राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धीअध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएअनुसार राष्ट्रपति भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्।
मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा अन्य सदस्य उपस्थित भए पनि सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन्।
प्रधानमन्त्री र सभामुखसहित प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने परिषद्मा प्रधानमन्त्रीसहित पाँच सदस्य उपस्थित भएपछि मात्रै बैठकका लागि कोरम पुगेको मानिने कानूनी व्यवस्था छ।
उपसभामुखको पद रिक्त रहेको अवस्थामा सभामुख बैठकमा उपस्थित नहुँदा कोरम नपुगेर मंगलबार बिहान बोलाइएको बैठक प्रधानमन्त्री ओलीले साँझ ५ बजेसम्मका लागि स्थगित गरेक थिए।
त्यसपछि बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अध्यादेशको कन्टेन के छ भन्ने खुलिसकेको छैन।
गत ८ वैशाखमा जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कुल कायम रहेका सदस्यको बहुमत सदस्य उपस्थित भएमा बैठकका लागि कोरम पुगेको मानिने र उपस्थित सदस्यको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो।
जसलाई प्रमुख प्रतिपक्षी दल लगायत सत्तारूढ नेकपाभित्रैबाट व्यापक विरोध भएपछि सरकारले पछि फिर्ता लिएको थियो। विभिन्न संवैधानिक निकायमा करीब चार दर्जन पदाधिकारी नियुक्त हुन बाँकी छन्।
तिनै संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्नका लागि संवैधानिक परिषद्को बैठक बस्नुपर्ने हुन्छ। तर, उपसभामुख निर्वाचित नभएको अवस्थामा कोही एक जना सदस्यसमेत उपस्थित नहुँदा परिषद् बैठक नै बस्न नसक्ने गरी बन्धक बनिरहेको छ।