पाठ्यक्रममा आधारित हुने, कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्नेमा समस्या देखिएको छ।
शैक्षिक क्षेत्रलाई अन्योलको वातावरणबाट मुक्त गर्दै सहज वातावरण निर्माण गर्ने दिशामा रचनात्मक दबाब सिर्जना गर्न सम्पूर्ण प्राज्ञिक वर्ग, शिक्षाविद्, आमसञ्चार जगत् एवं विद्यार्थी समूहलाई परिषद्ले अनुरोधसमेत गरेको छ।