गौतम बुद्ध कपबाट बाहिरियो ज्ञानेन्द्र मल्लको टीम बागमती
भरतपुरमा भइरहेको गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेल हारेपछि राष्ट्रिय टीमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको टीम बागमती फाइनल पुग्न असफल भएको छ।
बागमती हिजो नारायणीसँग र आज राप्तीसँग पराजित भएको हो। अब लिग चरणको अन्तिम खेलमा भोलि नारायणी र राप्तीबीच प्रतिश्पर्धा हुनेछ। यी दुई टीमबीच नै मंगलबार फाइनल खेल हुनेछ।
आज भएको खेलमा बागमती विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीसँग ११ रनले पराजित भयो। राप्तीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।
राप्तीका लागि ओपर अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए। यस्तै शरद भेषावकर र कप्तान विनोद भण्डारीले समान २१ रन जोडे। कमल सिंहले १६ र लोकेश बमले १५ रन बनाए।
बागमतीका लागि सोमपाल कामी, सागर ढकाल र रासिद खानले दुई दुई विकेट लिए। विक्रम सोब र ललित राजवंशीले पनि एक एक विकेट लिए।
१३० रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ११८ रनमा समेटियो। राप्तीलाई जिताउन जितेन्द्र मुखिया, कमल सिंह, वसन्त कार्की र अभिनाश बोहराले समान दुई विकेट लिए। २ ओभरमा १२ रन मात्र खर्चिएका अभिनाश खेलको म्यान अफ दि म्याच घोषित भए। जितेन्द्रले भने अझ किफायती बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चिएका थिए।
बागमतीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए पनि जित दिलाउन सकेनन्। उनले २८ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे। यस्तै विकेटकिपर ब्याट्स्म्यान अनिल साहले २२ रन बनाए।