नेकपाभित्रको समस्या अल्पमत–बहुमतबाट समाधान हुन सक्दैन : मन्त्री श्रेष्ठ
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाभित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पार्टीभित्रको अहिलेको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताएका हुन्।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने बताए।
उनले दुई अध्यक्षको सहमति बेगर कुनैपनि समस्याको समाधान हुन नसक्ने बताए। श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको १९ पृष्ठ लामो दस्तावेज आरोपपत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने धारणा राखे।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो दस्तावेजमाथि छलफल गरेर अगाडि बढेमात्रै पार्टीले निकास पाउने पनि मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अबको चुनावपछी र पार्टी अध्यक्ष पद आगामी महाधिवेशन पछि मात्रै छाड्ने पनि स्पष्ट रहेको बताए। पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको उनको भनाइ छ।
दुई अध्यक्षमध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको श्रेष्ठको टिप्पणी छ।