बिग बास खेल्न अष्ट्रेलिया उडे सन्दीप लामिछाने
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी तेस्रोपटक बिग बास खेल्न कतार एअरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन्।
लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले बताए। बिग बास भने गत बिहीबारदेखि नै शुरू भइसकेको छ।
क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरूआती ६ खेल गुमाउनेछन्। यसपटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन्।
लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए। उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए।
उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ। होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो।
हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। उनी हाल कोरोनामुक्त भइसकेका छन्।