गैंडाको लागि बर्दिया राष्ट्रिय निकुञ्ज अनुपयुक्त, स्थानान्तरण गरिएका १०० मध्ये थोरै मात्र बाँकी
सन् १९८६ यता चितवनबाट स्थानान्तरण गरिएका १०० वटा गैंडाको संरक्षण हुन नसक्नुले बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको लागि उपयुक्त बासस्थान नरहेको देखाएको छ।
लोपोन्मुख वन्यजन्तुलाई एक स्थानमा मात्र राख्दा प्राकृतिक विपद्, रोगब्याधी आदिका कारण मासिन सक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गरिन्छ। त्यसो गर्दा वन्यजन्तुको संख्या विस्तारको पनि अपेक्षा राखिन्छ। यस्तै योजना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सन् १९८६ देखि एकसिंगे गैंडा स्थानान्तरण गर्न थालिएको थियो। त्यसयता सन् २०१७ सम्म ३१ वर्षको अवधिमा विभिन्न ठाउँबाट त्यहाँ १०० वटा गैंडा स्थानान्तरण गरिएको थियो।
तर, गैंडाको संख्या बढ्नु साटो उल्टै घटेको देखिएको छ। यसले बर्दिया राष्ट्रिय निकुञ्ज गैंडाको बासस्थानका लागि उपयुक्त हो कि होइन भन्ने बहस विगतदेखि चल्दै आएको छ। तर, गैंडा स्थानान्तरणको काम रोकिएको छैन। बर्दियामा तीन दशकको अवधिमा ५५ वटा पोथी र ४५ वटा भाले गैंडा लगिएको थियो। तर, अहिले त्यहाँ ३७ वटा मात्र गैंडा छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, ३४ वटा गैंडा चोरी शिकारका कारण मारिएका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ विगतको संकटकालमा चोरी शिकारका कारण गैंडाको संख्या घटे पनि सन् २००८ देखि बिस्तारै बढ्दो क्रममा रहेको बताउँछन्। श्रेष्ठ भन्छन्, “संकटकालमा सबै सैनिक पोष्ट हटेका कारण चोरी शिकार बढेर गैंडाको संख्यामा कमी आयो। अहिले भने बिस्तारै बढ्ने क्रममा छ।”
सन् २००५ को गणनामा बर्दियामा गैंडाको संख्या ६७ थियो। त्यस्तै, २००८ मा आइपुग्दा यो संख्या २२ मा झ¥यो। पछिल्लो गणना अनुसार निकुञ्जमा ३७ वटा गैंडा छन्।
सन् २००५ को गणनामा बर्दियामा गैंडाको संख्या ६७ थियो। त्यस्तै, २००८ मा आइपुग्दा यो संख्या २२ मा झ¥यो। पछिल्लो गणना अनुसार निकुञ्जमा ३७ वटा गैंडा छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार, बबई उपत्यकाको नदी तटीय क्षेत्रहरुमा प्राकृतिक पोखरी नहुँदा गैंडाको आहालका लागि केही समस्या भए पनि ती ठाउँमा पनि कृत्रिम पोखरीहरु निर्माण र घाँसे मैदान व्यवस्थापन भइरहेको छ।
बर्दियामा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा सारिएको थियो। तर, प्रजनन भएर गैंडाको संख्यामा वृद्धि हुुनु त टाढाको कुरा, स्थानान्तरण गरिएका पनि सुरक्षित नभएर झन् घटेपछि गैंडाको लागि बर्दिया राष्ट्रिय निकुञ्ज अनुपयुक्त देखिएको छ।
गैंडाको लागि चाहिने घाँसे मैदान लगायत प्राकृतिक बासस्थान उपयुक्त नभएकै कारण बर्दियामा गैंडाको संख्या वृद्धि हुन सकेको छैन। वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. रामचन्द्र कँडेलका अनुसार, गैंडाका लागि नदी तटीय क्षेत्रहरुमा आहालका लागि घोल तथा चरिचरनका लागि कांस लगायत उपयुक्त घाँस आवश्यक पर्छ। तर, बर्दियामा गैंडाको आहालका लागि उपयुक्त घोल तथा घाँस कम छ।