‘पुस १ ले खाइदियाे समान अंश र बहुविवाहविरुद्धको विधेयक’
कमल राणा (९२), २०१६ सालमा नेपालको पहिलो संसदको माथिल्लो सदन महासभाको उपाध्यक्ष थिइन्। उनी महासभामा राजा महेन्द्रबाट मनोनित थिइन्। १९८५ सालमा पाल्पाको तानसेनमा जन्मिएकी राणाले हिमालखबरसँग राजा महेन्द्रले संसद विघटन गरेको दिन १ पुस २०१७ को सम्झना टेलिफोनमा यसरी सुनाइन्-
त्यो दिन संसद बैठक थिएन। म घरमै थिएँ। यस्तै हुन्छ भन्ने मलाई अगाडि नै थाहा थिएन। एकै चौटी ‘प्रधानमन्त्रीदेखि सबैलाई थुन्यो रे’ भन्ने हल्ला हुन थाल्यो। बाहिर सडक सुनसान भयो।
१०/१२ दिन जति म बाहिर नै निस्किनँ। घरमा आउने जाने पनि कोही भएन। कति कुरा त बिर्सिसकेँछु।
(एकछिन सम्झन्छु है। तपाईले सोधेपछि पो अलि अलि याद गर्न थालेँ।)
त्यो बेला अहिलेको जस्तो मोबाइल हुँदैनथ्यो। घरमा फोन त थियो तर त्यो पनि काटिएको जस्तो लाग्छ। सबैलाई थुन्यो भन्ने हल्ला भएपछि बुबा र भाइ मलाई खोज्न सिंहदरबार गएका रहेछन्। सिंहदरबारमा मेरो कोठा (कार्यकक्ष) मा केही सामान थिए। किताब र एउटा रेडियो चाहिँ त्यहाँको कर्मचारीले बुबा र भाइलाई पठाइदिएछन्।
बीपी बाबु (तत्कालीन प्रधानमन्त्री बीपी कोइराला) कता हो, भाषण गर्दैगर्दा पक्राउ पर्नुभयो भन्ने पनि एकछिन पछि सुनेँ। उहाँसहित नेपाली कांग्रेस र गोरखा परिषद्का थुपै्र नेता र सांसदलाई पुलिसले समातेर लगेको थियो। म भने बाहिर निस्किनँ।
पहिलो संसद, सबै नयाँ। जोश जाँगर नै बेग्लै थियो। जितेर आउनेहरुको दुई वर्ष पनि भएको थिएन। मनोनीत हुनेहरुलाई पनि कही गर्नुपर्छ भन्ने थियो। छलफल पनि हुन्थ्यो। तर, एकाएक के भयो के? दुई चार दिनअघिदेखि भने मलाई पनि अब यो संसद चल्दैन भन्ने लागेको थियो।
त्यो बेला बिहान महासभा बस्थ्यो, दिउँसो प्रतिनिधिसभाको बैठक। दुवै बैठक एउटै हलमा बस्ने हुँदा यसरी समय मिलाइएको थियो। त्यतिबेला प्रतिनिधिसभामा द्ववारिकादेवी ठकुरानी र महासभामा म गरी दुई जना मात्र महिला थियौँ। उहाँ त स्वास्थ्य सहायक मन्त्री पनि हुनुभयो। म उपाध्यक्ष भएँ। त्यसैले हामी दुवै जनाको बेग्लै पहिचान थियो।
मलाई चाहिँ महिलाका लागि केही कानून बनाउनुपर्छ भन्ने सांसद भएदेखि नै लाग्थ्यो। त्यही भएर मैले एउटा विधेयक लगेँ। त्यो विधेयकमा छोरा जत्तिकै अंश छोरीले पाउनुपर्छ र लोग्ने मान्छेहरुले बहुविवाह गर्नु हुँदैन भन्ने थियो। त्यसमा छोरीको छिट्टै बिहे गर्दिनुहुँदैन भन्ने पनि थियो जस्तो लाग्छ।
त्यतिबेला त्यस्तो विधेयक ल्याउँदा त सांसदहरुले पनि अचम्मै मानेका थिए। संसदमै पास गर्न पनि सकिन्थ्यो तर, यस्तो विधेयक हामीले मात्र पास गर्नुहुँदैन जनमत (जनमत संग्रह) मा पठाउनुपर्छ भनेर पठाएका थियौं।
अहिले त यस्तो विधेयक आयो भने पुरुषहरुले सजिलै पास गर्दैनन् होला भन्ने लाग्छ, उतिबेला के पास हुन दिन्थे? राम्रो विधेयक थियो। तर, जनमतबाट फर्केर आउनै नपाइ संसद विघटन भइहाल्यो।
मलाई सांसद भएपछि पनि ‘उमेर नपुगी सांसद भयो’ भनेर मुद्दा हाले। त्यति बेला म क्याम्पस पढ्दै थिएँ। अपर हाउसमा सांसद हुन ३० वर्षको हुनुपथ्र्योे। त्यतिबेला जन्मदर्ता त मसँग पनि रहेनछ। मुद्दा हालेपछि चाहिँ बुबा पाल्पा पुगेर जन्मदर्ता गरेर ल्याइदिनु भयो।
मुद्दा हाल्ने नेपाली कांग्रेसका कार्यकर्ता थिए। अहिले नाम बिर्सिए। ओहो ! तिनले त धुरुक्कै रुवाएका थिए नि। अहिले त महिलालाई गाह्रो छ, आजभन्दा ६० वर्षअगाडीको कुरा के गर्नु?
मलाई लाग्छ, पुरा अवधि संसद चलेको भए त लडाईँ गरेर पनि राम्रा राम्रा कानुन आउथे होलान्। दुई वर्षै पुग्न पाएन । पुस १ ले सबै कुरा खाइदियो।
प्रस्तुतिः लक्ष्मी बस्नेत