२१औं एशियाली खेलकुद साउदीमा गर्न राजदूतले मागे नेपालसँग समर्थन
नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१औं एशियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन मागेका छन्।
शनिबार ओलम्पिक कमिटीको मुख्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेट गरी राजदूत मुसाउदले सन २०३० मा हुने २१औं एशियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गरेका हुन्।
भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एशियन खेलकुदका लागि साउदी अरबलाई सघाउन राजदूतले आग्रह गरेका बताए। साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसबारे दुवैपक्षसँग थप छलफल गरी निष्कर्षमा पुगिने बताए।
अन्तिम निर्णय गर्नु अगाडि नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाइने समेत श्रेष्ठले बताए।
साउदी अरबले सन् २०३० को एशियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। एशियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९औं ओसीए महासभामा २१औं एशियन खेलकुदका लागि मतदान हुनेछ।
हालसम्म कतार र साउदी अरबले २१औं एशियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन्। नेपालले पनि ती दुईमध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ। नेपालसँगै ४५ देशले मतदान गर्नेछन्।