बिर्सिएको त्यो ब्रुनाई विद्रोह
२३ वर्षअघि आजकै दिन १५ डिसेम्बर १९९७ मा ब्रुनाईमा कार्यरत हामी ‘गोर्खाली विद्रोही’लाई नेपाल फर्काइएको थियो। धेरैले त त्यो घटना र्बिसिसके तर परदेशमा देश र अन्यायका खातिर गोर्खालीको त्यो विद्रोहलाई इतिहासले भने भुल्नुहुँदैन।
सन् १९९६ सेप्टेम्बरको एक साँझ। बेलायती र ब्रुनाईका सैनिक अफिसरहरुद्धारा सताइएका हामी केही गोर्खा सैनिकहरु आफ्ना समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर सैन्यशिविरमै छलफलका लागि भेला भएका थियौं।
हामी थियौं, पुरञ्जन राई, गजेन्द इस्बो, नरेन राई र म। हामीलाई उचित तलब, पेन्सन नदिइएको, निःशुल्क खाना पनि उपलब्ध नगराइएको र थप दुर्व्यवहार पनि गरिएको हाम्रो गुनासो थियो।
ब्रुनाईमा खटाइने सुरक्षा अधिकारीहरुलाई बेलायती सेनाले नभई नेपाल र ब्रुनाईबीचको छुट्टै सन्धीद्वारा नियमन गरिनुपर्ने आवश्यकता पनि हामीले महशुस गर्यौं।
छलफलपछि हामीले एउटा आन्दोलन सञ्चालक समिति र उपसमितिहरु पनि गठन गर्यौँ। यो हाम्रो अभियानमा ब्रुनाईमा कार्यरत २५०० गोर्खा सैनिकमध्ये करिब २४०० जनाले लिखित सहमति समेत व्यक्त गरे।
आफ्ना समस्याका लागि हामीले आफूभन्दा माथिल्ला अधिकारीहरु वार्ता थाल्यौँ र केही वरिष्ठ अफिसरहरुलाई बहिष्कार गर्ने रणनीति अपनायौं। हाम्रो एउटा माग १६ वर्ष पुरानो गोर्खा रिजर्भ युनिट (जीआरयू) लाई विघटन गरी सेक्युरिटी गार्डमा परिवर्तन गर्नु थियो। हामीले त्यसका लागि लिखित ध्यानाकर्षण पनि गरायौं तर महीनौं बितिसक्दा पनि कुनै उपलब्धि हात लागेन।
अचानक एक मध्यरातमा, गोर्खा अफिसरहरुले आफ्ना सबै हातहतियार ब्रुनाई सरकारलाई बुझायौं। हामी सुरक्षा दस्तामा परिणत भयौँ। यद्यपि, तलब-सुविधा वृद्धि, केही अहंकारी सिनियर अफिसरका दुव्र्यवहार अन्त्यजस्ता हाम्रा मागमा सम्बोधन हुनैं बाँकी थियो। तर, यसले नेपालीहरु अन्याय र दमन सहन सक्दैनन् भन्ने शिक्षा अधिकृतहरुलाई दिलाएको थियो।
नभन्दै मेरो अनुमान सही ठहरियो। हामी नेतृत्वकर्ता ११ जनालाई गोर्खा सैनिकलाई भडकाउने व्यक्ति ठहर गर्दै गोप्यरुपमा सैन्यसेवाबाट जर्बजस्ती बर्खास्त गरियो। र, बाँकी गोर्खा सैनिकहरुलाई यसबारे कुनै संकेतसम्म नदिई हामीलाई नेपालका नेपाल फर्काइने गरी विमानस्थलमा उडानको व्यवस्था गरियो। त्यो २६ मार्च १९९७ को रात थियो।
हामी एक हिसाबले उम्लिरहेको मनस्थितीमा थियौं। सैनिक अफिसरहरुमा दबाब बढिरहेको थियो। सैन्य अनुशासनका हिसाबले यसले एकखाले विद्रोहकै स्वरुप लिनसक्ने अवस्था थियो।
एक साँझ मैले सहकर्मी गोर्खा सैनिकको भेलामा स्थितीको मुल्यांकन गर्दै आफूहरुमाथि जुनसुकै बेला जे पनि हुन सक्ने, र नेतृत्वकर्ता केहीलाई हिरासतमा समेत लिइन सक्ने सम्भावनाबारे मन्तव्य दिए।
नभन्दै मेरो अनुमान सही ठहरियो। हामी नेतृत्वकर्ता ११ जनालाई गोर्खा सैनिकलाई भडकाउने व्यक्ति ठहर गर्दै गोप्यरुपमा सैन्यसेवाबाट जर्बजस्ती बर्खास्त गरियो। र, बाँकी गोर्खा सैनिकहरुलाई यसबारे कुनै संकेतसम्म नदिई हामीलाई नेपालका नेपाल फर्काइने गरी विमानस्थलमा उडानको व्यवस्था गरियो। त्यो २६ मार्च १९९७ को रात थियो।
हामी ब्रुनाईको विमानस्थलमा नेपालका लागि फ्लाइट पर्खिरहेका थियौं। तर, शिविरमा त हामीलाई सेवाबाट बर्खास्त गरिएको र नेपाल पठाइन लागेको खबर फैलिइसकेछ। त्यसपछि गोर्खा सैनिकहरुले सैन्य मुख्यालयलाई घेरा हालेछन् र आफ्ना नेताहरुलाई फिर्ता बोलाउन या सबैलाई एकसाथ बर्खास्त गर्न माग गरेछन्। मुख्यालयले भिडन्त र हुलदंगाको आँकलन गर्दै दंगा प्रहरीलाई समेत बोलाइसकेको रहेछ।
केहीघण्टापछि अचानक ब्रुनाई सरकारका स्थायी सचिव (सुल्तानका जेठान) हतारहतार विमानस्थल आइपुगे। उनले मलाई केही प्रश्नहरु सोधे। मेरो कुरा सुनिसकेपछि उनले सैन्य आवासगृहमा गएर प्रदर्शनकारी गोर्खा सैनिकहरुलाई सम्झाइदिन सक्छौं भनि आग्रह गरे।
जवाफमा मैले आफ्नो आफूहरु पूर्ववत् रुपमा काममा फर्कने सक्ने र आफ्ना सहकर्मी सैनिकहरुमाझ मन्तव्य राख्ने शर्तमा उनको प्रस्ताव मान्ने बताए। त्यसका लागि उनी तयार देखिए। र, मसँगै दुई नेपाली साथीहरुलाई उनकै मर्सिडिज बेञ्चमा राखेर शिविरतर्फ लगे।
हामी पुग्दा गोर्खा सैनिकहरु ठूला ठूला स्वरमा नाराबाजी गरिरहेका थिए। म गाडीबाट उत्रिए र सबैको ध्यानाकर्षण गर्दै सबैलाई ब्रुनाई सरकारका अधिकृतहरुले आफूहरुको माग पूरा गर्न सम्बोधन गर्न तयार भएको भन्दैं अनुशासित भइ आआफ्नो आवासतर्फ जान आग्रह गरे। यदि आफूहरुमाथि धोका भएमा पुनः संगठित भई आन्दोलन गर्ने पनि बताए।
मेरो मन्तव्यपछि प्रदर्शनकारी एकदम शान्त भए र आग्रह गरेजस्तै आआफ्नो बाटो लाग। गोर्खा सैनिकको अनुशासन र आज्ञाकारी भावना देखेर स्थायी सचिव पनि चकित परे। हाम्रा विषयमा अधिकृतहरुसँग उनको विमति देखियो। त्यसपछि उनले हामी सबैलाई जिम हलमा भेला गर्न हुन निर्देशन दिए।
उनले त्यहाँ आफूले भर्खरै जीआरयूका बेलायती अफिसर इन्चार्ज कर्णेल एफ डी स्कटसनलाई बर्खास्त गरेको बताए। उनै स्कटसन– जो हाम्रा मागका प्रमुख विरोधी थिए। त्यसपछि उनले सुरक्षा दस्ताको माग सम्बोधन भएको बताउँदै बाँकी माग पनि समाधान गरिने बचन दिए।
त्यसपछि हामीले हाम्रा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्यौं। र, पहिलेजस्तै काममा फर्कियौं। केही महीनासम्म स्थिती सामान्य नै थियो। तर, केही गोर्खा सैनिकहरुले आफ्नो पदोन्नति विषयमा अधिकारीहरुलाई चुनौती दिन थाले। यो प्रकरण सैन्य अधिकारीलाई हामी आन्दोलनकारीसँग बदला लिने गतिलो अवसर बन्यो। उनीहरुले हामी ११ जना आन्दोलनका नेतृत्वकर्तालाई बर्खास्तगीको शर्त राखे। हामीले पनि उनीहरुको शर्त स्वकार्न मञ्जुर ग¥यौं। किनकि यदि ब्रुनाईले गोर्खा युनिट बन्द गरे पछिका धेरै गोर्खाली सैनिकलाई समस्या पर्न सक्दथ्यो।
सेप्टेम्बरपछिका १५ महीनामा, जीआरयू गोर्खा सेक्युरिटी गार्डमा परिणत भयो। हाम्रा मागकै कारण इतिहासको एउटा दुर्लभ सैनिक विद्रोह सफलतामा परिणत भयो। यो किनपनि सम्भव भयो भने, हामी गोर्खा सैनिक शिक्षित, राष्ट्रवादी, साहसी अनि न्याय र आफ्ना सिद्धान्तका खातिर आफूलाई जोखिममा राख्न तयार थियौं। हामीले नेपालको सार्वभौमसत्ता जोगायौं।
यसरी हामी आजकै दिन १५ डिसेम्बर १९९७ मा शिर ठाडो पारेर ब्रुनाईबाट नेपाल फर्कियौं।
आज हामी फर्किएको पनि २३ वर्ष पुगिसकेको छ। अहिले पनि ब्रुनाईमा जीआरयूका रुपमा ब्रुनाई सुरक्षा गार्ड सञ्चालनमै छ। तर, नेपालीहरुलाई त्यहाँ भर्ती गर्न बेलायती सैनिकको संलग्नता रोकिएको छैन। त्यसका लागि नेपाल र ब्रुनाईबीचको सन्धी हुनै बाँकी छ।
सन् १९७४ मा पहिलोपटक ब्रुनाईमा ब्रुनाई फोर्सका रुपमा २७ जना सेवानिवृत्त बेलायती गोर्खा सैनिकसहितको सुरक्षा बल गठन गरिएको थियो। स्थापनाकालमा गोर्खा सेक्युरिटी गार्ड नाम दिइएको यो बललाई सन् १९८१ मा ब्रुनाई र बेलायती सरकारको सम्झौतामा जीआरयू नाम दिइयो, जहाँ गोर्खा सैनिक सुरक्षा गार्डका रुपमा नभइ नियमित सैनिकका रुपमा काम गर्न बाध्य पारियो।
जीआरयू बनेयता ब्रुनाई सरकारले आफ्नो सुरक्षाबललाई थप सृदृढ बनाउन थाल्यो। सन् १९९६ सम्ममा जीआयूमा गोर्खा सैनिकको संख्या २५०० भन्दा बढी थियो, जुन बेलायती सेनाको एउटा ब्रिगेडभन्दा ठूलो थियो।
म सन् १९९६ को मे महीनामा म बेलायती गोर्खा सैनिकको रुपमा जीआयू भर्ना भएको थियो। तर, मेरो सम्झौतापत्रमा भने सेक्युरिटी गार्ड लेखिएको थियो। तर, हामी थल सेनाका रुपमा काम गर्न बाध्य थियौं।
मजस्तै जीआरयूका अधिकांश भूतपूर्व बेलायती सैनिकको उमेर ४५ वर्षभन्दा माथिको थियो। तर, कामको प्रकृति भने ज्यादै दयनिय। शिविरमा ब्याटल फिटनेस टेष्ट (बीएफटी) र कम्ब्याक्ट फिटनेस टेष्ट (सीएफटी) का लागि अत्याधुनिक स्वचालित ठूला हतियारसहित कडा शारीरिक परिश्रम गर्न लगाइन्थ्यो। सधैंजसो पानी पर्ने घना जंगलमा पनि हप्तौसम्म कसरतका लागि पठाइन्थ्यो।
हामीमध्ये केही गोर्खा सैनिक यही कडा सैन्य अभ्यासका क्रममै मरेका थिए। तर, बेलायती सरकारले हामी प्रत्येक गोर्खा सैनिकको मासिक तलब २५०० ब्रुनाई डलर (१८७० अमेरिकी डलर) असुल्थ्यो, जबकि हामीलाई भने मासिक ११०० ब्रुनाई डलर मात्र दिइन्थ्यो।
त्यसो त बेलायतले २०५ वर्षदेखि नै गोर्खा सैनिकको व्यापार गरिरहेको छ। जहाँनिया राणा शासकले गोर्खा सैनिकलाई बेलायतसँगको कुटनीतिको महत्वपूर्ण साधन नै बनाए।
बेलायती गोर्खा सैनिकबारे गहन अध्ययन गरेकी मेरी डेस चेनले त लेखेकी नै छिन्– नेपालको इतिहासको महत्वपूर्ण घँडीमा गोर्खाहरुलाई बेचिएको छ, उनीहरमाथि व्यापार गरिएको छ। गोर्खाहरु अन्तर्राष्ट्रिय कुटनीतिको मुद्रा बन्दै आएका छन्।
सिंगापुरको गोर्खा कन्टिन्जेन्टमा २००० नेपाली युवा प्रहरीका रुपमा काम गर्छन्। सन् १९४९ मै स्थापना गरिएको यो कन्टिन्जेन्टका सम्बन्धमा पनि नेपाल र सिंगापुरबीच कुनै सहमति भएको छैन। बेलायती सैनिकले नै सिंगापुर सरकारको आग्रहमा नेपालीलाई भर्ती गरिरहेको छ।
नेपालीलाई तेस्रो देशमा सेवामा लगाउने आधिकारिताका बेलायतलाई कसले दियो ? नहुनुपर्ने यो कुरा किन अझैं भइरहेको छ ? पटकपटक विभिन्न पार्टीका लोकतान्त्रिक सरकारले पनि किन यसप्रति आँखा चिम्लिरहेका छन् ? किन कसैको चासोमा सार्वभौमिकताको यत्रो ठूलो मुद्दा परिरहेको छैन ?
सन् १९९० को दशकसम्म बेलायतमा गोर्खा सैनिकलाई राखिए झैं अहिले पनि सिंगापुरमा रहेको गोर्खाहरुलाई विदेशी अन्तःक्षेत्रमा राखिन्छ। तर, तिमध्ये अधिकांश करिब १५०० गोर्खा सैनिकका युवा, पढेलेखेका श्रीमतिहरुलाई अहिले पनि त्यहाँ काम गर्ने सुविधा छैन।
जीआरयूमा १५ जना भूतपूर्व गोर्खा मेजर र करिब ५० जना भूतपूर्व क्याप्टेन कार्यरत् थिए। उनीहरुको सेवासुविधा राम्रै भए पनि हैसियत भने त्यहाँका सेकेण्ड लेफ्टििनेन्टको भन्दा तलको हुने गर्दथ्यो। अधिकांश गोर्खा अफिसरहरुलाई बेलायती र ब्रुनाईका अफिसरहरुका चाटुकारका रुपमा चिनिन्थे। मनमौजी नियम लादिन्थ्यो। बेलायती सेनाको अनुशासन र नियम सिकेर यहाँ काम गर्न आएकाहरु अन्योलमा पर्दथे। अफिसर आफ्नो जवानहरुलाई कुनै सम्मान गर्दैनथे।
तर, सम्पूर्ण गोर्खा सैनिकका लागि ह्रदय पोल्ने कुरा चाँहि आजको युगमा पनि एउटा देशको नागरिक अर्को देशको रक्षाका लागि जीवन आहुति दिनु नै हो। एउटा सार्वभौम र स्वतन्त्र देश बेलायतले अर्को सार्वभौम देश नेपालबाट सैनिक भर्ति लिने र ब्रुनाइजस्तो अर्को उस्तै देशमा काममा लगाउने कुरा सुन्दै पनि हदैसम्मको असंगत कुरा हो। तर, यो कुराले कहिल्यै नेपाली बौद्धिक, इतिहासकारलाई पोलेको छैन। हामी त नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको स्वतन्त्र र सार्वभौमसत्ता देश भन्दैं बरोबर गौरव गरिरहन्छौं।
तर, इतिहासको अर्को सत्य के हो भने सन् १८१६ को सुगौली सन्धीपछि पनि भारतमा रहेका बेलायती शासकले नेपाललाई कहिल्यै सार्वभौमसत्ता सम्पन्न देशको व्यवहार गरेन। सन् १९२३ मा जब चन्द्रशमशेरले बेलायतसँग मैत्रीपूर्ण सन्धी गरे पछि मात्र नेपालले सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको मान्यता पाएको हो।
(कन्दङ्वाले ‘नेपाल–बेलायत सम्बन्ध र गोर्खा सैनिक’ विषयमा विद्यावारिधि गरेका छन्।)