ललितपुर महानगरले शुरू गर्यो सचेतना अभियान
ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान शुरू गरेको छ। सडक छेउमा राखिने पर्चा, पम्प्लेट र होडिङ बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता सामग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान शुरू गरेको हो।
आइतबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अभियानको शुरूआत गरे। महानगर प्रमुख महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताए। कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने उनको चेतावनी छ।
यस्तै, फुटपाथमा जथाभावी फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ गर्ने, निर्माण सामग्री राख्ने लगायतका कार्य गर्नेहरूलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ।
सडक छेउमा रहेका बिजुलीका पोलहरूमा जथाभावी तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने प्रमुख महर्जनले बताए। उनले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरवासीको सहयोग अनिवार्य रहेको बताए।