कोरोनाका कारण पारसले नखेल्ने भएपछि नारायणीको कप्तानमा सुवास
आजदेखि भरतपुरको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणी टीमको कप्तानको जिम्मेवारी सुवास खकुरेललाई दिइएको छ।
पारस खड्कालाई हिजो मात्र कोरोना संक्रमण भएको पत्ता लागेपछि खकुरेललाई कप्तानको जिम्मेवारी दिने निर्णय भएको बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले जानकारी दिएका छन्। आज हुने उद्घाटन खेलमा बागमती र नारायणी प्रतिश्पर्धा गर्दैछन्।
नारायणीमा सुवासका अतिरिक्त करण केसी, सुसन भारी, आरिफ सेख, सन्दीप जोरा, इशान पाण्डे, राजु रिजाललगायत खेलाडी छन्। यता बागमतीको कप्तान ज्ञानेन्द्र मल्ल छन्। उनको टीममा सोमपाल कामी, ललित राजवंशी, रोहित पौडेल, पवन सर्राफ, प्रदीप ऐरी लगायत खेलाडी छन्।
पारसले आफूलाई कोरोना संक्रमण भएको हिजो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनी अहिले काठमाडौँस्थित घरमा नै आइसोलेसनमा बसेका छन्।
यसअघि चोटका कारण राष्ट्रिय टीमका उपकप्तान दीपेन्द्रसिंह ऐरी र खेलाडी कुशल मल्लले यो प्रतियोगिता गुमाउने भएका थिए। त्यस्तै वसन्त रेग्मीलाई दोस्रो पटक पनि कोरोना पोजिटिभ आएको छ। सन्दीप लामिछानेले भने अष्ट्रेलिया जाने तयारीका कारण प्रतियोगिता नखेल्ने भएका छन्।
नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा बोलाएका २७ मध्ये चार खेलाडीले प्रतियोगिता गुमाएपछि अरु १९ खेलाडीलाई टीममा समावेश गरिएको छ। प्रतियोगितामा छानिएका सूर्य तामाङलाई पनि कोरोना संक्रमण भएको बताइए पनि उनको पुनः जाँचमा रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष बस्न्यातले बताए।