सिहालोवादसूत्रः लैंगिक समानताको बुद्ध सूत्र
कतिपयले गौतम बुद्धलाई महिलाप्रति असंवेदनशील र धर्मोपदेशमै विभेद गर्ने अर्का मार्गदर्शक भनेका छन्। तर, बौद्धधर्म मात्र नै यस्तो धर्म हो, जहाँ लैंगिक समानतालाई अनिवार्य आचारव्यवहार मानिएको छ।
‘सिद्धार्थ गौतम सुत्केरी पत्नीलाई घरमा छाडेर जंगल भागेका हुन्’, गौतम बुद्ध बारे सामान्य जानकारी राख्नेमध्ये कतिपयको टिप्पणी यस्तो सुनिन्छ।
कतिपय बौद्ध धर्ममा महिलालाई भेदभाव गरिएको तर्क पनि गर्छन्। र, त्यसैले बुद्ध पनि अरु पन्थका संस्थापकभन्दा भिन्न नरहेको धारणा व्यक्त गर्छन्।
सत्य के हो ? पर्गेल्नु नितान्त आवश्यक छ।
मानव अधिकारको अवधारणाअनुसार, महिला–पुरुष समान छन्। लिंगको आधारमा भेदभाव गरिनु हिंसा हो। तर, बौद्ध धर्मअनुसार भने महिला–पुरुषमात्र होइन, समस्त प्राणी नै समान हुन्, सबैप्रति समताभाव राख्नु पर्दछ।
बौद्ध दर्शनमा कर्मसिद्धान्त लागू हुन्छ। कर्मअनुसार विभिन्न योनिमा जन्म लिने क्रममा एउटै चित्त (विज्ञान) ले मानिस, पशु, पंक्षीलगायतका प्राणी भएर जन्म लिने हुन्।
यही जन्मजन्मान्तरको यात्रालाई नै बुद्धले दुःख भनेका हुन्। बौद्ध धर्मदर्शनको अभिष्ट नै यो दुःखको अन्त्य गर्नु हो। मैत्री तथा करुणा भाव विकास गरी सबै प्राणीलाई समभाव राख्नसक्नु नै बौद्ध धर्म–दर्शनलाई व्यावहारिक जीवनमा उतार्नु हो। प्राणीहरुमध्ये मानव योनि सबैभन्दा उत्कृष्ट मानिने भएका कारण लिंगका आधारमा महिला–पुरुषबीच विभेद नहुनुपर्ने बुझ्न सकिन्छ र बौद्ध साहित्यमा पनि लैंगिक समानताको वकालत गरिएको पाइन्छ।
सुत्केरीलाई घरमा छाडेर सिदार्थ गौतम राति घरबाट सटुक्क भागेको भन्ने कथन प्रचलित भएपनि ‘त्रिपिटक’अन्तर्गतको ‘सुत्तनिपात’मा युद्धको भयावह स्थिति टार्न नसकेपछि घरपरिवारलाई छाडेर निस्कनु परेको बुद्धको आफ्नै शब्दमा उल्लेख गरिएको छ। पछि आफू पनि गृहत्याग गरी भिक्षुणी बनेकी बुद्ध पत्नी यशोधराले आफ्नो बारे बताएका कुरा पनि ‘त्रिपिटक’अन्तर्गतकै अर्को ग्रन्थ ‘थेरीगाथा’मा संकलित छ।
ग्रन्थका अनुसार, सिदार्थ गौतम सुटुक्क भागेका थिएनन्, बरु सुत्केरी पत्नीलाई घरमा आमाबाबुको जिम्मा लगाई गृहस्थ जीवन त्याग गरेका थिए। बौद्ध साहित्यहरुमा पनि बोधिसत्वका रुपमा गौतम बुद्धले बिताएका प्रत्येक जीवनहरुमा यशोधरा सहधर्मिणीका रुपमा रहेकी उल्लेख छ। सुत्केरी र शिशुलाई हेर्नुपर्ने अवस्थामा घर छाड्नु पक्कै पनि संवेदनशील पक्ष हो तर यो विशेष राजनीतिक परिस्थितिको उपज भनेर पनि बुझ्न सकिन्छ।
महिलाहरु धर्मका अधिकारी होइनन् भन्ने अवधारणाविरुद्ध गौतम बुद्धले महिलालाई पनि विना व्यवधान धर्म उपदेश दिएका थिए। बुद्धबाट उपदेश सुन्ने प्रथम महिलामा भिक्षु यशकुुमारकी आमा र पत्नी थिइन्। बुुद्धको धर्म उपदेश सुनेर धर्मलाभ गर्ने महिलाको उल्लेख बौद्ध साहित्यमा प्रसस्त पाइन्छ।
सुरुमा भिक्षु संघ मात्रै थियो र आमा प्रजापति गौतमीले कपिलवस्तुमा आफूूलाई भिक्षुुणी बनाउन आग्रह गर्दा बुद्धले अस्वीकार गरेको घटनालाई लिएर भेदभाव गरिएको भनी टिप्पणी पनि गरिन्छ। संघको स्थापना नै भर्खरै मात्र भएको अवस्थामा भिक्षुुणी संघ सुरु गरिहाल्नु उचित नभएको स्थितिबोध बुद्धलाई भएको अनुमान गर्न सकिन्छ।
भिक्षु र भिक्षुणी बीचका कतिपय नियम बुद्ध स्वयंले बनाएको नभइ पछि थपिएको हुनसक्ने आशंका गरिन्छ, जुन छलफल र अनुसन्धानको विषय हो।
जैन धर्ममा भएको भिक्षुुणी परम्परा र त्यहाँको अव्यवस्थाबारे बुद्ध अनभिज्ञ थिएनन्। पुरुषले जसरी नै महिलाले पनि समान रुपमा धर्मको अभ्यास र धर्मलाभ गर्न सक्षम हुने आधारमा नै पछि भिक्षुणी संघ स्थापना भयो।
भिक्षुणी संघको स्थापना गर्दा बुद्धले भिक्षुभन्दा भिक्षुुणीलाई बढी नियम निर्दिष्ट गरिनुमा कतिपय कारण महिला र पुरुषको शारीरिक संरचनामा भएको भिन्नता प्रमुख देखिन्छ। भर्खर भिक्षु बनेकालाई पनि भिक्षुणीले आदर गर्नु पर्ने नियम जन्म, उमेर वा व्यक्तिगत हिसाबका कारण नभइ संघको ज्येष्ठतामा आधारित भएको बुझ्न सकिन्छ।
भिक्षु र भिक्षुणी बीचका कतिपय नियम बुद्ध स्वयंले बनाएको नभइ पछि थपिएको हुनसक्ने आशंका गरिन्छ, जुन छलफल र अनुसन्धानको विषय हो।
सिहालोवादसूत्र
राजनीतिमा महिलाको पनि प्रभावकारी भूमिका हुनसक्ने सम्बन्धमा कोशल नरेश प्रसेनजीतलाई दिएको उपदेश मननीय छ। यसरी नै घरव्यवहार चलाउने सम्बन्धमा ‘सिहालोवादसूत्र’मा महिला र पुरुषको जिम्मेवारी छुट्टाछुु्ट्टै उल्लेख गरेपनि ती एकअर्कासँग सहअस्तित्वमा आधारित र श्रम विभाजन देखिन्छ।
महिलालाई गा¥हो सा¥हो कामको जिम्मा नदिई उपयुक्त जिम्मेवारी दिनुपर्ने उपदेशलाई अन्यथा लिनु मनासिव हुँदैन। महिला–पु्रुषबीच एकअर्कालाई हेप्न नहुने तथा आदरसम्मान गर्नु पर्ने कुरा पनि यो सूत्रमा परेको छ। ‘लैंगिक हिंसा’ विरुद्ध बुद्धका उपदेशहरु रहेको सिहालोवादसूत्रलाई ‘लैंगिक समानता’को राम्रो दस्तावेज पनि भन्न सकिन्छ।
बुुद्धत्व प्राप्तिअघिका बोधिचर्या गर्ने जीवनलाई साधारणतः ‘बोधिसत्व’ भनिन्छ। यसलाई अत्यन्त कठिन कार्य मानिन्छ तर महिलाहरुले पनि बोधिचर्या गर्न सक्छन् भन्ने जातक कथाहरुमा पाइन्छ।
गौतम बुद्धले दश–बाह्र पटक महिलाको रुपमा जन्म लिएर बोधिसत्व जीवन बिताएका थिए। तर, अहिलेसम्म महिलाहरु बुद्ध बनेको घटना पाइँदैन। पूर्वजन्म (बोधिसत्व)हरुमा महिला–पुुरुष वा ज्ुनसुकै योनिमा जन्म लिएको भएपनि बुद्ध हुने बेलामा मानव योनिमा नै जन्म लिएको हुनुपर्ने कुरा त बुझिन्छ तर पुरुष लिंग नै हुनुु पर्ने उल्लेख पाइनुको औचित्य पुष्टि हुँदैन। यस प्रसंगमा पनि छलफल गर्न सकिन्छ।
अहिलेको समाजमा चिन्तन–मनन गरिने ‘लैंगिक समानता’ वा ‘लैंगिक हिंसाविरुद्धको अभियान’ बौद्ध धर्मदर्शनकै विषयवस्तु हुन्। र, कम्तीमा पनि आफूलाई बुद्ध अनुयायी ठान्नेहरुले यसलाई पालना गर्नुको विकल्प छैन।
मान्छे नै भए पनि बुद्धत्व प्राप्त गरेपछि उसमा मनुुष्यभावको अन्त्य स्वतः भइसक्ने कुुरा विभिन्न प्रसङ्गमा उल्लेख भएका छन्। कपिलवस्तुमा बाबु शुुद्धोधनसँगको सम्वादमा ‘शाक्यकुल’ अब आफ्नो नभएर बरु ‘बुद्धकुुल’ अनुसार हिड्नु परेको भनेर जवाफ दिनुले पनि गहन अर्थ बोक्दछ। द्रोण नामका ब्राह्मणले गौतम बुद्ध देखेर आश्चर्य हुँदै मनुुष्य, यक्ष, देवता, आदिमध्ये को हौं भनि प्रश्न गर्दा बुद्धले आफू ती पहिचानसँग सम्बन्धित नभएको र आफूलाई ‘बुुद्ध’ भनेर जान्नू भनी दिएको जवाफ अर्थपूूर्ण छ। यो अवस्थामा बुद्ध महिला हुन् कि पुुरुष भन्ने प्रश्न पनि गौण लाग्छ।
महिलाको मानवीय अस्तित्वलाई धर्मले संकुुचन गरेको वा सम्बोधन नगरेको भन्ने सन्दर्भमा बौद्ध धर्मलाई अपवादका रुपमा लिन सकिन्छ। कुनै पनि प्रकारको भेदभावपूूर्ण व्यवहारलाई बौद्ध दर्शनमा स्वतः ‘हिंसा’ र स्वयंमा अकर्मण्यका रुपमा परिभाषित गरिएका हुनाले बौद्ध धर्ममा लैंगिक हिंसाको प्रश्न उठ्दैन।
यसो पनि भन्न सकिन्छ, अहिलेको समाजमा चिन्तन–मनन गरिने ‘लैंगिक समानता’ वा ‘लैंगिक हिंसाविरुद्धको अभियान’ बौद्ध धर्मदर्शनकै विषयवस्तु हुन्। र, कम्तीमा पनि आफूलाई बुद्ध अनुयायी ठान्नेहरुले यसलाई पालना गर्नुको विकल्प छैन।