शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा बैठक, अर्को बैठक १ पुसमा
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबारलाई सकिएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको हो।
अर्को बैठक अब १ पुस दिउँसो १ बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। आइतबारको बैठकले नेकपा नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। कोरोनाभाइरस संक्रमित नेता लामाको २५ मंसीरमा निधन भएको थियो।
आजको बैठकमा लामाबारे अध्यक्ष पुष्पकमल दाहालले मात्र बोलेका थिए। बैठकको अजेण्डा लामाको शोक प्रस्ताव पारित गर्ने रहेको थियो। बैठकमा अध्यक्ष दाहालले लामाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका थिए।
उनले लामाको निधनपछि एउटा हाइड्रोपावरको विषयमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछिएको पनि बताएका थिए।
यसअघि २१ मंसीरमा बसेको बैठक आजसम्मका लागि स्थगित भएको थियो। २१ मंसीरमा धुम्बाराहीमा भएको बैठकमा उपस्थित नभएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका थिए।
ओली सहभागी हुने भएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो।