काठमाडौंको खाल्डो या दार्जीलिङको पहाड, कहाँबाट शुरु भयो त आधुनिक नेपाली सङ्गीत ?
के के आधुनिक वाद्ययन्त्र, गीत र गायन भएपछि आधुनिक नेपाली सङ्गीत हुन्छ ? आज पनि यो अनुत्तरित प्रश्न हो। किनकि अगुवा कलाकारका प्रचलित गीत–गायनमा पनि आधुनिक बाजा पियानो, क्लारिनेट, तबला, गितार आदि प्रयुक्त छन्। उस्ताद सेतुराम, मास्टर मित्रसेन र ठुरा मेलवादेवी विस्मृत भए पनि बिर्सिनसक्नुका सिर्जनाहरूले ती विषय बोलिरहेका छन्। लोकजनले पनि आधुनिक नेपाली सङ्गीतको उठान त्यसैलाई मानेको देखिन्छ।
सरकारको सुर्किनी अलिक खुकुलो भएपछि स्वच्छ सास फेर्ने उत्कण्ठाले भोजपुर आफू जन्मेको बुलुम्पा गाउँ पुगेको बेला अप्रत्यासित एउटा फोन आयो, जो दुर्लभ नै मान्नुपर्छ।
अक्सर वसन्त थापा दाइको फोन आउँदा कि म झस्किन्छु। कि त पुलकित हुन्छ। आज म पुलपुलिएको छु। त्यसैले अत्यास लाग्दो पुराकथन उत्सुक जिज्ञासुका कर्णमा कन्सुत्लो हाल्ने धृष्टता गरिरहेछु।
फोनमा दाइले ‘कहाँ छौं बुलु ?’ शालीन तौरले सोध्नुभयो, सदाभन्दा अलिक फरक पाराले। मैले चतरा–बराहक्षेत्र वारिपारि भने।
‘अरे अनि के गर्दै ?’
‘यहाँ एउटा सङ्गीत ट्रेनिङ स्कूल बनाउँदैछु दाइ।’
‘ए कति भयो ?’
‘दश महीना।’
‘ए उसो भए जन्मिने बेला भएछ।’
यो सन्लापले उहिलेको हिमाल खबरपत्रिकाको ऋतुराजलाई मैले पुनः सम्झेँ र स्वादिलो गरी मनमनै हाँसे। ‘सेन्स अफ ह्युमर’को पुरानै ठ्यास्बुभित्र हास्य–व्यङ्ग्यका लालमोहर, लिखत र सनदपत्र बाँकी अझै रैछ उहाँसँग।
कुरा नेपाली सङ्गीतस्रष्टा नवोदित कृतिको। ‘बेलुका विप्लव प्रतीकले फोन गर्छ है’ पछि हाम्रा आकाशे सम्पर्क सम्वादहरु विच्छेदन भए। सोहीअनुसार बेलुका विप्लवजीले फोनबाट पुच्छर नभएको वानरलाई लिस्नु लगाउनुभयो। एउटा उपायसँगै।
पीडीएफ पढ्ने र केही दिनअघि उपत्यका छिरेपछि कलेबर सहितको पुस्तक पल्टाउने। र, उहाँले अर्को उपाय पनि बिस्तार गरिदिनुभयो। ‘एक्सटेम्पो बोल्दा विषय कताकता भाग्छ, लेखेर पढदा बेटर होला।’ उहाँको ‘आइडिया’अनुसार मैले पनि बाहुनबुद्धि लगाएँ। यहाँ बाहुन जाति होइन। ज्ञान–प्रज्ञान, बुद्धि–विवेक मिश्रित मसला हो।
बितेका दश महीना मैले पुस्तक त के कुनै गीत–सङ्गीत पनि गरिनँ। सप्तकोशी प्रस्रवण क्षेत्रमा थिएँ। उर्लँदो नदीको किनार सन्निकट ढुंगामाथि बसेर नीरस पालम गाएजस्तो गरी बिताएँ। मुसलधारे पानी, घागी र भङ्गाला हेर्दै।
वनको बाघले नखाए पनि मनको बाघले खादो रैछ। यतिबेला म, मलाई हिमाल किताबले चंगाइ दिएको ठानिरहेको छु। बौरी उठेको जस्तो भएको छु। अर्थात् न्ह्यौछावर भएको छ, सङ्गीतकर्मीबाट समीक्षकतर्फ। काठमाडौं आउन पाउनु पनि ठूलै कुरा रैछ। समयको तुर्लुङमा चिचिण्डो फलेजस्तै झुण्डिएर यहाँ आएको छु।
दार्जीलिङ र काठमाडौंः आधुनिक सङ्गीतका दुई घराना
नेपाली सङ्गीतस्रष्टा कृतिउपर चढाइ गर्नुअघि लेखक पिटर जे. कार्थकलाई मैले प्रत्येक ठाउँ प्रत्येक मान्छे कृतिबाट एकतर्फी रूपमा चिने। हामीबीच कैले भेट भयो भन्न सक्दिनँ। तर भेटपछि हाम्रा सम्बन्धहरू कहिल्यै खण्डित खण्डहरमा परिणत भएनन्। बागबगैंचा जस्तै सदाबहार रहिरहे।
मैले लेखेका कृतिहरू उपहार दिँदा पनि पत्रपत्रिकामा समीक्षा गरिदिएर पुनसलाई भारा, बेलाबखतलाई याद र अतीतलाई साइनो सिकञ्जा लेखकले जोडिदिनु गुनिलो कुरा थियो। त्यही गुनले म लालगेडीजस्ता व्यक्तित्व अग्रज कार्थकसँग नजिकिएँ, लहसिएँ।
अहिले म देउरालीलाई पाती चढाएजस्तै गरी कृति र कृतिकारकन शिर्तुपको समिरा उराह लगाउने प्रचेष्टामा छु। सुरिलो सहनाइमा बिहानचरी शुभधुन फुक्ने प्रयत्नमा छु। काठमाडौले एकाबिहानै ब्याँचुली धुन फुकेजस्तै गरी।
प्रकाशक बोल्छ, यी निबन्धहरू मूलतः लेखकले सङ्गत गरेका मानिसहरू बितेपछि उनीहरूप्रति श्रद्धाञ्जलीस्वरूप लेखेका थिए। पछि लेखकले हाम्रो अनुरोधमा आफूले चिनेजानेका मानिसको व्यक्तिचित्रका रूपमा पनि केही निबन्ध लेखे जो यहाँ थपिएका छन्।
लेखक लेख्छन्, ‘दार्जीलिङ पहाडको सङ्गीत संसार र काठमाडौं खाल्डोको सङ्गीत संसार शीर्षकका दुुई निबन्ध उनै वसन्त थापाबाट चुनौती मिलेपछि मैले लेखेको हुँ। यी निबन्ध यसअघि अन्तकतै पनि छापिएका छैनन्। यी जुम्ल्याहा निबन्धमा मैले विगतको दार्जीलिङ र काठमाडौं शहरमा सङ्गीत सिर्जनामा सक्रिय रहेका थोरै मानिसका बारेमा लेखेको छु।’
यसैलाई कुशपानी गरी तिर्पन्ताम्–२ गरे पनि हुन्थ्यो। किताबै पढ्नेका लागि मैले गनगन गर्नुको अर्थ रहँदैन। बेकार समयको बर्बादी मात्र हो। जे पर्ला भनेर कन्पट समाएको छु।
आज म लेखक, कलाकार कार्थकसँग अर्मल तिर्दैछु कि लिँदैछु ? थाहा छैन। भावावेशमा अति प्रशंसा गरुँला। नियतवश आलोचना हुनसक्ला। यो अवसर, जोखिम र चुनौतीका त्यौहारबीच कुनै उत्सव आतिसबाजी मबाट हुनसक्दैन भन्ने लाग्छ। ज्ञानका अक्करहरू छिचोल्नु सहज छैन।
हामीले कहिल्यै सँगै साङ्गीतिक सहकार्य गरेनौं। न बाजागाजाका ज्यामिङ अप नै। नत्र म पनि यस कृतिभित्र एक पात्र वा अभियुक्त सोलमारिष्टका रूपमा उत्कीर्ण हुन्थेँ सदाकालका लागि ढुंगाको अक्षरजस्तो।
रेडियो नेपालबाट अग्रज कलाकार कार्थक निर्वासित हुनु र अनुज मुकारुङ पदासीन हुनुको कथान्तरले म जोगिएँ। कृतिकारले स्पष्ट रूपमा कलाकारका आनीबानी र स्वभावजन्य दुर्गुणहरू अलङ्कारण गरी नढाँटिकन जस्ताको त्यस्तै लेखिपठाएका छन्। कुनै मोलाहिजा छैन। कोही दुःखी वा खुशी होस् भन्ने पर्वाह पनि छैन। यसैले छोटे भैया हुनुको मजाको बिस्कुन म पनि सुकाउँदैछु।
कृतिकार कार्थकको नेपाली सङ्गीतस्रष्टा नामक कृति दार्जीलिङको चौरस्ता जस्तै हो एक अर्थमा। जहाँबाट चारैतर्फ देख्न सकिन्छ। अझैभन्दा चौतर्फी ढोका भएको एउटा सुन्दर तर प्राचीन गिर्जाघर हो। अभौतिक इमारत हो, एउटा पुरानो सम्पदा। जसभित्र जुन ढोकाबाट पनि प्रवेश गर्न अथवा निस्कन सकिन्छ। कार्थकका कथा–कत्थ्य र लेखनीअनुसार।
अथवा यसो पनि भन्न सकिन्छ नेपाली सङ्गीतस्रष्टा कृति कञ्चनजंघा हिमाल हो। जसलाई देखेर कोही आल्लादित हुन सक्ने छन्। कोही दुःखी पनि हुन सक्छन्। अर्थात् विभिन्न कोणबाट दृष्टिगत गर्न सकिन्छ।
त्यसैले यो कृति साहित्य, सङ्गीत, राजनीति र इतिहास अभिलेखन–उन्नयन गर्ने संस्मरात्मक संग्रह हो। लेखकको पूर्वातीत स्मृति अर्थात् नोस्टालजिया हो। ज्ञान र भनुभव हो। उबेलाको दार्जीलिङ अनि काठमाडौंको सजीव चित्रण हो। संघर्ष अनि जीवनलाई जीवन जस्तो बनाउने प्रेरणाको स्रोत हो। कृति, नेपाली सङ्गीतका निम्ति झोलुङ्गे पुल हो। जसले नेपाल–भारतलाई सङ्गीतका माध्यमले ओहोर–दोहोर गराउन बाध्य पार्दछ। त्यति मात्र होइन कृतिले विश्व सङ्गीतका उतार–चढाव, अवयव अनि फैलावटलाई निरूपण गरेको छ।
कृतिले विशेष गरेर आधुनिक नेपाली सङ्गीतको उन्नयनमा दुईटा विपुल घराना देखाएको छ। पहिलो दार्जीलिङको सङ्गीत घराना, जसको नेतृत्व अम्बर गुरुङले गरेका छन्। र दार्जीलिङ पहाडमा नेपाली सङ्गीत गोदावरी, मखमली फूलझैं झपक्क झप्किएको छ।
दोस्रो काठमाडौंको सङ्गीत घराना। जसको नेतृत्व नातिकाजीले गरेका छन्। अनि काठमाडौं खाल्डोको मलिलो माटोमा अजूस्वाँ, उफोस्वाँ, धुस्वाँ फूलझैं उही नेपाली सङ्गीत फुले–फक्रेको छ।
दुइटै घराना वा केन्द्रका सङ्गीत, गायन, शैली र विशेषता पृथक पृथक हुन् भन्ने स्पष्ट धारणा छ। दार्जीलिङ इसाइ र स्थानीय बंगाली साथै काठमाडौं हिन्दू, बौद्ध वा चर्या नेवारी परम्परागत सङ्गीतबाट उठे–उब्जेको हो भन्ने जिरह गरिएको छ। जो सम्झनारूपी ससाना किर्कौले घटनाहरूले देखाउने गर्छन्।
यो निबन्ध कृति नेपाली सङ्गीतका फेरबदल, विश्व सङ्गीतको प्रभाव, संस्मरण, नियात्रा, आख्यानादि उजागर गर्दै दार्जीलिङको पुरानो समाजसम्म पुगेर थुर्रिन्छ। कृतिले दार्जीलिङको भौगोलिक बनावट, पर्यावरण, सभ्यता, रहनसहन अनि समाजले भोगेका रुग्ण, दारुण र दुरुह चित्रण दन्त्यकथाझैं कहन्छ। र भौतिक–अभौतिक बेलायती सभ्यता र नेपाली संस्कृतिको समिश्रणलाई छ्याङ उघार्न सफल छ। यो लेखकीय खुबी, दक्षता वा लेखकस्वयले वरण गरेको अनुभूति हो।
कृतिले आधुनिक नेपाली सङ्गीतका अल्फा–ओमेगा (ग्रीक) अर्थात् आदि र अन्त्य भनी सङ्गीतजीवि अम्बर गुरुङलाई टाइगर हिलजस्तै उठाइएको छ। समग्रमा कृतिले नौलाख तारा उदाएका गायक गुरुङ आधुनिक नेपाली सङ्गीतका गवेषक हुन्, आरम्भकर्ता हुन्, प्रणेता हुन्। नेपाली आधुनिक सङ्गीतका मसिहा हुन् भन्ने जिकिर, दलिल र पैरवी गरेको छ। यो एक प्रकारको फतह पनि हो।
यहाँ प्रश्न उठ्छ –के के आधुनिक वाद्ययन्त्र, गीत र गायन भएपछि आधुनिक नेपाली सङ्गीत हुन्छ ? आज पनि यो अनुत्तरित प्रश्न हो। किनकि ती अगुवा कलाकारका प्रचलित गीत–गायनमा पनि आधुनिक बाजा पियानो, क्लारिनेट, तबला, गितार आदि प्रयुक्त छन्। अतीतका सङ्गीतकर्मी उस्ताद सेतुराम, मास्टर मित्रसेन र ठुरा मेलवादेवी विस्मृत भए पनि बिर्सिनसक्नुका साङ्गीतिक सिर्जनाहरूले ती विषय बोलिरहेका छन्। अनि आधुनिक नेपाली सङ्गीतको उठान लोकजनले त्यसैलाई मानेको देखिन्छ।
कृति नौलाख ताराको सेरोफेरोमा प्रायः घुमेको छ। अगम–अम्बरलाई लेखकले देवत्वकरण पनि गरेका छन्। मेरो मान्यता के छ भने ईश्वर पनि एकदिन मर्छ। जतिबेला उसका आस्था, विश्वास र स्तुतिकर्ताको मृत्यु हुन्छ। अम्बर गुरुङलाई मैले एक परिपक्व अनि सिङ्गो स्रष्टा मानेकै छु। प्रकाशकको आग्रहमा लेखकले लिपिवद्ध गरेका कलाकारका बारे–विषय–वस्तु आएपछि भने यी कुराहरु स्वतः छिमलिन्छन्। तर लेखकको सर्वाधिकार सधैँ सुरक्षित हुन्छ।
दार्जीलिङ पहाडको कथन आउँदा होस् या काठमाडौं खाल्डोको। वृत्तचित्र, पुरानो स्लाइड वा रङ्गीन चलचित्र हेरेझैं लाग्छ। यो एउटा सङ्गीतसँग गाँसिएर आउने उदाङ्गो प्रेमकथा पनि हो। पाठकलाई कल्पनाको अथाह आकाशमा उडाइदिने।
कृतिकार अम्बरको सधैँ दाहिने छेउमा र अरु सुरकर्मीसँग समानान्तर साङ्गीतिक समरमा योद्धाझंैं लडिरहेका हुन्छन्। नत्र यी घटना, प्रेमिल आलाप, अभाव, बिछोड, मद्यपान, हल्का गुण्डागर्दी अनि दार्जीलिङका दुखान्त सन्दर्भहरू कृतिमा कसरी बिलेपित हुन्थे र। दार्जीलिङ सहज र काठमाडौं केही असहज।
तुलनात्मक रूपमा काठमाडौंलाई साम्प्रदायिक, अलिक गवाँर असभ्य र अशिक्षित साथै सङ्गीतमा अपारङ्गत जस्तो कृतिकारले ठानेका छन्। एक ठाउँमा त काठमाडौंका कलाकार अंग्रेजी जान्दैन थिए भन्ने भाष्य पनि परेको छ। के अंग्रेजी जान्नु मात्र सभ्य र शिक्षित हुनु हो र ? सवाल पनि उठ्छ।
विश्वभरि कति भाषा होलान्। मात्र क्रिकेटबाट विश्वले चिनेको पपुवा न्युगिनीमा हाल सातसय भाषा बोलिन्छन्। विश्वका अन्य भाषी मुलुकले पनि सभ्यता र विकास, साहित्य र सङ्गीतका माध्यमले माथि उठेका थुप्रै उदाहरण छन्।
आफ्नै सौन्दर्य चेतको खाँचो
कुनै पनि सङ्गीत साधना, अभ्यास र अनुरागको विषय हो। नेपालमा एकजना मात्र डबल बेस वादकको कुरा पनि छ तर नाम उल्लेख छैन। ती चाबेल निवासी रामप्रसाद बैजू थिए। उनी एक मात्र आधुनिक पाश्चात्य डबल वेस बाजाका कुशल वादक थिए। डबलबेस, भायोलिन, भिवोला, चेलोपछिको सबभन्दा ठूलो आवाज भएको तन्तु वाद्य हो। यसले के पुष्टि गर्छ भने काठमाडौं दार्जीलिङभन्दा आधुनिक सङ्गीतको आविर्भावमा कम थिएन।
यसो त मुख्तियार भीमसेन थापाकै पालामा फ्रान्सबाट आधुनिक बाजा झिकाएर पृथ्वीनारायण शाहले स्थापना गरेको शार्दूलजंग गुल्मका लागि नेपालकैं पहिलो ११ जनाको बेणु बाजादललाई विस्थापन गरी सैनिक ब्रास ब्याण्ड गठन गरिएको इतिहास छ। त्यही लिगेसीको लिकमा अहिलेको नेपालको सैनिक ब्याण्ड चालू छ।
उता हिलियन्स चलिरहँदा यता ‘द पाखे ब्याण्ड’ जनस्तरमा चालु थियो। उता डायण्ड, टाइगर आदि ब्याण्ड चालु थिए भने यता राल्फा, लेकाली, देउराली आदि अस्तित्वमा थिए। यसबाट नेपालमा कहिले आधुनिक सङ्गीत छिर्याे भन्ने अनुमान लगाउन कसैले शनिवार बार्नुपर्दैन।
भारतले पश्चिमी बाजाहरू मायाले मुसार्न पाएको त्यहाँ इष्ट इन्डिया कम्पनीले राज गरे पछि मात्रै हो। कलकत्ता, बम्बैया रेकर्डिङको स्वाद चाख्न पाएको दोस्रो विश्वयुद्धपछि हो। जर्जी ब्याङ्कस, लुई व्याङ्कसका सन्दर्भमा वादनका अनेकन् तारिफ आए। तर जर्जी नेपालबाटै दार्जीलिङ गएका हुन्। उनी डिल्लीबजार निवासी थिए भन्ने कुरा नेपाली सङ्गीत साधक कृतिका लेखक रामशरण दर्नालले उल्लेख गरेका छन्। दार्जीलिङमा ब्रास ब्याण्ड सुरु गर्ने पहिलो व्यक्ति जर्जी नै हुन्।
त्यसैगरी शास्त्रीय गायन, सितार वादन सुरु गर्ने पहिलो व्यक्ति त्रिरत्न तुलाधर रानीपोखरी नजिकैं भोटाहिटीबाट गएको उल्लेख दार्जीलिङबाटै प्रकाशित सम्झाउनी नामक ग्रन्थले गरेको छ। दार्जीलिङबाट सङ्गीतकर्मी नेपाल भित्रिनुमा पेसागत अवसर र राजनीतिक चपेटाले मुख्य भूमिका खेलेको देखिन्छ। र काठमाडौं खाल्डो प्राङ्गार हुनुले पनि पहाडतिरका सङ्गीतकर्मी आकर्षित भएका हुन्।
क्वार्टेड शब्दले हिजोआज समकालीन नेपाली सङ्गीत जगतमा भ्रम दिन्छ। यो शब्द कृतिकारले धेरै जसो प्रयोग गरेका छन्। वास्तवमा यो सङ्गीतको कुनै शैली वा रचना होइन। समूह वाचक शब्द हो। सोलो–एकल, डुयट–युगल, ट्रायो–तीन, क्वार्टेड चार जनाको सामुहिक सङ्गीत प्रस्तुति हो। अझै त्यसपछि सिम्फनी र च्याम्बर म्युजिकसम्म पुग्छ र धेरै वादक समूहको सहभागिता लिन्छु। जर्जीपछि दार्जीलिङलाई आधुनिक सङ्गीत (अर्केष्ट्रेसन)लाई जनस्तरमा पुर्याउने कपिलराज सुब्बाका बारेमा सिलिगुडी निवासी लेखक जीवन लावरले आफ्नो हाम्रा अमूल्य रत्नहरू ग्रन्थमा उल्लेख गरेका छन्।
दार्जीलिङमा पूर्वीयभन्दा पश्चिमी सङ्गीतको प्रभाव–रुझान रहनु गरिबी, गोराहरूको इसाइकरण र चर्चभित्रको कोरल–कोइयार गायन नै हो भन्ने आविल छाया कृतिभित्र देखिन्छ। कार्थकले कतिपय नेपाली कलाकारलाई पश्चिमा कलाकारसँग तुलना गरेका छन्। नेपाली सङ्गीत सौन्दर्यलाई पाश्चात्य अधीनस्त चैतन्यले पनि देखेका छन्। अब नेपाली गीत–सङ्गीत, कला, साहित्य हाम्रै सौन्दर्य चेतले विश्लेषण गरिनुपर्छ भन्ने मेरो बुझाइ हो।
ब्लुज, टेङ्गो, सुफी, जिप्सी, कब्बाली विश्वजनित सङ्गीतका झलक झिल्काहरू छन्। रेगे, जुलू अफ्रिकी सङ्गीतको कुरो छैन। न त पोलक, बुका, हुदा आदि सङ्गीतको नै। यी शैलीका विश्व सङ्गीतसँग दार्जीलिङ आइसोलेसनमै थियो कि ? काठमाडौंको त के कुरा गर्नु।
बंगाली बाउल फकिरी सङ्गीतशैली हल्का उठान कृतिले गरेको छ। अल्टो, सप्रानो, बेस स्वर–गायनको वर्गीकृत उल्लेख भए पनि ब्यारिटोन, फलसेट्टो स्वरबारे कृति मौन छ। दार्जीलिङ बंगाली गीत–सङ्गीतशैलीको प्रत्यक्ष–अप्रत्यक्ष प्रभावबाट उन्मुक्ति पाउन सकेको छैन।
के थियो देवकोटा सङ्गीत ?
अन्त्यमा, देवकोटा सङ्गीतको सन्दर्भ कृतिमा आउँछ। के हो देवकोटा सङ्गीत ? आजसम्म न अगम–अम्बरहरूले यसबारे लेखे, न त अरु सङ्गीतकर्मीले नै।
दार्जीलिङ बंगालीबाबुहरूको चपेटामा थियो। थिचोमिचो र जेनोसाइडका कारण हिरिकहिरिक थियो। बंगालीबाबुहरू रवीन्द्रनाथ टैगोरले निष्पत्ति गरेको गीत, गायन, लय–तरज प्रदर्शन गर्थे र आफू र आफ्नो समूदायलाई गर्विलो ठान्थे। गाँड फुलाएर गुन्द्रीबजारमा सयर गर्थे। अन्य भाषीलाई हेपाहा दृष्टिले हेर्दै जोकर पाल्तु ठान्थे। यसैको परिणाम थियो देवकोटा सङ्गीत। विगतको हाजिरमाने गीतको झिल्को झलक्क नै वास्तवमा देवकोटा सङ्गीत हो। यसलाई अम्बर गुरुङले अर्जापे।
दार्जीलिङका गोर्खाहरूको नाक दुखेपछि नेपाली गीतलाई के भन्ने ? प्रश्नको उत्तर खोज्दा देवकोटा सङ्गीत भनी काउन्टर हान्नुको विकल्प थिएन। देवकोटा सङ्गीतको खासै केही सैद्धान्तिक विनियोजन नहुनुले नै यसका अनुसाधकहरू भएनन्। त्यसैले देवकोटा सङ्गीत विस्तृतीकरणमा पनि जान पाएन। भरासिलो व्याख्या विश्लेषण पनि पाएन। दार्जीलिङमै आजतक रहेका सुरकर्मीहरूले आफ्ना गीत–सङ्गीतलाई यतिबेला जातीय गीत भन्दैछन्। अझै अस्तित्वको पौंठेजोरी सकिएको छैन दार्जीलिङमा। नेपालमा जातीय गीत भन्यो भने भुङ्ग्रो पो उठिपठाउँछ। यस्तो भुङ्ग्रो न ताप्नु न सेक्नु।
दार्जीलिङ पहाडको सङ्गीत संसार र काठमाडौं खाल्डोको सङ्गीत संसार शीर्षक झट्ट हेर्दा प्रतीकात्मक छ। तर यसलाई मैले सीधा र भौगोलिक हिसाबले मात्र लेखकले लेखे–भनेका हुन् भन्ने बुझेको छु। यदि यो बिम्बात्मक हो, नियतवश हो वा होचो अग्लो हो भने यथार्थ त्यस्तो होइन। जानाजान लेखकले मसी सकेका वा लेखकको निजी ताहुर–माहुर दृष्टिगोचर होलान्। मलाई लाग्छ, लेखक–कलाकार कार्थकका दुखेसाहरू हुन्। विगतलाई ब्युँझाउने यथार्थपरक सततः स्मृतिहरू हुन्।
शुक्रराज शास्त्रीले रचेको ‘न घरलाई घर कहिन्छ’ बोलको गीत गाएपछि मेलवादेवी राणा सत्ताको कोप भाजनमा परेकी थिइन्। त्यस्तै २०४६ सालको परिवर्तनसँगै तारादेवी पनि सत्ताको कोपमा परेकी हुन् भन्ने यथार्थ कृतिमा छ। योगेश वैद्यलाई साप्रदायिक भनिएको छ तर उनले नेवार होइन मुस्लिम केटी बिहे गरेका थिए। भक्तराज आचार्य घमण्डी वा दम्भी थिए भन्ने पनि परेको छ, डुवर्स पुग्दा अम्बर गुरुङको कार्यक्रम विथोल्नेमध्ये ‘नक्सलाइट’ लाक्षणिक रूपमा उनलाई देखिन्छ।
गोपाल योञ्जन, अरुणा लामा, पुष्प नेपाली, जितेन्द्र बर्देवा, नारायणगोपाल, शरण प्रधान, लुई ब्यांकस, अगमसिंह गिरी, रन्जित गजमेर, नातिकाजी, कर्म योञ्जन, शिवशंकर, उही गोविन्दबहादुर गुरुङ, कुमार बस्नेत, तारादेवी, दिव्य खालिङ, विद्या श्रेष्ठ, शशिराम भण्डारी, फत्तेमान, बच्चुकैलाश आदि सुरकर्मीसँगका यादगार उठबस र तिनले नेपाली सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योदगानका बारेमा कृतिकारले कृतिमा सविस्तार उल्लेख गरेका छन्।
प्रकाशकको जोडबलमा जोडिएका दार्जीलिङका गितार वादक ‘पिटर बस्तीको ठिटो’ सेल्फ पोट्रेट हो। र, इन्द्र थपलिया, शान्ति ठटाल, निर्मला गजमेर, दिलमाया खाती, कुमार सुब्बा, संगीता सुब्बा, रवि दास, अशोक राई स्मृतिपटका सहसुरकर्मी हुन्। हिमालय कला मन्दिर, संगम क्लब, आर्ट एकेडेमी अफ म्युजिक र लोक मनोरञ्जन शाखा गरी चारवटा संस्था समेटिएका छन्। यसैगरी काठमाडौं खाल्डोका सुरकर्मी ध्रुव केसी, माणिकरत्न, प्रेमध्वज, दीप श्रेष्ठ, गौरी केसी र अन्त्यमा झलकमान गन्धर्वलाई पनि रसायन गरिएको छ।
यसो त झलकमान रेडियो नेपालमा लामै समय जागिरे गायक बने र ‘आमाले सोध्लिन्’ जस्ता नेपालको अमूल्य लोकपरम्परागत वीरगाथा कर्खा गायनलाई सीमा–सरहदसम्म लान सफल भए। उनका भाइको नाम लालबहादुर गन्धर्व हो।
शुक्रराज शास्त्रीले रचेको ‘न घरलाई घर कहिन्छ’ बोलको गीत गाएपछि मेलवादेवी राणा सत्ताको कोप भाजनमा परेकी थिइन्। त्यस्तै २०४६ सालको परिवर्तनसँगै तारादेवी पनि सत्ताको कोपमा परेकी हुन् भन्ने यथार्थ कृतिमा छ।
योगेश वैद्यलाई साप्रदायिक भनिएको छ तर उनले नेवार होइन मुस्लिम केटी बिहे गरेका थिए। भक्तराज आचार्य घमण्डी वा दम्भी थिए भन्ने पनि परेको छ, डुवर्स पुग्दा अम्बर गुरुङको कार्यक्रम विथोल्नेमध्ये ‘नक्सलाइट’ लाक्षणिक रूपमा उनलाई देखिन्छ।
राजा महेन्द्र (गीतकार मवीवि शाह) का कृपाणले प्रवासमा रहेका नेपाली मूलका प्रतिभाशाली साहित्य, कला, सङ्गीत साधकलाई नेपालतर्फ सहर्ष निमन्त्रणा गरी खाइजीविका दिलाउनुको तुकबन्दी, र धीरशमशेर, धीरधामको चर्चाले सत्य इतिहास बोलिरहेको देखिन्छ।
लेखक कार्थकले निबन्ध कृतिमार्फत कसैलाई खुशी पार्न वा कुनै व्यक्ति विशेषलाई दुःखी तुल्याउन लेखेको होइन मेरो बुझाइमा। तर यस कृतिका कारण कतिपय सुरकर्मी उत्तेजित हुने र कतिपय कलाकर्मी उमङ्गित हुने पक्का देखिन्छ। यसतर्फ प्रकाशक संस्थाको ध्यानाकर्षण हुनु जरुरी थियो कि ? पुल्ठो, पुत्ला दहन, नारा जुलुस र उफ्रिपाफ्री गर्न पाउने अत्याधिक गणतन्त्र त संविधानले दिएकै छ।
अग्निवाणरूपी प्रवासी शब्द–वचनले भने लेखकलाई तातो फलाममा होद्रोले हानेजस्तै भएको छ। सुम्ला बस्नेगरी लौरो लागेको छ। खाटा बस्नेगरी डामेको छ। गुर्भे साँपले जस्तै डसेको छ। पाखे, प्रवासी, छ्यात्तरे, मनु मखु मर्स्या, खेँचा, ख्याक आदि शाब्दिक छुरी प्रहार उपत्यकाले काठमाडौं बाहिरबाट आउने–जाने जो कोहीलाई प्रयोग गर्ने एकखाले पर्यायवाची शब्दहरू हुन्।
मायालु मिमांस गर्छु भन्दाभन्दै बिल्टुवा विवेचना भयो होला। अब समाप्तिको सियाँ सेलाउँदैछु। नेपाली सङ्गीतस्रष्टा नेपाली सङ्गीत क्षेत्र र इतर अध्येताहरूका लागि एउटा माइलखुट्टी दस्तावेज हो। नेपाली सङ्गीत क्षेत्रमा प्रकाशित भएका सङ्गीत सम्बन्धी ग्रन्थहरू माझको एउटा अर्को पिरामिड हो। प्रस्तार शिलालेख हो। आधुनिक नेपाली सङ्गीत इतिहास उत्खनन्का निम्ति बेजोड सन्दर्भ संग्रह हो। अदेखा अभिलेखको उत्कीर्ण पनि हो। भोलिका लागि देउराली उकाली हो। जसमा अरुले पनि चाँप–चिमल चढाउँदै जानुपर्ला।
लेखक कार्थकले निबन्ध कृतिमार्फत कसैलाई खुशी पार्न वा कुनै व्यक्ति विशेषलाई दुःखी तुल्याउन लेखेको होइन मेरो बुझाइमा। तर यस कृतिका कारण कतिपय सुरकर्मी उत्तेजित हुने र कतिपय कलाकर्मी उमङ्गित हुने पक्का देखिन्छ। यसतर्फ प्रकाशक संस्थाको ध्यानाकर्षण हुनु जरुरी थियो कि ? पुल्ठो, पुत्ला दहन, नारा जुलुस र उफ्रिपाफ्री गर्न पाउने अत्याधिक गणतन्त्र त संविधानले दिएकै छ।
मञ्चबाट वीरगति प्राप्त गर्नुअघि अनुवादक, लेखक, प्रकाशक यी त्रिवेणी अनुष्ठानलाई तिरोभाव अर्पण गर्दछु। मूल्य सस्तो तर मज्जाको किताब निकाल्ने हिमाल किताबलाई स्यावास भन्छु हृदयदेखि नै। भाषाले मीठो र लयवद्ध भाका हालेको छ। मीठा अनुवादका शिल्पी अनुवादकको कारिगरी जति प्रशंसा गरे पनि पुग्दैन। मङ्सिर हो महीना, प्रकाशकलाई समृद्धि मिलोस्। उपस्थित सबै श्रोतालाई सुनैसुनको माला !
जाँदाजाँदै नारायणगोपालले गाएको गीत चुटुक्क:
सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु,
मेरो कोही भएनछ सबको म भएछु।
हार्दिक धन्यवाद !
(२७ मंसीर शनिबार काठमाडौंमा आयोजित पिटर जे.कार्थकलिखित पुस्तक ‘नेपाली सङ्गीतस्रष्टाः दार्जीलिङ र काठमाडौंको सङ्गीत संसार’ को लोकार्पण समारोहमा संगीतकर्मी तथा संगीत अन्वेषक बुलु मुकारुङले दिएको मन्तव्यको सम्पादित अंश। वसन्त थापाले सम्पादन/संयोजन गरेको यो पुस्तक हिमाल किताबले बजारमा ल्याएको हो।)