काठमाडौं उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३४८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २५८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ८३० मा कोरोना पुष्टि भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ।
हालसम्म १८ लाख ३१ हजार ४१ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १० हजार ९९४ रहेको छ।
यस्तै, सोही अवधिमा १५०० जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५१९ जना रहेका छन्।
यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।