ग्लोबल आईएमई बैंकद्वारा ६ नयाँ शाखारहित ब्यांकिङ सेवाको शुरुवात
ग्लोबल आईएमई बैंकले तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बाग्लुङको बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ। थप ६ वटा शाखारहित ब्यांकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित ब्यांकिङ सेवा संख्या २३८पुगेको छ।
ब्यांकले तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. ०२, ओयाकजुङमा खोलिएको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाल, धनुषा नगराईन नगरपालिका वडा नं. ०४ फुलगामा खोलिएको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार शाह, दैलेख दुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेखकै भैरबी गाउँपालिका ०५, डाँडीमाडी बजारमा खोलिएको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङ्गको बडिगाड गाउँपालिका वडा नं. ०२ सिमालचौरमा खोलिएको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथरको याङवरक गाउँपालिका वडा नं.०१ गणेश चोकमा खोलिएको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ।
शाखारहित ब्याङ्किङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत ब्यांकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम, सीडिएमए, यूटिएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।