कमानसिंह र हाइड्रोपावरको विवादमा नारायणकाजीलाई अनावश्यक मुछियोः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेकपाका दिवंगत नेता कमानसिंह लामा र एउटा हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रूपमा मुछिएको बताएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले श्रेष्ठले विवाद मिलाउन समन्वयकारी भूमिका खेलेकोमा यसलाई अन्यथा प्रचार गरिएको बताए।
“कमरेड कमानसिंह लामाको निधनबाट शोकाकुल र दुःखित रहेको यस घडीमा कमरेड लामा र एउटा हाइड्रोपावर सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर भएका प्रचारको भ्रममा नपर्न र नलगाग्न अनुरोध गर्दछु”, बैठकमा दाहालले भने।
२५ मंसीरमा लामाको निधन भएपछि बाहिरिएको एउटा अडियो/भिडिओ बाहिरिएको थियो। जसमा नारायणकाजी मुछिएका थिए। उनले अढाई करोडको लेनदेनमा मोलमोलाई गरेको भन्दै नेकपाकै अर्को समूहले चर्को आलोचना गरिरहेको छ।
तर, अध्यक्ष दाहालले आइतबारे स्थायी कमिटी बैठकमा प्रवक्ता श्रेष्ठको बचाउ गर्दै भ्रममा नपर्न अपील गरे। दाहालले प्रवक्ता श्रेष्ठले ‘तपाईंहरू आफ्नै साथीहरू भएकोले मिल्नुस्’ भन्ने बाहेक अरु कुनै भूमिकाना नगरेको बताएका थिए।
बैठकले लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। अर्को बैठक अब १ पुस दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए। आइतबारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए। उनी यसअघि २१ मंसीरमा बसेको बैठकमा सहभागी भएका थिएनन्।