यस कारण कम देखिन्छ दैनिक कोरोना संक्रमित हुनेको संख्या
कोभिड–१९ को पीसीआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ। केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा सङ्क्रमण देखिएको छ। आइतबार पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा सङ्क्रमण देखिएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले सङ्क्रमित दर घटेको बताए। उनका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन्। आज देखिएका सङ्क्रमितमध्ये ३१७ जना महिला र ५०४ जना पुरुष रहेका छन्। आज थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३३३ जना सङ्क्रमित थपिएका छन्। तीमध्ये १४२ जना पुरुष र १९१ जना महिला रहेका छन्।
सङ्क्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन्। आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन्।
भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन्। सङ्क्रमितमध्ये सात हजार ३४० जना होम आइसोलेशनमा छन्।
८४२ निको
सङ्क्रमितमध्ये आज ८४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५७३ जना रहेको छ ।
१८ जनाको निधन
सङ्क्रमणबाट बितेको २४ घण्टामा १८ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७१६ जना पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।