काठमाडौं महानगरका प्रमुख भन्छन्- ‘चुनावमा गरिएको प्रतिवद्धता अनुसार काम गर्न सकिएन’
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरू शुरू गर्न नसकेको स्वीकार गरेका छन्।
शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रियस्तरको मेगा हल लगायतका परियोजना शुरू गर्न नसकिएको बताए।
विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको प्रमुख शाक्यको भनाइ छ। काठमाडौं महानगरपालिकाको हरि भवन पुनर्निर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण शुरू गर्न नसकिएको उनले बताए।
तरपनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको उनको दाबी छ। महानगरवासीलाई एउटै भवनबाट सेवा दिने प्रतिवद्धता जनाएको तर, अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको प्रमुख शाक्यले बताए।
“उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिवद्धता जनाएपनि प्राविधिक कारणले निर्माण कार्य गर्न सकिएन। चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नहुँदा मोनोरेल निर्माण गर्ने कार्यको शुरूआत गर्न सकिएन”, प्रमुख शाक्यले भने।
यस्तै, तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन नसकिएको उनले बताए। बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न नसकिएको उनको भनाइ छ।
काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ। काठमाडौंको भृकुटीमण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको उनले बताए। तर, सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिएपनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको प्रमुख शाक्य बताउँछन्।
महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङस्थल निर्माण गर्ने भनिएपनि काम गर्न नसकिएको उनले बताए।
“काम गर्न खोज्दा खोज्दैपनि विरोध गर्ने प्रवृतिले गर्दा आयोजनाहरूलाई अगाडि बढाउन समस्या भयो। कुनैपनि कामको विरोध गर्ने प्रवृत्तिलाई धर्मको रूपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको छ”, प्रमुख शाक्यले भने।