मानवता (कविता)
देशका शासकहरूको
पुस्तौं पुस्ता कर्खा र गाथा गाएर
उपल्लो जात र समाजलाई
मनोरञ्जन दिएर मन्त्रमुग्ध पारे पनि
आफ्नै अभाव र उत्पीडनका
गाथा गाउन नसकेका तिमी
युगौं युगसम्म अछूत गाइने बनाइयौ
मान्छे बन्नै पाएनौ ।
हाकिमदेखि कारिन्दासम्म
मन्त्रीदेखि पिएसम्म
नेतादेखि कार्यकर्तासम्म
सबैले तिम्रो शरीर लुछेर तृप्त हुँदा
शरीर चल्यो, रगत चल्यो
तर
पानी नचल्ने अछूत वादी बनाइयौ
मान्छे बन्नै पाएनौ ।
आफ्नै लाज ढाक्न नसकेका
इन्जिनियरिङ कलाका धनी
बिष्टका कपडा सिएर
इज्जत ढाकिदिने तिमी
सहनाई र नरसिङ्गाका रागहरूमा
बिष्ट नचाउने तिमी
आफ्नै दलनका शोकधुन
अलाप्दै बाँच्यौ
व्यवस्था नै पिच्छे अछूत दमाई बनाइयौ
मान्छे बन्नै पाएनौ ।
आफ्नै शरीरका रगत र पसिना
आगोको भुंग्रोमा सुकाउँदै
खलाँती र भाटीसँगै निसास्सिंदै
फलामका औजारहरू बनाएर
बिष्टका धर्ती उर्बर बनाउने तिमी
सुनका गहनालाई कला भरेर
बिष्टका शरीर सजाउने तिमी
अछूत कामी बनाइयौ
मान्छे बन्नै पाएनौ ।
हरेक चुनावमा
पार्टीको घोषणापत्रहरूमा
नेताको भाषणहरूमा
बाँडिन्थे आश्वासनका सपनाहरू
तिमी बालिग भएर
लाममा बसेर भोट खसाल्दा
उत्पीडनमुक्त सपना देख्थ्यौ
तिमी मात्र भोट ब्याङ्क बनाइयौ
मान्छे बन्नै पाएनौ ।
जनयुद्ध लडुञ्जेल
तिमी नै जनसरकार बनेर
वर्गविहीन, जातविहीन
समाज रच्दै गर्दा
लाग्दथ्यो तिम्रो रगत र पसिनाले
लेखिएको संविधान बन्छ
परन्तु
मनुवादीहरूले
तिम्रो मुक्तिसँग जोडिएको कानून
बन्नै दिएनन्
फेरि पनि तिमी यो देशको
अनागरिक अछूत बनाइयौ
मान्छे बन्नै पाएनौ ।
मान्छे बन्ने उत्कट चाहनाले व्याकुल
सामाजिक अन्तरघूलनको सपना बुन्दै
मुटुभरि पवित्रप्रेम सजाएका
नवराज विकहरू यतिबेला
जातिय अहंकारवादी क्रूर आततायीहरूबाट
भेरी नदीमा रगत बनेर बगिरहेछन्
उनीहरूसँगै
एक्काइसौं शताब्दीको
शिक्षा चेतना सभ्यता बनिरहेछ
गणतन्त्रको साख बगिरहेछ
मानवताविरोधी पराकाष्ठा बगिरहेछ।
(खोटाङ, हालः ललितपुर)