समाजवादको बदलिंदो भाष्य
विश्वव्यापी रुपमा उदारवादी लोकतान्त्रिकहरु सामाजिक सुधारका प्रगतिशील मुद्दाहरु उठाइरहँदा समाजवादको भाष्य परिवर्तनको क्रम गतिशील छ।
आर्थिक विकास र समृद्धि सबै प्रकारका सरकार र शासन प्रणालीको एकमात्र चाहना हो। समृद्धिको सिर्जना, विस्तार र वितरण कसरी गर्ने भनेर सरकारहरु चिन्तित हुन्छन् र विचार प्रणेताहरु पनि समृद्धि र समन्याय एकसाथ कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझाउन उत्तिकै चिन्तनशील बन्छन्। मूलतः यो विषय आर्थिक प्रक्रिया गतिशील बनाउने उत्पादन सम्बन्ध, शक्ति र साधनमाथिको स्वामित्व कसरी व्यवस्थित गर्ने भन्नेमा सम्बन्धित रहँदै आएको छ।
यसलाई दुई कोणबाट हेरिंदै आएको छ, समाज केन्द्रित ढाँचा वा बजार केन्द्रित ढाँचा। पहिलोलाई समाजवाद र दोस्रोलाई पूँजीवाद (उदारवाद) भन्न सकिन्छ। यी दुई वाद वा ढाँचाबीच बहस र विवादको लामो इतिहास छ। तर, दुवैको केन्द्रविन्दुमा जनता छन्। त्यसो भए परिणामभन्दा प्रक्रियामा विवाद र बहस रहेको हो भन्ने तर्क स्वाभाविक रुपमा अगाडि सार्न सकिन्छ। वादभन्दा माथि उठ्दा अर्थराजनीतिक विषयमाथि सामाजिक प्रभावको विस्तार भन्न सकिन्छ।
समाजवादलाई उत्पादनका साधनमाथि सामाजिक स्वामित्व र प्रतिफलको सामाजिकीकरणका अर्थमा लिने गरिन्छ। सामाजिक स्वामित्व सार्वजनिक, सामुदायिक, सहकारी, अंशियार आदि स्वरुपमा रहने गर्छ। साधन विनियोजन, लगानी, उत्पादन, वितरण र उपभोगलाई बजारमा छाड्ने कि सार्वजनिक नियन्त्रणमा राख्ने भन्ने विषयको वरिपरि अर्थविद् र दार्शनिकहरु विभाजित रहँदै आएका छन्।
समाजवादी विचारका प्रणेतामध्ये एक कार्ल माक्र्स पूँजी निर्माणको बजारवादी प्रक्रियाका आलोचक थिए, जसको केन्द्रविन्दुमा नाफा रहन्छ। नाफाका कारण नै समाजमा शोषण र असमानता सिर्जना गर्ने भएकाले उनी शोषणविहीन, वर्गविहीन र राज्यविहीन पूर्ण समानताको समाजको कल्पना गर्छन्। यसलाई साम्यवादी स्वरुपमा पनि अभ्यासमा ल्याइएको पाइन्छ। मार्क्सका अनुसार, उत्पादन सम्बन्ध र उत्पादक शक्तिहरुको अन्तरविरोधले नै वर्ग संघर्ष ल्याउँछ। औद्योगिक क्रान्तिले पूँजी निर्माणको निजी उत्साहमा तीव्रता ल्यायो, असमानता बढायो, नयाँ दक्षिणपन्थी आन्दोलनले यसलाई झनै बढावा दियो। अहिलेको डिजिटल विश्वव्यापीकरणले अझ फराकिलो बनाउँदैछ। यस अर्थमा मार्क्सले भने झैं उत्पादन संगठन र सम्बन्ध सामाजिकृत छैन र वर्गीय समाज विकास भइरहेको छ।
उल्लिखित तर्कको ठीक विपरीत व्यक्तिगत चाख र विनियोजन कुशलता बजारसँग रहने भएकाले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि निजी चाख र बजारको स्वचालित प्रक्रिया आवश्यक छ भन्ने तर्क पनि उत्तिकै वजनदार छ। पूँजीको स्वामी बन्ने निजी चाहनाले नै उत्पादनलाई गति दिन्छ। साधन विनियोजन र उत्पादन कुशलताले सामूहिक प्रक्रियाभन्दा निजी चाख (प्रतिस्पर्धा) लाई पछ्याउँछ भन्ने निष्कर्ष बजारवादीको छ। आजभोलि बजारवादीलाई पूँजीवादी, नवउदारवादी आदि नामले पनि चिनाइन्छ।
वैयक्तिक अवसरको उपयोग गरी समृद्धि विस्तार र त्यसको न्यायपूर्ण वितरण समाजवादी दृष्टिकोण हो। अवसर वितरणमा समन्यायको प्रत्याभूति राज्यको काम हो, त्यसो गर्नु समाजवादी हुनु हो। अवसर उपयोग मार्फत क्षमताले आर्जन गर्ने उद्यमले समृद्धि निर्माण गर्छ र लक्षित वर्गमा वितरण गर्न सकिन्छ।
एमन बट्लर जस्ता अष्ट्रियन लेसेज फेयर प्रणेताका अर्थमा त पूँजीवाद भनेको आर्थिक वस्तुको उत्पादन हो, पूँजीगत वस्तुको उत्पादन जोसुकैले गर्नसक्छ, हामी सबै धेरथोर मात्रामा पूँजीका स्वामी हौं। पूँजीवादमा मानवीय सम्बन्ध लादिएका हुँदैनन्, बरु ती स्वेच्छिक हुन्छन्। वृद्धिको अवसर सबैका लागि खुला हुन्छ, मानिसलाई न्यायोचित र समान व्यवहार गरिन्छ। शोषण, ठगी र हिंसा वर्जित गरिन्छ। त्यसैले पूँजीवादी समाज नै सबैभन्दा खुला, सामाजिक रुपमा गतिशील र न्यून वर्गीय विभाजन हुन्छ।
म्याथू गोल्डवर्ग आर्थिक कुशलताका लागि मात्र होइन, सामाजिक न्याय र समावेशिताका लागि पनि समाजवाद भन्दा पूँजीवाद उत्तम हो भन्न पछि पर्दैनन्। नेपालका अर्थविद् डा. भोलनाथ चालिसे त कतिसम्म भन्थे भने, वैयक्तिक स्वतन्त्रता विस्तार र अवसर उपयोगमा राज्यले कुनै तगारो लगाउन सक्दैन, त्यो वैयक्तिक प्राज्ञ र क्षमता नैसर्गिक हो।
दुवै विचार अति जस्ता लाग्न सक्छन्। वर्गविहीन साम्यवादी समाज वा निजत्वले उन्मुक्ति पाएको स्वतन्त्र समाज दुवैमा राज्यलाई अन्तिम सत्यमा स्विकारिंदैन। तर पनि राज्य छ र नागरिक जिम्मेवारीको सामाजिक अभिभावकत्व लिइरहेको छ। त्यसैले ती दुवै अति हुन्। जब पूँजीको स्वामी बन्ने वैयक्तिक चाखले धेरै प्रश्रय पाउँछ, त्यो अनुपयुक्त र छाडा हुन बेर लाग्दैन। बढी नियन्त्रणले पनि निजी उत्साह र नवप्रवर्तनलाई सखाप पार्न सक्छ। त्यसैले उत्पादनका साधनको सामाजिकीकरण गर्ने, सामाजिक स्वामित्व विस्तार गर्ने, साधन विनियोजनमा सामाजिक सङ्केत टिप्ने, वितरण, उपभोग लगायतका पक्षमा सामाजिक पक्षलाई महत्व दिने काम समाजवादी हो।
वैयक्तिक अवसरको उपयोग गरी समृद्धि विस्तार र त्यसको न्यायपूर्ण वितरण समाजवादी दृष्टिकोण हो। अवसर वितरणमा समन्यायको प्रत्याभूति राज्यको काम हो, त्यसो गर्नु समाजवादी हुनु हो। अवसर उपयोग मार्फत क्षमताले आर्जन गर्ने उद्यमले समृद्धि निर्माण गर्छ र लक्षित वर्गमा वितरण गर्न सकिन्छ। थोमस पिकेटी र नोम चाउस्की त्यसो नभएर नवउदारवादको आलोचक बने।
युरोपमा विकास भएको लोककल्याणकारिता, सामाजिक सुरक्षा र सामाजिक न्यायले व्यावहारिक रुपमा समाजवादलाई स्वीकार्छ। ननकम्युनिष्ट मेनिफेस्टोपछिको योजना प्रणाली, सामाजिक सुरक्षाको प्रत्याभूति र राज्य नेतृत्वको विकास २०औं शताब्दीको समाजवादी ढाँचा थियो। समाजवाद सबै लोकतान्त्रिक मुलुकहरुको साझा अजेण्डा हो। फरक यति हो, आयको वितरण मार्फत समतामूलक समाज प्राप्त गर्न सकिन्छ भन्ने मान्यता वामपन्थी धार (समाजवादी) मा पाइन्छ भने खुला र आदर्श बजार संयन्त्र मार्फत सामाजिक न्याय पाउन सकिन्छ भन्ने उदारवादी धार (लोकतान्त्रिक) को मान्यता छ। दुवै विचारधाराले स्विकारेको कुरा के हो भने, कानूनी राज्यको प्रत्याभूति, मानव अधिकार, वैयक्तिक खुसी र मानव कल्याणका सुरक्षा कवच सामाजिक न्यायका लागि अपरिहार्य छन्।
२१औं शताब्दीमा आइपुग्दा समाजवादको भाष्यमा परिमार्जन आएको छ। किनकि यो शताब्दी लाग्दा नलाग्दै लोकतन्त्रलाई सामाजिकीकरण गर्ने विषयले महत्व पायो। अब लोकतन्त्रलाई राजनीतिक र कानूनी रुपमा मात्र अभ्यास गरेर, वितरण गरेर नपुग्ने भयो, लोकतन्त्रलाई व्यावहारिक रुपमैै अभ्यास गर्न आर्थिक संरचना, सामाजिक अवसर र राजकीय अभ्यासहरुलाई एकमुष्ट रुपमा लिएर सबै नागरिकलाई खुशी बनाउन पर्यो। त्यसैले उदारवादी लोकतान्त्रिकहरु सामाजिक सुधारका प्रगतिशील मुद्दा उठाइरहेका छन्।
२१औं शताब्दीमा आइपुग्दा समाजवादको भाष्यमा परिमार्जन आएको छ। किनकि यो शताब्दी लाग्दा नलाग्दै लोकतन्त्रलाई सामाजिकीकरण गर्ने विषयले महत्व पायो। अब लोकतन्त्रलाई राजनीतिक र कानूनी रुपमा मात्र अभ्यास गरेर, वितरण गरेर नपुग्ने भयो, लोकतन्त्रलाई व्यावहारिक रुपमै अभ्यास गर्न आर्थिक संरचना, सामाजिक अवसर र राजकीय अभ्यासहरुलाई एकमुष्ट रुपमा लिएर सबै नागरिकलाई खुशी बनाउन पर्यो।
उत्तरी युरोपका स्केण्डीभिएन मुलुक र फिनल्याण्डमा समाजवादी अर्थतन्त्रको व्यावहारिक अभ्यास छ। त्यहींका बासिन्दा संसारका सबैभन्दा खुशी छन्, वैयक्तिक सम्पत्तिप्रतिको ठूलो आशक्ति पनि पाइँदैन, राज्य निजी स्वतन्त्रताको प्रवर्द्धक पनि बनिरहेकै छ। अर्थशास्त्री रुड्ली वाल्कोका अनुसार यो अवस्था पूँजीवादी अर्थतन्त्र सुधारका पक्षमा लगातार युद्धको परिणाम हो। स्वेडिस अर्थतन्त्र व्यावहारवादी समाजवादको राम्रो उदाहरण हो, जसलाई ‘वाटिक समाजवाद’ भनिन्छ। अर्थशास्त्री वाल्कोका अनुसार, समाजवादी अर्थतन्त्रकोे स्वेडिस ढाँचा निजी स्वतन्त्रतालाई रक्षा गर्दै सामाजिक न्याय र लोकतन्त्र विस्तारमा क्रियाशील छ।
प्रो–पूँजीवादी बेलायती अर्थतन्त्र पनि रेगनोमिक्स र थेचरवादबाट पर पुग्दै विस्तारित राज्यबाट समाजवाद पाउन सकिन्छ भन्ने दिशामा छ। युरोपको व्यावहारिक समाजवाद जे एस मिलको सामाजिक सन्तुष्टिको उपयुक्त वितरण र जोहन रावलका सबै सामाजिक मूल्यहरु त्यसरी विनियोजन गरिनुपर्छ, जबसम्म सबै सर्वसाधारण उपयोगिताका समान लाभदायी बन्दैनन् भन्ने सिद्धान्तमा आधारित छ। यसको विधि भनेको आधारभूत अवसरको पूर्ण प्रत्याभूति हो। त्यसैले शास्त्रीय समाजवाद वा आदर्श बजारवाद व्यवहारमा पाइँदैन।
नियन्त्रित पूँजीवाद र सीमित समाजवादले समृद्धिको निर्माण र वितरण संस्थागत गर्छ। यदि व्यक्तिगत छनोट मात्र हावी हुन्थ्यो भने समाज विघटन भैसक्थ्यो, यदि समूहगत छनोट हावी हुन्थ्यो भने मानव समाज कमिलाको झुण्ड जस्तो हुन्थ्यो भन्ने हार्वर्ड जीवशास्त्री एडवर्ड विल्सनको भनाइ यस सन्दर्भमा पनि उत्तिकै व्यावहारिक छ।
समाजवादको भाष्य परिवर्तनको क्रम अहिले पनि गतिशील छ। विश्वव्यापी रुपमा नै उदारवादी लोकतान्त्रिकहरु सामाजिक सुधारका प्रगतिशील मुद्दाहरु उठाइरहेका छन्। अमेरिकामा डेमोक्रेटिक सिनेटर वर्नी सेन्डर्सले सर्वव्यापी स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ केयर), कलेज तहसम्म निःशुल्क शिक्षा, उच्च तहको न्यूनतम तलब प्रत्याभूतिका मुद्दाहरु राष्ट्रपति निर्वाचनको प्राइमरीमा उठाएका थिए।
सन् २०२० का राष्ट्रपति आकांक्षी एण्ड्र्यू याङले ‘दी वार इन नर्मल पिपुल’ मा मानव केन्द्रित पूँजीवादका नाममा समाजवादको नयाँ दृष्टिकोण अगाडि सारेका छन्। रोजगारी सुरक्षा, सर्वव्यापी आधारभूत सेवा र ‘सर्वव्यापी आय प्रत्याभूति’ (युबीआई) मा आधारित एण्ड्र्यू याङको समाजवादी धारणा अत्याधुनिक व्यवहारवादी अर्थतन्त्रतर्फको प्रवेशविन्दु हो। लोकतन्त्रको वास्तविक लाभांशका लागि १८ वर्ष पुगेका अमेरिकीलाई प्रतिमहीना एक हजार डलरसहित अटोमेशन, कृत्रिम बौद्धिकता लगायत कारणबाट जोखिममा परेका र रोजगारी गुमाएकाहरुलाई थप क्षतिपूर्ति दिई स्वस्थ, प्रवीणतायुक्त, शिक्षित, तनावमुक्त अमेरिकी समाज निर्माण याङको अभीष्ट थियो। यो धेरैका लागि क्रान्तिकारी र छलाङवादी लाग्न सक्छ, तर डेटा, इन्फोटेक र बायोटेकले समाजलाई बेस्सरी प्रभावित पार्नसक्ने अवस्थामा यस खालको व्यवाहारवादी आर्थिक ढाँचा र प्रत्याभूति प्रणाली कसैले नकार्न सक्दैन।
समकालीन विश्वमा समाजवादले राख्ने अर्थ आधारभूत मानवीय आवश्यकता (बेसिक्स) को प्रत्याभूति हो। बेसिक्सका मानवीय, जैविक, सामाजिक र भौतिक सूचकहरु हुन्छन्। किनकि वैयक्तिक स्वतन्त्रता र आधारभूत अवसरको समान प्रत्याभूति समाजवादको वास्तविक अर्थ हो। सर्वसाधारण कामकाजी अर्थ खोज्छन्, न कि शास्त्रीय।
यो वा त्यो वाद भन्दा पनि आर्थिक क्रियाकलापले व्यवस्थित प्रक्रिया नै अपनाएर मानवीय मूल्यलाई न्यूनाङ्कित गर्दै अर्थतन्त्रलाई निमानवीकृत पार्दै लगिएको छ। त्यसैले सर्वव्यापी आय र सामाजिक समृद्धि, सर्वव्यापी स्वास्थ्य र शिक्षा, सामाजिक गतिशीलता र बालबालिकामा व्यापक अवसरको प्रत्याभूति जस्ता संयन्त्रबाट मानव केन्द्रित पूँजीवाद कायम गर्ने याङको अभियान हो। उनका विचार मन पराउनेहरु ‘याङ ग्याङ’ समूह रेडिट, फोरचान, फेसबूक, इन्स्टाग्राम, ट्वीटर लगायत सामाजिक सञ्जाल मार्फत मानवकेन्द्रित समाजवादको अभियानमा छन्। यस्ता अभियानले व्यावहारिकता पाएमा सवसहारान र अफ्रिकाका मानिसहरु अमेरिकाको भन्दा आठ गुणा कम ‘लाइफटाइम अपच्र्यूनिटी’मा जीवन बिताउन बाध्य हुँदैनथे।
समकालीन विश्वमा समाजवादले राख्ने अर्थ आधारभूत मानवीय आवश्यकता (बेसिक्स) को प्रत्याभूति हो। बेसिक्सका मानवीय, जैविक, सामाजिक र भौतिक सूचकहरु हुन्छन्। किनकि वैयक्तिक स्वतन्त्रता र आधारभूत अवसरको समान प्रत्याभूति समाजवादको वास्तविक अर्थ हो। सर्वसाधारण कामकाजी अर्थ खोज्छन्, न कि शास्त्रीय। प्रतिव्यक्ति बेसिक्स कति भन्ने कुरा समाजको अवस्था र स्तर अनुसार हुन्छ। एण्ड्र्यू याङ हजार अमेरिकी डलरको यूबीआईलाई अनिवार्य मान्छन्। तर, नेपाल लगायत मुलुकहरुमा त्यो आवश्यक र सम्भव होइन। जैविक गरीबी सूचकाङ्क अफ्रिकालाई दैनिक २५०० क्यालोरी हुँदा हाम्रा लागि २२०० क्यालोरी काफी हुनसक्छ।
बढ्दै गएको डिजिटल अधिकनायकवाद र अटोमेटेड रोजगारीले मानव समाजलाई कम आँक्दै गएको, केही पुस्तालाई अस्वाभाविक बनाउँदै लगेको र बहुराष्ट्रिय कम्पनीहरुले राष्ट्रिय अर्थतन्त्रलाई अदृश्य रुपमा जकड्याउँदै लगेकाले चालू पुस्तालाई क्षतिपूर्ति र आगामी दिनका लागि सशक्त मानव पूँजी निर्माणको प्रत्याभूतितर्फ समाजवादका व्यावहारिक अजेण्डा केन्द्रित हुनुपर्छ। किनकि अबको समाजवाद भनेको बेसिक्सको सर्वकालिक प्रत्याभूतिसहित समृद्धिको विस्तार र समृद्धिको वितरण हो।