भीम रावल भन्छन्- 'पार्टीलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई आमन्त्रण गर्नु मर्यादा उल्लंघन'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले भाजपाका विदेश विभाग प्रमुखलाई आफ्नै पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई समेत जानकारी नदिइ बालुवाटारमा बोलाएर छलफल गर्नु कूटनीतिक मर्यादाको उल्लंघन भएको टिप्पणी गरेका छन्।
केही दिन अघिदेखि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा आएर प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेको विषयलाई लिएर रावलले उक्त टिप्पणी गरेका हुन्।
चौथाइवाले नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। साथै उनले प्रधानमन्त्री ओलीसँग भेट गरेको तस्बिर पनि सार्वजनिक गरेका छन्। पछिल्लो समय भारतबाट सैन्य, गुप्तचरसहितको कर्मचारी तहमा नेपाल भ्रमण भइरहँदा सत्तारुढ दलका विदेश विभाग प्रमुख चौथाइवा पनि नेपाल आएका हुन् ।
"आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश,पार्टी र पदको गरिमाको रक्षा होस्", रावलले ट्वीटमा लेखेका छन्।