‘किम्फ’ फेस्टिभलमा अन्तर्राष्ट्रियतर्फ ‘द सिल्हूट्स’ र नेपाली कथानकमा ‘सङ अफ क्लाउड’ उत्कृष्ट
आज सम्पन्न भएको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौं संस्करण ‘भर्चुअल’ फेस्टिभलमा अन्तर्राष्ट्रिय फिल्मतर्फ ‘द सिल्हूट्स’ पहिलो भएको छ।
पहिलो भएसँगै नगद दुई लाख हात पार्न सफल भएको छ।
ईरानी फिल्ममेकर अफ्सना सलेरीको निर्देशन तथा निर्माणमा बनेको यो फिल्मले मुख्य पात्र ‘ताघी’ को पीडा र मनस्थितिलाई गहिरो किसिमले दर्शाएको निर्णायक सदस्य नयनराज पान्डेले बताए। फिल्ममा अफगानी बागीको परिवार ईरानमा सरण लिएर बसेको छ। युवक बागी आफ्नै देश फर्कन चाहे पनि देशको राजनीतिक अस्थिरताले उनको चाहाना पूरा गर्न सक्दैन। प्रथम विजेताको रुपमा छनौट गर्नुको कारण उनले थपे, "‘द सिल्हूट्स’ ले एउटा परिवारको कथा भएपनि हाम्रो समवेदना तहमा हस्तक्षेप गर्छ र विश्वव्यापी मानवीय र राजनीतिक समस्यासित जोड्छ।”
त्यस्तै गरी टिना माडिसनको निर्देशनमा बनेको ‘द विलभेड डटर’ फिल्म दोस्रो र लुकास मिलार्ड र केट स्ट्राइकरको निर्देशनमा बनेको ‘बाटो’ तेस्रो भएर क्रमश १ लाख ५० हजार र १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
नेपाली कथानक (फिक्सन) चलचित्रतर्फ अंकित पौडेलको ‘सङ अफ क्लाउड’ ले उत्कृष्ट हुँदै नगद १ लाख पुस्कार हात पारेको छ। त्यस्तैगरी उत्कृष्ट डकुमेन्ट्री हुँदै ‘स्नो लियोपार्ड कलिङ’ ले ७५ हजार पुरस्कार प्राप्त गरेको छ। सोनाम छ्योकी लामाको निर्देशनमा बनेको यो डकुमेन्ट्री डोल्पोमा हिउँ चितुवा संरक्षणमा लागेको व्यक्तिको विषयमा केन्द्रित छ।
लेखक नयनराज पाण्डे, अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम र स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली सहितको तीन सदस्यीय निर्णायक टोलीले ३० वटा प्रतिस्पर्धी फिल्म तथा डकुमेन्ट्रीबाट छनौट गरेका हुन्। १५ मुलुकका १८ वटा अन्तर्राष्ट्रिय चलचित्रहरु र ‘नेपाल पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू रहेका थिए।
बिहीबारदेखि चलेको फेस्टिभलको आज अन्तिम दिन तीन टिना माडिसनको ‘द बिलभेड डटर’ को विशेष प्रदर्शनीसँगै समापन भएको छ।
‘भर्चुअल’ फेस्टिभलमा मिश्रित प्रतिकृया
कोरोनाको कारण यो वर्षको फेस्टिभल ‘भर्चुअल’ भएको हो। पहिलो पटक भएको ‘किम्फ’ मा दर्शकले विभिन्न खालका प्रतिकृया दिएको किम्फका प्रमुख बसन्त थापाले बताए । उनले भने “हामीले विभिन्न खालको प्रतिकृया पाएका छौं।
कतिपयले हलमा बसेर हेर्नु जस्तो मजा भएन भन्ने छन् भने कतिपयले कोठामा बसेर यस्तो राम्रो फिल्महरु हेर्ने अवसर दिनु भएको मा धन्यवाद भनेका छन्। नेपालको विभिन्न शहरहरुबाट र विश्वको विभिन्न देशबाट फिल्म हेरिरहेको र सहज रुपमा पहुँच दिएको धन्यवाद दिनेहरुका कारण उत्साहित भएको प्रमुख थापाले बताए। उनले भने, “यो हाम्रो पहिलो प्रयास हो। यो महामारी कहिलेसम्म रहन्छ थाह छैन। यदि अर्को वर्षसम्मै यस्तै रह्यो भने पक्कै हामीलाई भर्चुअल फेस्टिभल गर्न हलो हुनेछ।”