मन्त्रिपरिषद्मा छलफल नै नगरी ल्याइयो अध्यादेश
मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइएको पाइएको छ। प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा छलफल नै नगराई अध्यादेश अगाडि बढाएको पाइएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेशका विषयमा कुनै छलफल नभएको एक मन्त्रीले हिमालखबरलाई बताए।
“आजको क्याबिनेटमा यो अजेण्डा थिएन। प्रधानमन्त्री ज्यूले पनि केही भन्नुभएन। तर, क्याबिनेट सकेर सिंहदरबार आइनपुग्दै अध्यादेश आइसकेछ”, ती मन्त्रीले भने।
सामान्यता मन्त्रिपरिषद्ले पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश राष्ट्रपतिबाट जारी हुने गर्छ। मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिसकेकी छन्।