रामचन्द्र पौडेल भन्छन्- 'पञ्चायतमा रुख रोप्दा टाउको फुटाउँथे, कम्युनिष्टहरूले पुल बनाउँदा करङ भाँचिदिए'
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताएका छन्। सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताए।
लोकतन्त्रमाथि प्रहार गर्नेहरुमा प्रतिगामी तत्व (राजावादी) दोस्रो र विप्लव माओवादी तेस्रो रहेको पनि उनले बताए। उनले भने, "संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिष्टले गर्दैछ। दोस्रो प्रहार देशका प्रतिगामी तत्वहरुले गर्दैछन् र तेस्रो प्रहार हिजो कै माओवादी भित्रका विप्लबले गर्दैछन्। यी सबै तत्वहरु लोकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने, लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हुन्।"
वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु नै लोकतन्त्रवादी नभएकाले जनताले दुःख पाइरहेको बताए। अलोकतान्त्रवादीहरुले सरकार चलाइरहेकाले लोकतन्त्र संकटमा पार्न खोजिएको बताए। तर नेपाली कांग्रेस रहँदासम्म लोकतन्त्रलाई संकटमा पार्न नदिनेसमेत वरिष्ठ नेता पौडेलले बताए। "देशमा यत्रो ठूलो संघर्ष गरेर आएको लोकतान्त्रिक व्यवस्था छ। तर यो लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु लोकतन्त्रवादी छैनन्। यिनको दर्शन, यिनको सिद्धान्त, यिनको पृष्ठभूमि नै लोकतन्त्रवादी छैन, अलोकतन्त्रवादी छ। जसले गर्दा आज लोकतन्त्र संकटमा पार्न खोजिदै छ।"
वरिष्ठ नेता पौडेलले राजाको निर्दलिय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युष्टिहरुले पुल बनाउँदा करङ भाँचिदिएको बताए। उनले राजा र कम्युनिष्ट एक सिक्काका दुईपाटा भएको टिप्पणी समेत गरे। "राजाको निर्दलीय पञ्चायतको बेला हामीले रुख रोप्दा हाम्रा टाउका फुट्थे। आज कम्युनिष्टको सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ भाँचिदैछन्। यो एउटा विडम्बना हो। यो एउटै सिक्काका दुईपाटा हुन्", उनले भने, "अधिनायकवादका दुईवटा स्वरुप हुन्। चाहे जुनसुकै नाममा आओस प्रवृति उही हो । मनोवृति उही हो। सबै सत्ता आफ्नो हातमा लिएर आफै मोज गर्ने, आफ्नो हात जगन्नाथ गर्ने, आफ्ना मान्छे पोस्ने आफ्नै वर्ग खडा गर्ने वा वर्ग जन्माउने फेरि यो देशमा अभ्यास भइरहेको छ।"
देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको पनि वरिष्ठ नेता पौडेलले बताए। राज्यको ढुकुटी मासेर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको पनि उनले बताए। भ्रष्ट्राचारमा सरकार डुबिसकेको पनि वरिष्ठ नेता पौडेलले बताए। कम्युनिष्ट पार्टीकै बहुमत नेताहरूले नै सरकार भ्रष्ट्राचारमा डुबिसकेको बताइसकेकाले अरू भन्नुपर्ने कुरै नभएको पनि उनले बताए। सरकारले सत्ताको दुरुपयोग गरिरहेको अरोप उनको छ।