लडाकू 'फेलो'
'टिच फर नेपाल' मार्फत गाउँमा पढाउन गएका स्वयंसेवी युवाले दक्षिणी ललितपुरका सरकारी विद्यालयहरूमा देखिनेगरिको परिवर्तन ल्याएका छन्।
बीबीए सकेर थप अध्ययनका लागि विदेश जाने योजनामा रहेकी आइतबारे, इलामकी रुषा अधिकारी 'टिच फर नेपाल' अभियानको सम्पर्कमा आएपछि 'फेलो' का रूपमा दक्षिणी ललितपुरको गिम्दीस्थित नारायणी उच्च माविमा पुगिन्। १२ कक्षा सक्दासम्म नौ वटा विद्यालय फेरेकी उनी सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा पाइने अवस्था सिर्जना गर्नकै निम्ति आफ्नै पढाइ दुई वर्ष रोकेर स्वयंसेवी शिक्षिका भएको बताउँछिन्।
नारायणी उमाविमा अहिले रुषासँगै छन्, नवमीडाँडा, पाँचथरकी अञ्जना पोखरेल र सामाखुसी, काठमाडौंका रवीन्द्र डङ्गोल पनि। द्वन्द्वकालमा बोर्डिङ स्कूल बन्द भएपछि सरकारी विद्यालय पुगेकी अञ्जनाले अमृत साइन्स क्याम्पसबाट 'कम्प्युटर विज्ञान तथा सूचनाप्रविधि' मा बीएस्सी गर्दासम्म पनि पढाइको कमजोर जगले सताइरह्यो।
माइक्रोबायोलोजीमा त्रिचन्द्र क्याम्पसबाट एमएस्सी रवीन्द्रले पनि 'फेलो' भएर जानुअघि अभिभावकलाई सम्झाउन सरकारी विद्यालयको कमजोर पढाइकै बयान गरे। यी तीनै जना तन्नेरी नारायणी उमाविमा आउनुको एउटै उद्देश्य छ– शैक्षिक गुणस्तर सुधार।
गिम्दीकै जनक माविमा पढाइरहेका छन्, तीन 'फेलो' – मिलनकुमार सरदार थारू, गौरव श्रेष्ठ र रवीन्द्रनाथ दाहाल। कर्नाटक (भारत) को कुभेम्पु विश्वविद्यालयबाट सूचनाप्रविधिमा बीएस्सी विराटनगरका मिलनलाई आर्थिक अभावका कारण कहिले बोर्डिङ त कहिले सरकारी स्कूल धाएको कुराले बिझाइरह्यो।
“मलाई बोर्डिङ स्कूलमा पढाउन आमाबुवाले रात–दिन काम गर्नुपर्यो”, उनी भन्छन्, “अब सबै मिलेर सरकारी स्कूलको पढाइ सुधार्नुपर्छ।”
अमृत साइन्स क्याम्पसबाट वातावरणमा बीएस्सी सामाखुसी, काठमाडौंका गौरव र अमेरिकाको मिनेसोटा स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक विराटनगरका रवीन्द्रनाथ पनि सरकारी विद्यालयको पढाइलाई बलियो बनाउने थिति बसोस् भनेरै गिम्दी आएको बताउँछन्।
“हामीले दुई वर्ष दिंदा देशको शिक्षामा एउटा प्रणाली बसाउन मद्दत पुग्छ भने किन नदिने?” उनीहरूको भनाइ छ, “आखिर गर्ने युवाले नै हो।”
परिवर्तनको जब्बर टीम
डेढ वर्षदेखि दक्षिण ललितपुरमा रहेको तन्नेरी टीमले विद्यालयको पढाइमा देखिनेगरिको फेरबदल त ल्याएको छ नै गाउँको 'भै'हाल्छ नि' पारामा पनि परिवर्तन गरेको छ।
उनीहरूले स्थानीय शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र राजनीतिक दलका कार्यकर्ताले सहयोग नगर्दा पनि काम गर्न नछोडेको गिम्दीका कृष्ण ढोडारी बताउँछन्। “एक/दुई दिन घुमफिर गरेर भाग्लान् भन्ने सोचेको थिएँ, तर यी त लडाकू रहेछन्”, अवकाशप्राप्त शिक्षक ढोडारी भन्छन्, “कसैले सहयोग नगर्दा पनि हार मानेनन्।”
विद्यालयमा यसरी प्रभाव पारेका 'टिच फर नेपाल' का 'फेलोे' हरूले विद्यार्थीलाई प्रफुल्ल पार्ने नै भए। त्यसका लागि उनीहरूले अनेक उपाय अपनाएका छन्। जस्तो, उनीहरूले जनक माविमा ६ कक्षामा पढिरहेकी सुनिता मगरलाई स्कूलबाट छुटाएका अभिभावकलार्ई घरमै पुगेर सम्झाइ/बुझाइ स्कूल फर्काए।
घरमै गएर अभिभावकलाई सम्झाइ–बुझाइ गिम्दी–२ कटुवाका राजन ढोडारीलाई पनि स्कूलमा फर्काए। “तीनै जना सर नआएको भए मैले पढ्न पाउने थिइनँ”, राजन भन्छन्।
त्यस्तै, घाउले सताएकी ७ कक्षाकी रिना थिङलाई स्वयंसेवी रवीन्द्रनाथले उपचार गराए। धामीझाँक्रीले झारफुक गरेर तीन वर्षमा पनि निको नभएको घाउ सरले स्वास्थ्य चौकी लगेको तीन/चार दिनमै निको हुनथालेको रिना बताउँछिन्। यसरी विद्यार्थीलाई व्यक्तिगत तहमा पनि हेरविचार गर्ने र अतिरिक्त क्रियाकलापलाई जोड दिने
'टिच फर नेपाल' का 'फेलो' हरूले अध्यापनमा प्रयोगात्मक विधि अपनाएका छन्। विद्यालयमा प्रार्थनासँगै हाजिरी र पिटी–परेडले विद्यार्थीलाई सक्रिय बनाएको छ। नारायणी उमाविका कक्षा ९ का विद्यार्थी विमल केप्छाकी स्वयंसेवी सरहरूले शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री आफैं बनाउन सिकाएको बताउँछन्। उनी भन्छन्, “हामीले बनाएको मुरली गाउँघरै चर्चित छ।”
स्वयंसेवी शिक्षकहरूले जनक मावि र नारायणी उमाविमा बिहान र साँझ् निःशुल्क कोचिङ कक्षा चलाएका छन्– अंग्रेजी, गणित र विज्ञानको।
प्रभावित शिक्षक
'फेलो' हरूको प्रभाव विद्यार्थीसँगै शिक्षकहरूमा पनि परेको छ। विद्यालयमा कमै उपस्थित हुने शिक्षकहरू अहिले नियमित भएका छन्। जनक माविका शिक्षक रमेश ढोडारी 'फेलो' हरू कहिल्यै विदा नबसी ठीक समयमा विद्यालय आउनुको प्रभाव सबैमा परेको बताउँछन्।
जनक माविका अर्का शिक्षक बद्रीप्रसाद ढोडारीले उनीहरूका कारण कक्षामा पस्नुअघि तयारी गर्ने, शैक्षिक सामग्री बनाउने जस्ता काम पनि थपिएको बताउँछन्। “हामी केही कमजोर पनि रहेछौं”, उनी भन्छन्, “उनीहरू प्रतिभावान छन्, राम्रोसँग पढेर आएका छन्।”
नारायणी उमाविका प्राचार्य अर्जुन पौडेल लगनखेलबाट सार्वजनिक बस चढेर सात घण्टामा गिम्दी आइपुगेका 'फेलो' हरूले गाउँका सबैमा ऊर्जा थपेको बताउँछन्। “हामी जागीर खाने उद्देश्यले आयौं, उनीहरू सिकाउने उद्देश्य बोकेर आएका छन्” पौडेल भन्छन्, “जागीर खानु र स्वयंसेवक भएर सिकाउनुमा फरक भयो।”
'फेलो' हरू सरकारी विद्यालयका विद्यार्थीलाई पढाउन दुई वर्षका लागि गाउँ आएका हुन्। उनीहरूले गिम्दीका जनक मावि र नारायणी उमाविसहित ललितपुरका १४, सिन्धुपाल्चोकका १६ र धनुषाका ६ वटा विद्यालयमा पढाइरहेका छन्। तीन वर्ष अघि शुरू भएको यो अभियानमा पहिलो र दोस्रो वर्ष गरी ९५ जना 'फेलो' खटिए। गत वर्ष भने महाभूकम्पका कारण पठाउन नसकिएको 'टिच फर नेपाल' का प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल बताउँछन्।
यो अभियान अन्तर्गत स्नातक उत्तीर्ण युवालाई तालीम दिएर गाउँका सरकारी विद्यालयमा अंग्रेजी, गणित र विज्ञान पढाउन पठाइन्छ। 'टिच फर नेपाल' ले ललितपुर, सिन्धुपाल्चोक र धनुषामा 'वान डे इन क्लास रुम' अभियान थालेको छ। त्यसअनुसार, विभिन्न क्षेत्रका उदाहरणीय व्यक्तिहरूलाई कक्षा ८, ९ र १० मा लगेर विद्यार्थीसँग छलफल गराइन्छ।