माराडोनालाई नेपाल चिनाउने सुरेश
दुई दशकअघि अर्जेन्टिना पुगेका ललितपुरका सुरेश केसीबाटै माराडोनाले नेपाल चिने, नेपाली झण्डा बोके। अर्जेन्टिनामा सुरेश नेपाल र नेपालीका प्रतिनिधि झैं बनेका छन्।
माराडोना भेट्ने नेपाली कोही छ त ? माराडोनाको निधनलगत्तै यो जिज्ञासा झनै चल्यो। सुरेश केसीसँग सम्पर्क भएपछि पो थाहा भयो, उनले माराडोनालाई भेटेका मात्र होइन, नेपालको झण्डा समेत बोकाउन लगाएका रहेछन्। माराडोनासँगै विश्वकप जित्ने त्यसताकाका प्रायः अर्जेन्टिनी खेलाडीसँग पटक पटक नजिकबाट भेटेका रहेछन्।
त्यतिमात्र होइन, अर्जेन्टिनी प्रशिक्षकसँग नेपाली फुटबलको विषयमा कुरा गर्न पनि भ्याएका रहेछन्। नेपाली खेलाडीहरूलाई अर्जेन्टिनासम्म पुर्याउने योजना समेत बुनेका रहेछन्।
अर्जेन्टिनामा दुई दशकदेखि बस्दै आएका सुरेशले अर्जेन्टिनामा नेपाल चिनाउन थुप्रै काम गरेका छन्।
दशरथ रंगशाला
सुरेश क्योकुसिन करातेका खेलाडी हुन्। उनको कथा शुरू हुन्छ यही दशरथ रंगशालाबाट।
रंगशाला परिसरभित्र उनी रामजी बज्राचार्यसँग क्योकुसिन सिक्थे अनि रंगशालाबाहिरको गजल रेष्टुरेन्ट (हाल ब्लु क्रस हस्पिटल) मा सुपरभाइजरको काम गर्थे।
“एनआरटीका नरे (नरेन्द्र श्रेष्ठ), मणि दाई (मणि शाह), दावा गुरुङ, मुक्तिसंग्राम विष्टसँग राम्रो सम्बन्ध थियो। एथलेटिक्सकी बिना बहिनी (फिफा रेफ्री बिना श्रेष्ठ)सँग ट्रली बसमा प्रायः सँगसँगै हुन्थें। खै साथीहरूले बिर्सिसके होलान् अब त”, सुरेश भन्छन्।
त्यसपछि ठमेलको मर्स्याङदी होटलमा फुड एण्ड बेभरेज म्यानेजर बनेका सुरेश पर्यटक घुमाउने काम गर्न थाले। हो, त्यही क्रममा एक जोडी अर्जेन्टिनीलाई नगरकोट घुमाउन जाँदा उनमा पनि अर्जेन्टिना पुग्ने रहर जाग्यो।
त्यतिबेला (सन् १९९९)मा अमेरिकी डलर र अर्जेन्टिनाको पेसोको भाउ बराबर थियो।
ललितपुर इमाडोलमा जन्मेका सुरेश विगत सम्झन्छन्, “बुंजे पोखरी छेउमा फुटबल खेल्दादेखि नै माराडोनाको नाम सुनेको। पैसा कमाउन पनि पाइने अनि मौका मिले माराडोनालाई नि भेट्ने, यस्तै सोचेको थिएँ त्योबेला।” भारतस्थित अर्जेन्टिनी दूतावासबाट अर्जेन्टिनाको भिसा सहजै पाएपछि २५ वर्षका सुरेशले नेपाल छोडे।
ला इस्टाम्पा
शुरुमा राजधानी ब्युनर्स आयर्समा सुरेशको जीवन सहज भएन। उनी पुगेलगत्तै अर्जेन्टिनाको अर्थव्यवस्था नराम्ररी खस्कियो।
“पैसा कमाउन आएका प्रायःले यो देश छोडे। तर, म चाहिँ अडिएँ”, सुरेश भन्छन्। उनी कता कता त्यसको कारण माराडोनासँग जोड्न चाहन्छन्।
किन पनि भने, उनी काम गर्ने इटालियन रेष्टुरेन्ट ‘ला इस्टाम्पा’ ब्युनर्स आयर्सको चर्चित रेष्टुरेन्ट थियो। त्यहाँ देशका ठूलाठूला व्यक्तिहरू आँउथे। थप, अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई क्याटरिङको जिम्मा पनि त्यही रेष्टुरेन्टले लिएको थियो। अर्थात् क्याटरिङमा जाने रेष्टुरेन्टको टोलीको अर्जेन्टिनी खेलाडीहरूसँग भेट्ने मौका जुर्थ्यो।
‘ला इस्टाम्पा’ र अर्जेन्टिनामा अल्झिन सुरेशका लागि यो पनि एउटा बहाना बन्यो। तर, उनी त्यसैमा अल्झेर भने बसेनन्। ब्युनर्स आयर्सको विरानो माटोमा संघर्ष गर्दै गए।
दुई वर्षको संघर्षमा सुरेश रेष्टुरेन्टको एउटा शाखाको प्रमुख बनिसकेका थिए। अनि मालिकका विश्वासपात्र पनि। ठूला क्याटरिङका जिम्मा उनैको हुन्थ्यो।
तर, उनले माराडोनालाई भेट्ने मौका भने बल्ल सन् २००६ मा मात्र पाए। माराडोना त ज्यादै ज्याद्रो। एक हुल बडिगार्डको बीचमा हिंड्ने अनि फोटो खिच्न नदिने खालका पो रहेछन्।
“त्यो गजबको भेट थियो”, सुरेश सम्झँदै भन्छन्, “नेपाल भन्ने देश पनि छ भनी माराडोनाले सोधे। मैले नेपालका ८०/९० प्रतिशत मान्छेले तपाईंलाई चिन्छन्, सपोर्ट गर्छन् भनेँ। उनी हाँसे। तर, त्यतिबेला फोटो खिचाउन पाइनँ।”
गजबको सञ्जाल
समय बित्दै गयो। सुरेश स्थापित हुँदै गए। रेष्टुरेन्टको सम्बन्धले उनी ठूलाबडाको सम्पर्कमा पुग्न थाले। कूटनीतिज्ञहरूसँग घनिष्ठता बढ्यो। धेरैले चिने। पत्रपत्रिकामा पनि छाउन थाले।
अर्जेन्टिनाका थुप्रै खेलाडी अनि प्रशिक्षकहरूसँग उनको पटक पटक भेट हुन थाल्यो। गाब्रियल बाटिस्टुटा, मार्टिन पालेर्मो, हुँवा सेबास्टियन भेरोन, रोमन रिक्विल्मे जस्ता विश्वकपका अर्जेन्टिनी खेलाडीहरू रेष्टुरेन्टमा आइरहन्थे। सुरेश सबैका प्रिय थिए। मेस्सीका प्रशिक्षक इडगार्दे बाउसा, भेनेजुयलाका प्रशिक्षक राफेल डुडामेलसँग पनि सम्बन्ध सुमधुर बन्यो।
मौका पाए सबैलाई उनी एउटै कुरा भन्थे– नेपालीहरू राम्रा छन् भनेर सम्झिनु। मौका परे सहयोग गर्नु है !
नेपाल चिनाउने सुरेशको शैली गज्जबको रहेछ। रेष्टुरेन्टमा नयाँ स्टाफ छान्दा उनी युवा र गरीब छान्थें। जागिर दिएपछि उनीहरूलाई चिटमार्फत् दिएर आफ्नो परिचय दिन्थें र भन्थे, तिमीहरूलाई जागिरमा लगाउने मान्छे नेपाल भन्ने देशबाट आएको हो। “जागिर पाउनेले आफ्नो घर परिवारमा हाम्रो देशको कुरा त गर्ला नि भन्ने लाग्थ्यो”, उनी भन्छन्।
सन् २०१० मा सुरेशले अर्जेन्टिनीसँगै विवाह गरे। र, भोजमा बाजा बजाए– बल्ल पर्यो निरमाया माकुरी जालैमा !
एउटा टेलिभिजन च्यानलमा विभिन्न देशको साँस्कृतिक शो देखाइन्थ्यो। एक शोमा टेलिभिजनले नेपालबारे बताउन सुरेशलाई बोलायो। सुरेशले एउटा शर्त राखे– कार्यक्रमभर ब्याक ग्राउण्ड धुन नेपाली राष्ट्रिय गान बजाइनुपर्छ, अनिमात्र म आउछु”। टेलिभिजनले उनको शर्त मान्यो।
ब्युनर्स आयर्सको एउटा मुख्य चोकमा उनले नेपालको ठूलो झन्डा लगाउन सफल भएका छन्।
सुरेशले नेपालको नाम चिनाउन साना ठूला थुप्रै काम गरेका छन्।
“तपाईंहरूलाई याद छ, भूकम्पका बेला दक्षिण अमेरिकाबाट नेपाललाई सहयोग गर्ने पहिलो राष्ट्र अर्जेन्टिना हो। मैले यहाँ खुब कराएँ। राष्ट्रपतिले पनि सुने”, सुरेश भन्छन्।
अर्जेन्टिना पुग्ने नेपालीहरू त सुरेशसँग ठोक्किने भए नै। विश्व साइकल यात्रामा निस्केका पुष्कर शाहलाई उनले दुई साता अर्जेन्टिना घुमाए मात्र होइन दक्षिण अमेरिकाका अन्य राष्ट्रमा पनि चिन्ने जति मान्छेको ठेगाना दिएर पठाए।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अर्जेन्टिना आउँदा पनि गाइड बन्ने पात्र सुरेश नै हुन्।
माराडोनासँगको भेट
अब कुरा गरौं माराडोनासँगको दोस्रो भेटको। पहिलो भेटको १२ वर्षपछि सन् २०१८ मा उनले माराडोनालाई दोस्रो र अन्तिमपटक भेटे, रेष्टुरेन्टमै।
त्यतिबेला माराडोनालाई खुवाएको खाना पनि उनलाई याद छ– फेडेलिनी (पातलो स्पागेट्टी, ओलिभ ओयल, पास्ता र अलिकति पिरो थोपा)।
सुरेशले माराडोनालाई नेपालको राष्ट्रिय झण्डामा अटोग्राफ मागेछन्। तर, माराडोनाले भनेछन्, “राष्ट्रिय झण्डा भनेको शहिदको सपना हो। यसमा केरमेट गर्नुहुन्न। बरु म तिम्रो देशको झण्डा बोक्छु।”
अनि माराडोना र सुरेश दुवैले नेपालको झण्डा उठाए। र, फोटो खिचे। माराडोनाले सुरेशलाई अँगालो मारे र धन्यवाद दिए। माराडोनासँग मज्जाले भेट्ने उनको चाहना बल्ल पूरा भयो।
त्यो क्षण सुरेशलाई अहिले पनि सपना जस्तो लाग्छ। माराडोनाको निधनमा अर्जेन्टिना रोइरहँदा सुरेश त्यही तस्वीर हेरेर टोलाउने गर्छन्।
बाँकी चाहना
नेपाली फुटबललाई अर्जेन्टिनासँग जोड्ने सुरेशको अर्को चाहना हो। त्यसका लागि उनले प्रयास पनि गरेका छन्।
“मैले विमल घर्तिमगरलाई यहाँ ल्याउने प्रयास गरेको थिएँ। तर, पहिले यहाँको एजेन्ट नेपाल गएर हेर्ने, अनि राम्रो देखिएमा मात्र ल्याउने लामो र महंगो प्रक्रियाका कारण आँट्न सकिनँ”, उनी भन्छन्।
अर्जेन्टिनाले सुरेशलाई धेरै खुशी दिएको तर, उनको भित्रि दुःख पनि काम छैन। दुई सन्तान एक जन्मिएको आठ महीनाभित्र र अर्को आमाको पेटमै बितेपछि दम्पति सन्तानविहीन छन्। यसलाई उनी भगवानको इच्छा भन्छन्।
नेपालमा सुरेशका दुई दाजु र तीन दिदी बहिनी छन्। “सबैले देश फर्क, सन्तानका लागि अर्को विवाह गर भन्छन्, तर म श्रीमती छाडेर फर्कने कुरा कल्पना पनि गर्न सक्तिनँ”, उनी भन्छन्, “अर्जेन्टिना शान्त छ। यहाँ मेरो सबथोक छ।”
सुरेश अहिले ला इस्टाम्पाका म्यानेजर बनिसकेका छन्। उनको आफ्नै वाइनको व्यवसाय पनि छ।
कामसँगै नेपाल चिनाउने, नेपाल र नेपालीलाई सहयोग गर्ने उनको दैनिकी बनिसकेको छ। र, सबैभन्दा राम्रो कुरा त यसो गर्नुले उनलाई खुशी दिएको छ। लाग्छ, सुरेश अर्जेन्टिनाका लागि नेपालका अवैतनिक दूत हुन्।