दाहालले भने- ‘सरकारले ल्याएको अध्यादेश तत्काल खारेज हुनुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल खारेज गर्नुपर्ने बताएका छन्।
सबै पार्टीले संसद बोलाउन माग गरिराखेको र पार्टीसँग समेत कुनै परामर्श नगरी ल्याएको अध्यादेश तत्काल खारेज गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ रहेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।
दाहालको भनाइ उधृत गर्दै सापकोटाले भने, “सबै पार्टीले संसद अधिवेशन बोलाउन माग गरिरहेको छन्। यही बेला पार्टीमा समेत कसैसँग परामर्श, छलफल नगरी अध्यादेश ल्याउनु गम्भीर विषय हो, त्यसैले तुरुन्त खारेज गर्नैपर्छ।”
एकल निर्णयले अध्यादेश ल्याउने निर्णय गर्नु बदनियतपूर्ण भएको तथा यसले लोकतन्त्रकै उपहास भएको दाहालको भनाइ रहेको सापकोटाले बताए।
नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्। उनले अध्यादेश ल्याउनु सत्ता स्वार्थको पराकाष्ठा भएको टिप्पणी समेत गरेका छन्।
‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर’, शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।