अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश
विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ। बालुवाटारस्थित ललीता निवासको जग्गा व्यक्तिका नाममा सार्न भूमिका खेलेकोमा भ्रष्टाचारको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले थुनामा राख्न आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेले हिमालखबरलाई जानकारी दिए।
न्यायाधीशहरू प्रेमराज कार्की, अब्दूलअजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। बस्न्यातले आइतबार नै विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयान सकिएपछि आजै थुनछेक बहस भएको थियो। त्यसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो।
उनलाई अख्तियारले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको भन्दै विशेष अदालतमा २२ माघ २०७६ मा मुद्दा चलाएको थियो। उनीसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो।
अदालतको आदेशपछि बस्न्यात मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा बस्नुपर्नेछ। यद्यपी उनले विशेष अदालतको आजको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दिन भने पाउनेछन्।
अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। पहिलो- सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको। दोस्रो- नेपाल सरकारई हानि पुर्याउने बदनियतले लिखत तयार गरेको र तेस्रो- सरकारी सम्पत्तिको हानि नोक्सानी गरेको। बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललीता निवसास्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो। उक्त समयको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको रू. ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो। उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ।
साथै नियतबस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महीनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म थप जरिवाना पनि माग गरेको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसूरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ।
ललीता निवसा प्रकरणमा मुद्दा लागेकामध्ये विशेष अदालतले थुनामा पठाउन आदेश दिएकामध्ये बस्न्यात दोस्रो व्यक्ति हुन्। यसअघि तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो। विशेषको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याउँदै गत असारमा उनलाई २ लाख धरौटीमा छोड्न आदेश गरेको थियो।
त्यसपछि बयानको लागि विशेस अदालत पुगेका कसैलाई पनि अदालतले थुनामा पठाउने आदेश गरेको थिएन। अधिकांशसँग धरौटी मागेको अदालतले केहीलाई भने तारेखमा छाडेको थियो।