पुरुषोत्तमशमशेरलाई इतिहास सुनाउने खटपटी
पुरुषोत्तमशमशेर (९५) यसै पनि ओछ्यानदेखि बाथरुम र कौशीभन्दा टाढा जान सक्दैनन्। त्यसमाथि कोरोनाभाइरस संक्रमण जोखिमका कारण विगत १० महीनादेखि कसैसँग भेटघाट गर्न नपाउँदा खटपटिएका छन्।
“अब चैत १५ गतेबाट ९६ वर्ष पुग्छु। मलाई त कोरोनाको डर लाग्दैन, तर मेरा छोराबुहारी डराउँछन्।”
फोनमा कुराकानी थालेपछि इतिहासकार पुरुषोत्तमशमशेर जबराले सुनाए। म उनीसँग कुराकानी गर्न चाहन्थेँ। भेटेर, नभए फोनमै पनि।
कुराकानी गर्न उनी पनि उत्सुक थिए। भन्दै थिए, “मेरो काम छैन अहिले। तपाईंहरुलाई कुरा सुनाउन पाउँदा आनन्द लाग्छ। तर, के गर्नु कालबेला यस्तो छ!” यति बोलेर उनले १० मिनेटपछि फेरि फोन गर्न भने।
९६ वर्ष पुग्न लागेका पुरुषोत्तमसमशेरको स्वर निकै टाठो थियो। कान पनि तिखा थिए। उनीसँग बोलिरहँदा उमेर १०० हाराहारी पुगेको अनुमान गर्नै कठिन थियो। तर, कोरोनाभाइरस संक्रमणको महामारीका बेला बढी उमेरका व्यक्तिलाई जोखिम धेरै हुन्छ। हरेक दिन यस्तै समाचारसँग काम गरिरहेकाले शताब्दी छुन लागेका यी इतिहासकारलाई ‘भेटेरै कुरा गर्छु’ भनिहाल्न सकिनँ।
उनले दिएको निर्देशनअनुसार फोन गर्न केही ढिला गरेँ। ‘खाना खाँदैछु’ भनेकाले ३५ मिनेटपछि मात्र फोन थिचेँ। दुई घन्टीमै उठ्यो। “तपाईं मसँग के विषयमा कुरा गर्ने हो?” मैले भन्दा अघि उनैले प्रश्न गरे। कुरा गर्ने विषय उही इतिहास न हो। इतिहास पनि राणाकालको, जुन उनले भोगेर र बाबु–बाजेबाट सुनेर आए।
उनले सुनेका, देखेका र भोगेका धेरै कुरा त किताबमै आइसकेका छन्। उनका किताबका नाम त्यसरी नै राखिएका छन्, जस्तो– ‘सम्झेका र सुनेका कुराहरु’, ‘भएका र गुज्रेका घटनाहरु’, ‘मेरा जीवनका स्मृतिहरु’। उनको ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ भाग–१ र भाग–२ निकै चर्चित पुस्तक हुन्। राणाकाल बुझ्न यी पुस्तक महत्वपूर्ण मानिन्छन्।
अहिले पनि उनी इतिहासका कुरा गर्न खूब मन पराउँछन्। उनीसँग पुस्तकमा नआएका विषय कति होलान्? लेख्न चाहेर पनि नलेखेका विषय होलान् कि नहोलान्? अथवा १९९० मा हजुरबुवा, तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेरसँगै लखेटिएर पाल्पा गएपछिका स्मृति के होलान्? कुराका विषय धेरै थिए।
दोस्रो पटक फोनमा कुरा हुँदा उनले मलाई घरमै बोलाए। “मसँग ऐतिहासिक फोटोहरु पनि छन् भन्ने तपाईंलाई थाहा छ कि छैन? यहाँ आउनुस् अनि मेरा छोरा बुहारीलाई ती फोटो हेर्न आएको भन्नुस् न”, उनैले यस्तो ‘आइडिया’ दिए।
तर, मैले जोखिम हुने हुँदा फोनमै कुरा गर्न ठीक हुने बताएँ। उनले ‘डिस्टेन्स्’ राखेर कुरा गर्ने बताए।
म पुग्दा उनी ‘फेस शिल्ड’ लाएरै बसेका रहेछन्। मेरो लागि अलि परै कुर्सी राख्ने व्यवस्था गरिसकेका रहेछन्। छेउमा केही कागजपत्र छरिएका थिए। अनि श्री ३ हरुको तथ्य वृत्तान्त भाग–२ छेउमै थियो।
“आँखा देख्नुहुन्छ?”, मैले किताबतिर देखाउँदै सोधेँ।
“देख्छु नि। तपाईंलाई मजाले देखिरहेको छु। चस्मा लाएर पढ्छु पनि। तर, अब पहिलाजस्तो लेख्न, पढ्न शक्ति छैन। हिंड्नलाई ह्विलचेयर चाहिन्छ। घुँडाले जीउ थाम्दैन। बाथरुम पुगेर आउन चाहिं सक्छु”, उनले बेलिबिस्तार लगाए।
उति नै बेला कोठामा प्रवेश गरेकी महिलालाई उनले चिनाए, “मेरी बुहारी।” मैले नमस्ते गरिनसक्दै उनले असहजता प्रकट गरिन्, “लौ तपाईं त थाहै नदिइ आउनुभएछ। हामीले बुवालाई कसैसँग भेट गर्न दिएका थिएनौँ। बूढो मान्छेलाई जोखिम हुन्छ। आइहाल्नुभएछ, नजिक नगइदिनुहोला।”
मैले अलि अप्ठेरो महसूस गरेँ। “ठीक छ टाढा बसौँला। केहीबेर कुरा गरेर जानुहुन्छ”, पुरुषोत्तमशमशेरले नै सजिलो बनाइदिए।
“अनि अहिले केही लेख्दै हुनुहुन्छ ?”, मैले कुरा शुरु गरेँ।
“के लेख्नु र? भर्खरै एउटा वीरशमशेरबारे लेखेर छापिइसक्यो। अब शक्ति छैन”, उनले उक्त पुस्तकको विषय संक्षिप्त बताए।
पुस्तकमा वीरशमशेर र राजा पृथ्वी वीरविक्रमको सम्बन्धबारे उल्लेख रहेछ। त्यति बेला राजाले एकैपटक दुई जनासँग बिहे गर्नैपर्ने ‘चलन’ थियो। पृथ्वी वीरविक्रमले वीरशमशेरकी कान्छी छोरी मन पराएका रहेछन्। तर, वीरशमशेरले दुई जना छोरीको एकैपटक बिहे गरिदिएछन्। वास्तवमा आफ्नै छोरीको सन्तान राजा बनोस् भनेर वीरशमशेरले दुवै जनाको बिहे पृथ्वी वीरविक्रमसँग गरिदिएका थिए। राजाका ‘ल्याइते’ रानीहरु पनि हुन्थे। वीरशमशेरले आफ्ना दुई छोरीबाहेक पृथ्वी वीरविक्रमलाई अरु श्रीमतीसँग सम्बन्ध राख्न दिँदैन थिए भनेर केही इतिहासकारले ‘उडाएका’ छन्। यो सबै झूटो भएको पुरुषोत्तमशमशेर बताउँछन्। यो कुरालाई काट्नकै लागि आफूले किताब लेखेको उनको भनाइ छ।
राजा त्रिभुवनका दाजु (बायाँ कुर्सीमा) तस्वीरः पुरुषोत्तमशमशशेरको संकलनबाट
“मैले ‘छेडछाड’ गरेरै किताब लेखेको छु उनीहरुले छेडछाड गरेपछि मैले पनि गरेको हुँ”, उनले सुनाए।
वास्तवमा वीरशमशेर उनका पुर्खा हुन्। हजुरबुवा रुद्रशमशेर वीरशमशेरका छोरा हुन्। त्यस बेला पृथ्वी वीरविक्रमसँग हरेक रात रक्सी खाएर बस्नेमा गेहेन्द्रशमशेर र रुद्रशमशेर थिए। उनीहरुलाई दरबार पस्न कुनै जाँच हुँदैन थियो। पहिला तीन जनाले एक फुल ह्विस्की खाइसक्थे।
पछि मात्रा बढ्दै गएपछि छ सात फुलसम्म सक्ने गरेको अर्का इतिहासकार हेमन्तशमशेर बताउँछन्। उनीहरु रातैभरि पिएर बस्थे। दरबारमा छुट्याएको रक्सीले नपुग्ने भएपछि रुद्रशमशेर र गेहेन्द्र शमशेरले कोटको दुवैतिर दुई–दुई वटा अतिरिक्त गोजी हाल्न लगाएका थिए। तिनै गोजीमा ह्विस्कीका बोतल दरबार लैजान्थे। यसरी अति धेरै रक्सी पिएरै गेहेन्द्रशमशेरको ३५ वर्ष र पृथ्वी वीरविक्रमको ३६ वर्षको अल्पायुमै मृत्यु भएको हेमन्तशमशेर बताउँछन्।
यी कुरा पुरुषोत्तमशमशेर र हेमन्तशमशेरलाई आफ्ना हजुरबुवा रुद्रशमशेरले नै सुनाएका हुन्। “तर, वीरशमशेरले पृथ्वी वीरविक्रमलाई आफ्ना छोरीबाहेक अरु रानीसँग सम्बन्ध राख्न नदिएको भए कसरी केशरशमशेर र सिंहशमशेरका रानीहरु जन्मिए त? मैले त बिहे भएको मिति र उनीहरु जन्मिएको मितिसमेत राखिदिएको छु। के ती पृथ्वी वीरविक्रमसँग रक्सी खान जानेबाट जन्मिए त? अरु त दरबारमा जान पाउँदैन थिए। गलत कुरा आएपछि मैले यसरी कटाक्ष गरेँ”, पुरुषोत्तमशमशेरले सुनाए।
यति सुनाइसकेपछि उनले फेस शिल्ड निकालेर ओछ्यानमा राखे। मैले त्यसलाई लगाउन अनुरोध गरेँ। “यी... बिर्सिहाल्छु। लगाउने बानी छैन। यो उमेरमा आएर यस्तो रोग देख्नु पर्याे”, यति भनेर उनले फेरि फेस शिल्ड लगाए।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरबाट टुँडिखेलस्थित खरीको बोटबाट कमाराकमारी प्रथा अमलेखको घोषणा सभा। तस्वीरः पुरुषोत्तमशमशशेरको संकलनबाट
“मसँग त राणाजीहरुका कुरा कति छन् कति ! तपाईंले सुनिरहने हो भने हप्तौँ बित्छ”, उनले भने।
अनि उनले पाल्पादेखि दिल्ली पुगेका कुरा सुनाउन थाले। शुरुआतमै ‘सस्पेन्स’ भने खोलिदिए, “म त त्रिभुवन महाराजाधिराजसँग हैदरावाद हाउसमा पनि सँगै बसेको। २००७ सालको क्रान्तिपछि दिल्लीबाट त्रिभुवनसँग एउटै प्लेनमा काठमाडौँ ओर्लिएको हुँ”, यति भनेपछि त्यसको भूमिका बाँध्न पाल्पातिर फर्किए।
रोलवाला कमान्डर इन चिफ रुद्रशमशेरलाई पाल्पा खेदाएपछि उनको परिवार जुद्धशमशेरसँग असन्तुष्ट थियो। पछि रुद्रशमशेरको सम्पर्क बीपी कोइरालालगायतसँग भयो। उनले कांग्रेसलाई सघाउन थाले। अनि श्री ३ महाराज मोहनशमशेरले परिवारै पक्राउ गरेर काठमाडौँ ल्याउन कर्णेल चन्द्रजंग थापाको नेतृत्वमा सेना पठाए। उनले पक्रेर पहाडको बाटो ल्याउन भनेका थिए। तराईको बाटो औलो लाग्थ्यो।
तर, जुद्धशमशेरका छोरा बहादुरशमशेरले तराईको बाटो छिटो हुने हुँदा त्यतैबाट ल्याउन भनेका रहेछन्। “एक दुई जना मरेर केही हुँदैन”, बहादुरशमशेर यसो भनेर कड्किएका थिए रे। पछि २००७ सालमा काठमाडौँ फर्किएपछि आफूले बहादुरशमशेरलाई सोध्दा त्यसो नभनेको जिद्दी गरेको पुरुषोत्तमशमशेर सुनाउँछन्।
जुद्धशमशेरका सन्तानमध्ये माइला बहादुरशमशेर (जेठाको सानैमा मृत्यु भएको) रुद्रशमशेरका सन्तानसँग बढी त्रस्त थिए। किनभने रुद्रशमशेरलाई पाल्पा धपाएपछि उनको चारबुर्जा दरबार (हालको निर्वाचन आयोग र उपराष्ट्रपतिको कार्यालय) जुद्धशमशेरले आफ्ना छोरा बहादुरशमशेरलाई दिएका थिए। पुरूषोत्तमशमशेर आफू पनि त्यही दरबारमा १९८२ सालमा जन्मिएको बताउँछन्। त्यसैले रुद्रशमशेरका सन्तानले आफूविरुद्ध षडयन्त्र गर्नसक्ने उनलाई डर थियो।
उता पक्राउ गर्न गएको कर्णेल थापाको फौज भने रित्तो हात फर्किएको थियो। पक्राउ गर्न टोली आउँदै गरेको सुइँको ‘वायरलेस’बाट पाएपछि रुद्रशमशेरका छोरा र नाति मेसिनगन ठीक पारेर बसे। पाल्पामा तीन पल्टनको नेतृत्व गरेका समरबहादुर थापाले त्यसको जानकारी दिएर पक्राउ गर्न आफू अघि नसर्ने बताए। चन्द्रजंग थापाले पनि हिम्मत गरेनन् र रित्तै फर्किए।
पुरुषोत्तमशमशेर जन्मिएको चारबुर्जा दरबार। यो दरबारमा अहिले निर्वाचन आयोग र उपराष्ट्रपतिको कार्यालय छन्। तस्वीरः पुरुषोत्तमशमशेरको संकलनबाट
त्यसपछि पनि मोहनशमशेरले रुद्रशमशेरलाई चिठी पठाएर ‘दाइ, हजुरका छोरा–नातिलाई केही विषयमा सम्झाउनु छ, पठाइदिनुपर्याे’ भनिरहन्थे।
एकपटक रुद्रशमशेरले आफ्ना छोरा नातिलाई काठमाडौँ पठाइदिने भनेर मोहनशमशेरसँग पैसा मागे। मोहनशमशेरले पनि रु.१० हजार पठाइदिए। त्यो पैसा लिएर रुद्रशमशेरका छोरा नाति लखनउतिर लागे। पुरुषोत्तमसमशेरका बुवा ईश्वरशमशेरले लखनउमा दुई वटा घर लिएर कांग्रेसका जनमुक्ति सेनालाई राख्ने व्यवस्था गरेका थिए।
त्यतैबाट पुरुषोत्तमशमशेर दिल्ली पुगे। राजा त्रिभुवनसँग भेटे। सँगै हैदरावाद हाउसमा बसे। अनि एउटै जहाजमा काठमाडौँ फर्किए।
काठमाडौँ आएपछि उनीहरु सेतो दरबारमा बसे। अरु राणाजीहरुको गाडी थियो, तर दुईपटक सर्वस्वहरण भएका उनीहरुसँग गाडी थिएन। पुरुषोत्तमशमशेर साइकल चढ्थे।
बोल्दाबोल्दै पुरुषोत्तमशमशेरको मुख सुक्यो। मलाई योभन्दा धेरै बोल्न लगाउन असहज लाग्यो। मैले बिदा मागेँ।
“तपाईं फोटो पनि हेर्ने होइन? नयाँ सडकबारे फोनमा सोध्दै हुनुहुन्थ्यो नि, नयाँ सडकको पुरानो फोटो पनि देखाइदिन्छु। एकछिन बस्नुस्”, उनले भने।
अनि कोठाको एउटा कुनामा राखेका दुईमध्ये एउटा टीनको बाकस खोल्न लगाए। बाकसभित्र कपडा र प्लास्टिकका धेरै झोला थिए। तीमध्ये कुनै दुई तीन वटा निकाल्न लगाए।
तस्वीर ओछ्यानमा थुपारेर फिँजाए। अनि क्रमशः देखाउँदै गए।
पहिला सैनिक पोशाकमा कुर्सीमा बसिरहेको एउटा बालकसहितको तस्वीर देखाए। “यो को हो चिन्नुहुन्छ?” उनले सोधे।
मैले चिन्ने कुरै थिएन। “राजा त्रिभुवनका दाजु हुन्। ल्याइतेतिरका”। उनैले चिनाए।
अनि आफ्नै परिवारको तस्वीर देखाए। तत्कालीन कमान्डर इन चीफ रुद्रशमशेर शिकार खेल्न चितवन जाँदा डुंगामा नारायणी तर्दै गरेको। उक्त डुंगाको अगाडि दौरा सुरुवाल लगाएका बालक पुरुषोत्तमसमशेर आफैँ पनि छन्।
त्यसपछि उनले फ्रेम गरेर टेबलमा राखिएको अर्को तस्वीर काखमा लिएर देखाए। त्यो उनको अधबैँसे उमेरमा कुनै वनभोजमा सामेल भएको तस्वीर थियो। त्यसमा उनीसँग २०१५ सालका सांसद कमलराज रेग्मी, श्रीरामलाल श्रेष्ठ र कृष्णमान श्रेष्ठ पनि थिए। तस्वीरको पछाडि उनीहरुको नाम त थियो नै, त्यसअघि लेखिएको थियो, ‘बुढेसकालीन मित्रहरु।’ मैले ठूलो आवाजमा त्यो पढेपछि उनी मुसुक्क हाँसे।
तत्कालीन प्रधानसेनापति रुद्रशमशेर शिकार खेल्न जाँदा डुङ्गाबाट नारायणी नदी तर्दै। यहाँ बालक पुरुषोत्तमशमशेर पनि छन्। तस्वीरः पुरुषोत्तमशमशशेरको संकलनबाट
अनि फेरि पोकाको तस्वीरतिरै लागे। धेरै तस्वीर देखाए। सबै मेरो सम्झनामा रहेनन्। त्यसमध्ये एउटा थियो, टुँडिखेलको खरीको बोटको तस्वीर। क्याप्सनमा लेखिएको थियो, ‘तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ‘कमरा–कमारी प्रथा अमलेखको घोषणा टुँडिखेलस्थित खरीको बोटबाट गर्दै गरेको फोटो।’
“खरीको बोट त काटिहाले पागलहरुले, होइन? महेन्द्रले काटेको हो नि !” उनी नोस्टाल्जिक भए।
“हेर्नुस् त कत्रो थियो? यो मल्लकालको रुख। ऐतिहासिक हो। त्यो नयाँ सडकको पीपलको रुखजस्तै। जुद्धशमशेरले अग्लो ढिस्कोमा मार्बल लगाएर राम्रो बनाएका थिए। यिनीहरुले धरहरै पनि खत्तम पार्छन् भनेर भन्दिएको थिएँ मैले।”
अनि उनी अरु तस्वीरतिर लागे।
“तपाईंसँग कति फोटो छन्?” मैले सोधेँ।
“दुई बाकस छन्। ऊ.... कति भनेर गनेको छैन।”
उनले कति आफैँ खिचेका थिए। कति किनेका थिए। कति भने मागेका थिए। त्यति बेला धनीमानीसँग मात्र क्यामरा हुन्थ्यो। खासगरी राणा र भारदारहरुसँग क्यामरा थियो। अनुमतिविना राख्न पनि पाइँदैन थियो। उनको संकलनमा रहेका यी तस्वीरहरु इतिहासका अकाट्य प्रमाणहरु हुन्।
यही बीचमा मैले उनको पनि तस्वीर लिएँ। तस्वीर लिनुअघि नै उनले फेस शिल्ड खोलेर आछ्यानमा राखे। मैले टाढैबाट क्यामरा चलाएँ।
त्यसपछि बिदा माग्दा उनले भने, “गइहाल्ने हो र? अरु पनि फोटा छन्।”
तर, म हतारिइसकेको थिएँ।
“कोरोनाले भूमिगतजस्तो हुनु परेको छ”, उनले मलाई बिदा दिँदै भने।