अर्नब गोस्वामीको रिपब्लिक टीभीका सीईओ गिरफ्तार
मुम्बई पुलिसले भारतका चर्चित पत्रकार अर्नब गोस्वामीको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचन्दानीलाई अनधिकृत रुपमा टीआरपी बढाएको आरोपमा आइतबार पक्राउ गरेको छ।
अदालतले उनलाई मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ। उनीसँग यो मुद्दामा यसअघि पनि दुईपटक सोधपुछ भएको थियो। क्राइम ब्रान्चको अनुसन्धानमा केही केबल संचालकहरुले दुई वटा ल्यान्डिङ च्यानल नम्बर (एलसीएन) प्रयोग गरिरहेको पत्ता लागेको थियो। यो प्रविधिअनुसार एउटै च्यानल दुई वटा च्यानल नम्बरमा देखिन्छ।
रिपब्लिक टीभीले भने उनको गिरफ्तारीको आलोचना गरेको छ। तर अनुसन्धानमा उक्त टीभीका अधिकारीले नै केबल संचालकसँग एलसीएन र एलसीएन प्रवद्र्धनका लागि सम्पर्क गरेका थिए। खिनचन्दानीलाई यसबारे जानकारी भएको बताइएको छ।
झूटो टीआरपीको यो विषय गएको अक्टुबरमा पत्ता लागेको थियो, जब रेटिङ एजेन्सी बार्कले हंसा रिसर्च ग्रुपका विरुद्ध उजुरी दर्ता गरेको थियो। उसले केही टीभी च्यानलले टीआरपी नम्बरमा धाँधली गरेको जनाएको थियो। हंसाले बार्कका लागि घरहरुमा टीआरपी मिटर लगाउँथ्यो।
यो टीआरपी नम्बरकै आधारमा विज्ञानदाताले कसलाई कतिसम्म मूल्यको विज्ञापन दिने भन्ने निश्चित गर्छन्। पुलिसका अनुसार यो मिटर राख्नेवालाले केही घरमा रिपब्लिकन टीभी चलाइराख्नका लागि घुस खुवाएका थिए। तर, रिपब्लिकन टीभीले यो आरोपको पनि खण्डन गरेको छ।
यो मुद्दामा मुम्बई पुलिसले अघिल्लो महीना रिपब्लिक टीभीका पश्चिम क्षेत्र वितरण प्रमुख घनश्याम सिंहलाई पनि गिरफ्तार गरेको थियो। उनलाई यो महीना मात्र जमानत मिलेको थियो। मुम्बई पुलिसले अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकेको छ।
यहीबीच रिपब्लिक टीभीका प्रधान सम्पादक अर्नब गोस्वामीले गएको हप्ता मुम्बईको उच्च अदालतमा यो मामिलाको जाँच गर्न रोक्न माग गर्दै मुद्दा दर्ता गरेका छन्। उनले मुद्दामा आफ्ना कर्मचारीलाई हिरासतमा यातना दिएको पनि उल्लेख गरेका छन्।
-बीबीसी हिन्दीबाट