एकैपटक १७ कर्मचारीलाई कोरोना संक्रमण, अछामको जिल्ला अस्पताल सिल
सुदूरपश्चिम प्रदेशस्थित अछामको जिल्ला अस्पतालका १७ कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको छ। त्यसलगत्तै अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले भने, “कोरोना अरू व्यक्तिमा नसरोस् भनेर सिल गरिएको हो, निको भएलगतै सबै सेवा सुचारु गर्नेछौँ।”
उनका अनुसार सङ्क्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा छन्। अस्पताल सिल गरिएपछि त्यहाँका आकस्मिकबाहेकका अन्य बिरामी उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन्।
त्यहाँका नागरिकलाई उपचार सेवा लिन समस्या भएको स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले जानकारी दिए। कोरोनाबाहेकका बिरामीले पनि उपचारका लागि अन्यत्र जानुपर्दा संक्रमण हुने जोखिम बढेको उनी बताउँछन्।