मुवा: १०५ वर्षीया कोभिड विजेता
हाम्रै घरमा बस्ने र मुवा (मेरो बडासासूज्यू चन्द्रकुमारी जोशी) लाई हेरचाह गर्ने नर्सलाई ६ हप्ताअघि विसञ्चो भयो। रुघा लागेको जस्तो थियो। अनि टाउको दुख्ने। तर, ज्वरो थिएन। तिहारमा उनी घर गएपछि मुवालाई एकदम खोकी लाग्यो। ज्वरो थिएन, खालि ह्वाङ ह्वाङ खोकी।
हामीले घरेलु उपचार मज्जाले गर्यौँ। बाफ लिने, बेसार पानी खाने, बेसार मह र अदुवाको रस चाट्ने, सब गरायौँ। अनि खोकीको अरू औषधी पनि दियौँ। कोरोनाभाइरसको कमाल होला भन्ने त मेरो मनमै उब्जेन। मुख्यत: मेरो लघु बुझाइमा कोरोना संक्रमण हुँदा चर्को ज्वरो आउँछ भन्ने थियो, जुन लक्षण मुवामा थिएन। मुवाको खोकी तेस्रो दिनदेखि कम भयो। कफ आउन थाल्यो। बाफ दिँदै छातीमा ढ्यापढ्याप गर्दै अरू कफ निकाल्न लागि पर्यौँ।
भाइटीकाको एक दिनअघि मलाई ज्वरो आयो। अलग्गै बसेँ, तर पिसिआर जाँच गर्न भाइटीकाको भोलिपल्ट मात्र मिल्यो। त्यै दिन फेरि मेरो श्रीमानलाई पनि ज्वरो आयो। २४ घन्टामा मेरो रिपोर्ट आयो। पोजिटिभ! अर्कोदिन बाँकी सबै सात जनाको रिपोर्ट आयो, पोजिटिभ! मुवाको पनि रिपोर्ट पोजिटिभ। मुवाका दुवै हेरालूहरू पनि पोजिटिभ। अरू सहयोगी पनि पोजिटिभ। श्रीमान पनि पोजिटिभ।
ओहो! पीरमाथि पीर।
हामी धेरै जोगिएर बसेका थियौँ। मुवालाई कोरोनाबाट जोगाउन अनेकौँ सावधानी अपनाएका थियौँ। मुवालाई पनि पोजिटिभ देखिएपछि मनमा चिसो पसेको थियो। तर, सबै जना पोजिटिभ हुँदा एकआपसमा घुलमिल गर्न सकिने भएकोले एक किसिमको हलुकापन भने महसूस भयो। किनकि अघिल्लो दिनसम्म को को पोजिटिभ हुने हो र क-कसलाई कता कता आइसोलेशनमा राख्ने होला भन्ने चिन्ता थियो।
घरमा कतिवटा अलग्गै पकाउन मिल्ने बन्दोबस्त गर्नु पर्ला? क-कसले कुन चर्पी प्रयोग गर्ने होला? यस्तै यस्तै सोचले पिरोलेको थियो। त्यो सब टन्टा अब भएन। खालि मूलढोका बन्द गरेर बस्यौँ, कोही बाहिर जान नपाउने, कोही भित्र आउन नपाउने।
छोरीले हामी सबलाई पुग्ने गरी, कोभिडका लागि चाहिने खाने, नाप्ने, छेक्ने सामाग्रीको जोरजाम गरेर दैलोमा छाडिदिई। नन्दले प्रोटिनयुक्त खान्की पठाइदिनु भयो। माइतले पनि त्यस्तै चाहिने सामानको जोहो गरिदिए।
घरका आठ जनामध्ये ज्वरो खाली हामी दम्पतिलाई मात्र आएको थियो। अरूलाई घाँटी खसकस र स्वाद हराउने लक्षण मात्र देखियो। मुवालाई खोकी लागेकै बेला संक्रमण भएको थियो होला, रहलपहल खोकीबाहेक खासै केही लक्षण देखिएन। मेरो ज्वरो १०० डिग्री फरेनहाइटसम्म मात्र टेक्यो।
चिनीरोग भएका श्रीमानलाई भने सुरूदेखि नै हन्हनी ज्वरो आयो। उसको अक्सिजन घट्दै जान थालेपछि अस्पताल नै भर्ना गर्नु पर्यो। झण्डै दुई हप्ता, स्टेरोइड र एन्टिबायोटिकको कोर्स पूरा नभएसम्म। त्योबेला भने एकदमै तनाव भयो। एकातर्फ अस्पतालको कोठामा एक्लै रोगसित जुधिरहेको श्रीमानको पीर। अनि फेरि घरमा उसको बुढीआमालाई के भनु भन्ने पीर।
मुवा हरेक दिन सोधिसिन्थ्यो, “तल सबलाई कस्तो छ बा?” हामीले ‘नातिलाई एकदम खराब खालको रुघा खोकीको ज्वरो आएकाले डाक्टरले मुवालाई भेट्न मनाही गरेको छ’ भनेर टाल्थ्यौँ ।
एक दिन मुवाले भनिस्यो, “कस्तो सुन्ने भयो हेर। तिमी र म मात्र छौँ!” मुवाको मनभित्र व्यक्त गर्न नसकिने डर पसेको थियो कि क्या हो, सँधैभरिका लागि हाम्रो परिवार त्यत्ति दुई जनामै सीमित होला भनेर। पछि नाति फर्केर घर आएको देखेपछि, ‘बल्ल यत्तिको देख्न पाइयो !’ भनिस्यो।
दिउँसो सुतेर उठेपछि मुवालाई टीभीको समाचार खोलेर राख्छौँ। “आज के भो बा?” भनेर सोधिसिन्छ। मुवाले कोरोनाका कारण कति जनाको ज्यान गयो भनेर सोधेको भनेर बुझ्छौँ हामी, र “आज यति जना बिते कोरोनाले, मुवा” भन्छौँ। “ओहो, र कठै! के अचम्म भइरहेछ” भनिसिन्छ।
विदेशमा बसेका छोरछोरीहरू कहिले आउँछन् भनेर मुवाले सोधिसिन्छ। “अहिले संसारभरि रोग फैलिएको छ, त्यसैले कतै प्लेन उडेको छैन,” भन्थ्यौँ। अनि जब लकडाउन खुल्यो र बिस्तारै एक दुईवटा हवाइजहाज आकाशमा देखिन थाले, मुवाको रोजैको काम नै प्लेनको पर्खाई हुन थाल्यो।
“अहिले अचम्म भा’छ, यो रोगैरोगले गर्दा ‘चेन्ज’ भयो, सब बन्दाबन्दी!” भनिसिन्छ। अहिले पनि बिहान देखि मध्यान्नसम्म कौसीमा बस्दा, मुवाको आँखा आकाशतिर घुमिरहेको हुन्छ। कि “आज किन आएन बा?” भनेर सोधिसिन्छ, कि “ओहो, आज त थुप्रो आए!”
मुवाका हेरालुहरू पनि प्लेनको आवाज सुन्नासाथ, ह्विलचेर घुमाएर मुवालाई हवाइजहाज देखाउन खप्पिस भइसके ! प्लेनहरू गौचरबाट उत्तरतर्फ उडे भने हाम्रो घरबाट अलि नजिक देखिन्छन्। ती प्लेनको आवतजावतले मुवालाई आशाको त्यान्द्रो दिएजस्तो लाग्छ, परिवारसितको पुनःमिलनको। “आनन्द लाग्छ बा मलाई त्यो हेर्न” भनिसिन्छ।
कोरोना कहरकैबीच मुवाले आफ्नो एक्ली बुहारी (अंगूरबाबा जोशी) गुमाइस्यो। अनि त्यसको ठीक एक महीनामा, मुवाको छोरीजस्तै बहिनी (बिन्दा शाक्य) पनि बित्नु भयो। हामीले त्यो खबर मुवालाई दुई महीना जति पछि मात्र फुस्कायौँ।
कोरोना कहरकैबीच मुवाले आफ्नो एक्ली बुहारी (अंगूरबाबा जोशी) गुमाइस्यो। अनि त्यसको ठीक एक महीनामा, मुवाको छोरीजस्तै बहिनी (बिन्दा शाक्य) पनि बित्नु भयो। हामीले त्यो खबर मुवालाई दुई महीना जति पछि मात्र फुस्कायौँ। बारम्बार “हेर, बिन्दा आउँदै आइन” भनिसिन्थ्याे। हामी “बिन्दादी आउन सकिसिन्न, साह्रै बिरामी होइसिन्छ अस्पतालमा, फेरि निको भएपछि पनि, यस्तो रोग फैलिएको बेलामा कासरी आउने र!” भन्थ्यौँ। त्यसबखत मुवाको मनमा चिसो पसेको हुनुपर्छ।
एकदिन “कस्ति भएकी बिन्दा, आउनु पर्दैन!” भनिस्याे। मैले प्वाक्क “अब आइसिन्न” भनेँ। मुवाले तुरुन्तै “मरिसकी कि क्या हो?” भनेर सोधिस्यो। “त्यस्तै” भनेँ बिस्तारै। मुवालाई बज्रपात पर्यो। त्योपछि दुई तीन हप्तासम्म मुवाको आँखा ओभानो कमै रह्यो। विस्मृतिले च्याप्दै गएको मुवाले हिजोआजका कुरा त्यत्ति नसम्झिए पनि बिन्दादी स्वर्गीय भएको कुरालाई बिर्सन सकिसेको छैन। झण्डै हरेक दिन “हेर बा, बिन्दा कसरी गई!” भनेर रोइसिन्छ। अनि त्यही रोदनमा आफ्नो आमालाई सम्झेर ओंठ कँपाइसिन्छ।
बिन्दादीकै विलाप गर्दा मुवालाई आफ्नो मृत्यु नजिकिएको महसुस भएको भान हुन्छ। एकदिन मलाई भनिस्यो, “अब म मर्छु। हेरी राख न। आइ सक्यो, आयु छैन। काशीको जोतिषीले तिम्रो यति आयु छ, यसो गर्यो भने यति बढ्छ, नत्र तिमी जान्छौ भनेको थियो। मैले कता लेखेर राखेको पनि थिएँ। यत्ति हो।”
बिन्दादी बितेको खबर सुनेपश्चात् लामो आयु लिएर बाँच्नुको व्यथा हामीले मुवाको अनुहारमा देख्यौँ। आफूभन्दा कान्छा भाइ, बहिनीहरू, सँगी, छोरा, बुहारी सब एक-एक गरी बित्दै गए। मुवा चाहिं खम्बाजस्तै बलियो भएर, सब पीडा सहँदै, जीवनको सामना गर्दै बस्नु पर्यो। बिरक्त लागेको बेलामा आफ्नो लामो आयु मुवाले श्रापजस्तै गरेर लिइसिन्छ। “भगवान्ले मलाई किन नलगेको!” भनिसिन्छ। तर, मर्ने डर भने गएको छैन। विस्मृतिले ल्याउने एकतमासको अनुभव हुँदा, मुवा आत्तिएर “अब त मर्छु कि क्या हो, मलाई किन यस्तो भएको?” भनिसिन्छ।
मुवाले ‘करुणा’ रोगलाई त मज्जाले पचाइसियो। हामी सबैभन्दा तगडा ‘इम्युनिटी’ त मुवा कै रैछ। सायद उहिलेको शुद्ध हावा, शुद्ध खानपिन, एक शतकदेखिको थरिथरिका भाइरसहरू पचाउँदै आएको शरीर र बाल विधवा भएर बज्र बनेको मनोबल, यी सबका कारण हामी माझ मुवा अझै होइसिन्छ। डाक्टरले त मुवाको मुटु र फोक्सो तन्नेरीको जस्तो छ भनेका छन्, बिर्सने रोगका कारण नयाँभन्दा बढी पुराना कुरा सम्झिसिन्छ। मुवाले होस गुमाउँदै गए पनि जोश हराएको छैन। नर्स र हेरालूहरू थर्काउने तागत यथावत छ।
गएका हप्ताहरूमा मुवासित वहाँको स्वास्थ्य, वहाँको आयु र ‘करुणा’ रोगबारे मैले गरेको टुक्राटुक्री कुराकानीको अंश तल प्रस्तुत छ।
चन्द्रकुमारी जोशी: “यो के भएको यस्तो ! अचम्म! कहिले यस्तो हुन्थेन। कसरी आयो यो रोग ! सबतिर कसरी फैलिएको छ, ओहो ! यहाँ (नेपालमा) पनि त्यत्तिकै छ। यो करुणा भन्ने रोग त भयंकर। कत्ति जना मरी सके। उ हेर हुँ... हुँ... गरेर कराई रा’छ (एम्बुलेन्स्को साइरन सुनेर)।
मलाई नराम्रो खोकी थियो, दुख्थ्यो। त्यै बेला रोग लागेको जस्तो छ। मलाई त्यस्तै लाग्छ। मैले मेरो रोग, मेरो खोकी सब निको पारेँ । कम भयो, गयो । कसरी गयो कसरी। अचम्म लागेको छ। म त निको भएँ। आफैँ। घरमा सबैलाई लाग्यो। किरण (नाति) लाई पनि लाग्यो। उसलाई पनि दु:ख भयो। अस्पताल बस्नु पर्यो।
म बलियो त बलियो छु बा। मलाई मेरो धाईले सानोमा धुमधाम स्याहारेकी थिई। ट्यामट्याममा खान दिन्थी। फेरि म सबैलाई माया गर्थेँ।
मेरो आयु त लामो छ बा। यो लामो आयु हुनु के राम्रो ? के फाइदा ? दु:ख मात्र त हो नी। बिरक्त लाग्छ। असाध्य बिरक्त। के काम ! दु:ख मात्र छ, सुख छैन। यस्तो गति छ आफ्नो ! तल जाउँ भनेको सक्दिन। अस्तिन अस्तिनसम्म त्यै भर्याङबाट हिँडेर तल जान सक्थेँ। ऐले सक्दिन। दिक्क लाग्छ। आफ्नो मान्छेकाँ जान मन लाग्छ नी। माया लाग्छ। केही गर्दिन मन लाग्छ।
दु:ख त हुन्छ नी बा। माया गर्ने मान्छे धेरै बिते। सब बिति सके। मभन्दा सान-साना, आफ्नै अगाडि गए। ढोकाटोलका सबै। बैनीहरू- काइँली मैया, साइँली मैया, कान्छीमैया, भाइ, छोरा, बुहारी... सब गए। सबलाई, के के बिरामी हुने, दु:ख हुने, नअड्ने, अनि मर्ने। बैनीहरू सब धमाधम गए, म चाहिँ बाँचिरा’छु, हेर बा। उनीहरू मरेको आफूले हेरिरहनु पर्ने। त्यो चैँ असाध्यै ‘बोर’। हुँदा हुँदा बिन्दा पनि बिरामी भएर गई ! म त्यस्तो माया गर्थेँ। अहिले मलाई बिन्दाको माया लाग्छ। उसको आमा मर्न लाग्दा खेरि बिन्दालाई ‘मेरो छोरी हजुरलाई’ भनेकी। अनि बिन्दा मरेको खबर पो आउँछ !
अहिले त गाह्रो छ बा। के के रोग लाग्छ के के। पहिले पहिले कत्ति रमाइलो हुन्थ्यो। काम गर्न पाइन्थ्यो। अहिले पाइँदैन। क्यै गर्छु भन्छु, सक्दिन। अहिले आएर घुँडा दुख्न थाल्यो। पहिला त सब ठीक थियो। पछि त सबै घट्दै घट्दै गयो। तर, मलाई त्यस्तो नरमाइलो क्यै लाग्दैन। भगवान्ले सब पुर्याइदिनु भा’छ।
यसै गरी बसिरा’छु। म बिरामी हुँदा, कसलाई पुकार्नु र, भगवान्लाई त हो नी। भगवान्ले अवश्य सुन्छन्। अनि आनन्द हुन्छ। सबलाई निरोगी बनाइदेउ भन्थेँ। अनि किरणको लागि पनि प्रार्थना गरेँ। के, म बाँकी राख्छु, त?
अहिले भगवान्सित मैले अरू क्यै मागेको छैन। के माग्नु र ! आनन्द त हो नी। दिक्क लागेको बेलामा त्यै माग्यो, अनि स्वाठ्ठै जान्छ।
सबै भगवान् एकनाश हो। अहिले म भगवान्लाई ‘तिम्रो शरणमा लेउ’ भन्छु।
मुवाले जति बिरक्तिएर भगवानसित यस्तो पुकार गरेता पनि, वहाँमा बाँच्ने इच्छा तीब्र देखेकी छु। मुवाको त जीवन जुझारू हो।
यो एक शतकभन्दा बढीको आयुमा मुवाले के के देख्न र भोग्न परेको छ। पहिलो विश्वयुद्धको हाराहारीमा जन्मिसेको मुवाले नेपालमै राणाकालदेखि प्रजातन्त्र, पञ्चायातकाल अनि अब गणतन्त्र देख्न पाइस्यो। ९० सालको भुइँचालोदेखि ७२ सालको भूकम्प। बिफर र टीबीले ज्यान लिने बेलादेखि अहिले कोभिड रोगसम्म।