नेपालले सिधै टी२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
नेपालले सन् २०२२ मा हुने टी-२० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ। नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ।
टी२० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने भएका हुन्। नेपाल अहिले टी-२० वरियतामा १५औँ स्थानमा छ। नेपालभन्दा माथि १४औँ स्थानमा स्कटल्याण्ड, १३औँ स्थानमा युएई र १२औँ स्थानमा जिम्बाब्बे छन्।
ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन्।
आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी-२० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ। पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन्।
ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली टी-२० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ। यो प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को खेल फेब्रुअरी २०२२ र समूह ‘बी’ को खेल मे २०२२ मा हुनेछ। तर, स्थान भने आईसीसीले तोकेको छैन।
यसअघि सन् २०२० मा अष्ट्रेलियामा विश्वकप हुने तय थियो। त्यसका लागि १६ टिमको टुङ्गो पनि लागिसकेको थियो। तर, कोरोनाभाइरस महामारीका कारण स्थगित भएको हो।
यस्तै २०२१ मा भारतमा अर्को टी२० विश्वकप आयोजना गर्ने तयारी थियो। उक्त विश्वकप भने आयोजना हुने र त्यसमा यसअघि २०२० को विश्वकपमा छनौट भएका देशले नै भाग लिने आईसीसीले जनाएको छ।